मुंबई, अगस्ट २२ । बलिउड सुपरस्टार आमिर खानले वर्षौंको तयारीपछि आफ्नो बहुप्रतिक्षित पौराणिक फिल्म महाभारत निर्माणको औपचारिक घोषणा गरेका छन्। हलिउड रिपोर्टर इन्डियासँगको अन्तर्वार्तामा उनले यो परियोजना २०२५ भित्रै सुटिङमा लैजाने योजना रहेको खुलासा गरेका हुन्।
आमिरले महाभारतलाई आफ्नो जीवनको सबैभन्दा ठूलो सपना भनेका छन्। उनी निर्माता र अभिनेता दुवैको भूमिकामा रहनेछन्। फिल्मलाई धेरै भागमा निर्माण गरिनेछ भने निर्देशनका लागि एकभन्दा बढी निर्देशकको सहकार्य हुने सम्भावना रहेको छ। निर्देशकको नाम भने हालसम्म गोप्य राखिएको छ।
फिल्मको बजेट १००० करोड रुपैयाँभन्दा बढी हुने बताइएको छ, जुन भारतीय फिल्म उद्योगको इतिहासमै सबैभन्दा ठूलो लगानी हो। आमिरले भने, “महाभारत केवल फिल्म होइन, यो सांस्कृतिक उत्तराधिकार हो।”
यद्यपि सुटिङ यसै वर्ष सुरु हुने भए पनि फिल्म पर्दामा आउन भने केही वर्ष लाग्नेछ। आमिरले पात्रहरूलाई नै स्टार बनाउने योजना अनुसार नयाँ अनुहारहरूलाई प्राथमिकता दिने बताएका छन्।
आमिरको महाभारतले भारतीय सिनेमाको परिभाषा बदल्ने अपेक्षा गरिएको छ। दर्शकहरू अब पौराणिक गाथालाई आधुनिक पर्दामा हेर्न आतुर छन्।





प्रतिकृया दिनुहोस्