चितवन । दसैँ नजिकिएसँगै पहाडी जिल्ला तथा दुर्गम भेगबाट खसीबोका, भेडा र च्याङ्ग्रा लिएर नारायणघाट झर्ने किसान तथा व्यापारीको चहलपहल निकै बढेको छ । चितवनका पहाडी बस्तीका किसानसमेत आफूले पालेका खसीबोका बिक्री गर्न बजार झरेका छन् । भारतबाट आउने खसीबोकाको आपूर्ति घट्नु, ढुवानी खर्च बढ्नु र बजारको माग उच्च हुनुका कारण यस वर्ष गत वर्षको तुलनामा मूल्यसमेत बढेको छ ।
जुम्लाको सिञ्जाका भुन्तो ओडलाई चितवनसम्म च्याङ्ग्रा ल्याउन सहज थिएन । यद्यपि उनले चिसो ठाउँमा हुर्किएका च्याङ्ग्रालाई दसैँमा व्यापार गर्न चितवन झारेका छन् । २५० वटा च्याङ्ग्रा लिएर आएका उनको यात्रा सहज भने थिएन । हिमाली तथा पहाडी जिल्लाबाट ल्याइने च्याङ्ग्रा र खसीबोकाको व्यापारमा भने ढुवानीको सास्ती र जोखिम ठूलो भएको ओडको भनाइ छ ।
ओडलाई बाटोमा तीन वटा गाडी परिवर्तन गर्नुप¥यो । लामो यात्राका क्रममा तीन वटा च्याङ्ग्रा मरे । तर, दसैँको बजारमा च्याङ्ग्रा बेच्ने आशासहित उनी नारायणघाट आइपुगेका हुन् । जुम्लामा प्रतिकिलो एक हजार रुपैयाँसम्म पर्ने जिउँदो च्याङ्ग्रा उनले चितवनमा प्रतिकिलो एक हजार १०० रुपैयाँका दरले बिक्री गरिरहेका छन् । केही च्याङ्ग्रा भने प्रतिकिलो ९०० रुपैयाँसम्ममा खरिद गरेको उनले बताए ।
चार–पाँच वर्षदेखि यो व्यापार गर्न थालेका ओडले १४ वर्षको उमेरदेखि नै व्यापारमा लागेको जानकारी दिए । लगानीअनुसार आम्दानी नभए पनि काम गरेअनुसार घरखर्च चल्ने उनको भनाइ छ । यस वर्ष चितवनमा व्यापार सकेपछि सुर्खेततिर जाने र आफन्तसँग भेटघाट गरेर फर्किने उनको योजना छ ।
जुम्लाको सिञ्जाबाटै च्याङ्ग्रा लिएर आएका सोमबहादुर सिंजालीले करिब ९० वटा च्याङ्ग्रा ल्याएका छन् । तीमध्ये ४५ वटाजति बिक्रीका लागि बाँकी रहेको उनले बताए । चितवनसम्म ल्याउन बाटोमै चार दिन बिताएका उनले दुई दिनअघि मात्रै बजारमा च्याङ्ग्रा झारेका हुन् ।
गाडी भाडामा मात्रै डेढ लाख रुपैयाँ खर्च भएको उनको भनाइ छ । लामो दूरीबाट पशु ल्याउँदा ढुवानी खर्च र बाटोको जोखिमले लागत बढ्ने गरेको छ । च्याङ्ग्राको बजार मूल्यले सबै खर्च धान्ने हो कि होइन भन्ने चिन्ता व्यापारीमा छ । चितवनमा च्याङ्ग्राको बजार त्यति ठूलो नभएको र ढुवानीमै धेरै खर्च भएको उनले बताए ।
चितवनकै पहाडी क्षेत्र इच्छाकामना गाउँपालिका–७ का दीपक विक पनि खसीबोका लिएर नारायणघाट आएका छन् । उनले साना पाठा बिक्रीका लागि ल्याएका हुन् । गाउँमा आफूले पालेका तथा आफन्तका खसीबोका बिक्री गर्ने गरेको उनले बताए । जिउँदो पाठा प्रतिकिलो ७५० देखि ८०० रुपैयाँसम्ममा बिक्री गर्ने उनको तयारी छ । गाउँमै पनि बेलाबेला खसीबोका बिक्री हुने भए पनि यसपटक उनी नारायणघाट आएका हुन् ।
