नवलपुर । नवलपुरको गैँडाकोटका स्थानीयहरु संस्कृति संरक्षणसँगै सामाजिक काममा सक्रिय भएर जुटेका छन् । आत्म कल्याण भजनकीर्तन परिवार निर्माण गरेर स्थानीयले साँझमा दैनिक भजनसँगै सङ्कलन भएको रकमबाट सामाजिक काम गर्दै आएका हुन् ।
विसं २०७९ पुसमा गैँडाकोट–१ मिलनटोलबाट सुरुआत भएको कीर्तन अहिले वडा नम्बर १ र २ मा विस्तार भएको छ । खाली समय यत्तिकै बस्नुभन्दा भगवान्को जप गर्दै त्यहाँ सङ्कलन भएको पैसाबाट सामाजिक काम गर्न सकिन्छ भन्ने सुझावअनुसार कीर्तन सुरु गरिएको जमुना कँडेलले बताउनुभयो । “हामीले पाँच वर्ष अगाडि विदूर बुवाको प्रेरणाबाट कीर्तन सुरु गरेका हौँ” उहाँले भन्नुभयो, “उहाँले प्रस्ताव गर्नुभएको काममा हामी त्यहीँ वरिपरीका दिदीबहिनीहरुले सहमति जनाउँदै कीर्तन गर्न सुरु गरेका थियौँ ।”
बेलुका घरधन्दा सकेपछि जम्मा भएर हरेक दिन कम्तिमा एक घण्टा हरेराम, राधा कृष्ण भनेर सङ्कीर्तन गरिने कँडेलले बताउनुभयो । समूहका सदस्यहरुमध्येबाट कोहीले हार्मोनियम, कोहीले मादल, खैँजडी मृदङ्गा तथा मुजुरा बजाउँदै कीर्तन गर्ने कँडेलको भनाइ छ । हरेक घरमा कीर्तन गर्दा घरभित्रै गरिने र आवश्यकताअनुसार सहभागीहरुले नाचगान समेत गर्ने कँडेलले बताउनुभयो ।
हरेक दिन भजन कीर्तनमा भेला भएपछि सहभागीहरुले हार्मोनियममा नियमित दक्षिण चढाएर कीर्तन सुरुआत गर्दै आएका जमुना लम्सालले बताउनुभयो । कीर्तनमा सहभागीहरुले स्वेच्छाले चढाएको रकम तथा सदस्यहरुको घरमा परेको जन्मदिन एवम् वैवाहिक वर्षगाँठ जस्ता शुभ कार्यमा स्वेच्छाले दिइएको रकमबाट धर्म र संस्कृति संरक्षण गर्न आवश्यक परेको ठाउँमा खर्च हुँदै आएको उहाँले बताउनुभयो । “सुरुआती चरणमा आर्थिक सङ्कलन गरेर गौसंरक्षण गर्ने उद्देश्य बोकेको यस कीर्तन परिवारले अहिले आवश्यकताको आधारमा सहयोग गर्दै आएको छ” उहाँले भन्नुभयो, “सुरुमा गाईको सेवा गर्ने गरी सुरु गरिएको भए पनि अहिले क्षेत्र बिस्तार गर्दै दैवी प्रकोप परेको स्थान, मन्दिर एवम् आवश्यकता भएको ठाउँमा सहयोग गर्दै आएका छौँ ।”
यस समूहले साँझमा हरेक घरमा १५ दिनसम्म कीर्तन गर्ने गरेको समूहकी सदस्य शारदा सिग्देलले बताउनुभयो । “हामी सदस्यहरु पालो गरेर सबैको घरमा पुगी कीर्तन गर्छौँ र कुनै दिन पनि कीर्तन बन्द गर्दैनौँ” उहाँले भन्नुभयो, “दैनिक कीर्तनबाट सङ्कलन भएको रकममध्ये धर्म र संस्कृति संरक्षणमा खर्च गर्नुका साथै यसपालि भदौमा आएको भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा समेत रकम जम्मा छौँ ।”
आत्म कल्याण भजनकीर्तन परिवारले दैवी प्रकोप उद्धार कोषमा रु एक लाख ३७ हजार आर्थिक सहयोग गरेको सिग्देलको भनाइ छ । कीर्तनमा सङ्कलन भएको रकम दान गर्न जाँदा त्यो रकमबाट दानबाहेक अन्य प्रयोजनमा खर्च नगरिने सिग्देलले बताउनुभयो । “सङ्कलन भएको पैसालाई हामीले अरु काममा खर्च गर्दैनौँ” उहाँले भन्नुभयो, “गाडी भाडासमेत हामीले व्यक्तिगत रुपमा तिनेर कीर्तनको पैसा सहयोग गर्न जाने गरेका छौँ ।”
समूहकी सदस्य सूर्यकुमारी पौडेलले दैनिक कीर्तनमा कहिलेकाहीँ चार जना मात्र जम्मा हुने भए पनि बढीमा ४० जनासम्म पुग्ने गरेका बताउनुभयो । “हामीले नियमित रुपमा कीर्तनमा सहभागी हुँदा वैदिक सनातनी संस्कृति र परम्पराको संरक्षण, प्रवद्र्धन र पुस्तान्तरणमा सहयोग पुग्ने हाम्रो विश्वास छ” उहाँले भन्नुभयो, “कीर्तनमा जाँदा मनमा शान्ति प्राप्त हुनुका साथै रातिमा राम्रोसँग निन्द्रा लाग्ने गरेको छ ।” सुरुआती चरणमा भरतपुरको बागीश्वरी गौ संरक्षण केन्द्रमा संरक्षित गाईका लागि पराल सहयोग गरेको भए पनि पछिल्लो समय एकमुष्ठरुपमा गुरुकुल, आश्रम तथा गौशालालाई सहयोग गरेको सिग्देलले बताउनुभयो ।





प्रतिकृया दिनुहोस्