तनहुँको देवघाटभन्दा माथिको बगन्दी र दाहाखानी घेरले क्षेत्रबाट रमेश सुनुवार पनि बोका लिएर आएका छन् । उनले मंगलबार दुई वटा बोका ल्याएका थिए भने बुधबार थप १६ वटा ल्याएर बिक्रीका लागि ल्याएका छन् । त्यहाँका किसानले बोका प्रतिकिलो ६५० देखि ७०० रुपैयाँसम्ममा बिक्री गर्ने गरेको उनले बताए ।
चितवनमा यस वर्ष दसैँ–तिहार लक्षित खसीबोकाको कारोबार बढ्ने अनुमान व्यवसायीहरूले गरेका छन् । खसीबोका मासु व्यवसायी सङ्घ चितवनका अध्यक्ष गणेशप्रसाद कँडेलका अनुसार गत वर्ष चाडपर्वका बेला १० देखि १२ हजार खसीबोका बिक्री भएको (घरमै पालेर काटिने पशुको सङ्ख्या भने उक्त तथ्याङ्कमा समावेश गरिएको छैन) तथ्याङ्क थियो । यस वर्ष १५ हजार गोटासम्म खसीबोका बिक्री हुने अनुमान गरिएको छ ।
अध्यक्ष कँडेलका अनुसार यस वर्ष खसीबोकाको मूल्य पनि बढेको छ । बजारमा मासुको मूल्य प्रतिकिलो एक हजार २०० देखि एक हजार ३०० रुपैयाँसम्म रहेको उनले बताए । विगतमा प्रतिकिलो ७५० रुपैयाँसम्ममा खसीबोका बिक्री हुने गरेको स्मरण गर्दै उनले लागत बढ्नु, भारतबाट आउने खसीबोकाको आपूर्ति कम हुनु र बजारको माग बढ्नुले मूल्यमा असर परेको जानकारी दिए । व्यवसायीहरूले पनि कम नाफा राखेर बिक्री गरिरहेको र मूल्य समयको मागअनुसार बढेको उनको भनाइ छ ।
उनका अनुसार गत वर्ष जिउँदो खसीको मूल्य साढे पाँच सय रुपैयाँ थियो भने अहिले बढेर साढे सात सय रुपैयाँसम्म भन्न थालिएको छ । चितवनमा धादिङ, नवलपुर, लमजुङ, तनहुँ र अर्घाखाँचीसहित विभिन्न जिल्लाबाट खसीबोका आउने गरेका छन् । भारतबाट आउने खसीबोकाको आपूर्ति घटेपछि स्वदेशी उत्पादन र अन्य जिल्लाबाट हुने आपूर्तिमा बजार निर्भर हुन थालेको छ ।
चितवनमा खसीबोकाको माग धान्न स्थानीय उत्पादन बढाउनुपर्ने आवश्यकता पनि व्यवसायीहरूले औँल्याएका छन् । जिल्लाको शक्तिखोर, चण्डीभञ्ज्याङ, कोराक र देवघाटलगायतका क्षेत्रमा महिलाहरूले सहकारीमा आवद्ध भएर बाख्रापालन गरेका छन् । तर, स्थानीय उत्पादनले बजारको माग पूरा गर्न अझै पर्याप्त नभएको अध्यक्ष कँडेलले बताए ।
पहाडी क्षेत्रबाट ल्याइएका खसीबोका बिक्री गर्न सहज होस् भन्ने उद्देश्यले नारायणघाटमा व्यवस्थित खसीबोका बजार सञ्चालन गरिएको छ । श्री गणेश टोल विकास संस्थाले नेपाल ट्रस्ट, भरतपुर महानगरपालिका र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर दुई वर्षदेखि दसैँको समयमा बजार व्यवस्थापन गर्दै आएको छ । संस्थाका कार्यवाहक अध्यक्ष राजु अधिकारीका अनुसार पहिले दसैँमा खसीबोका जथाभावी राख्दा दिसापिसाब, दुर्गन्ध र ट्राफिक जामको समस्या हुने गरेको थियो ।
त्यसलाई व्यवस्थित गर्न खुला ठाउँमा बजार सञ्चालन गरिएको हो । यहाँ किसानले आफूले पालेका खसी, बोका, भेडा र च्याङ्ग्रा सिधै उपभोक्तालाई बिक्री गर्न सकिने व्यवस्था गरिएको छ । खरिदकर्ताले पनि किसानसँग प्रत्यक्ष भेटेर खसीबोका हेर्न र ढकतराजुमा तौल गरेर कारोबार गर्न पाउने व्यवस्था मिलाइएको अधिकारीले बताए ।
बजारमा किसान र उपभोक्ताबीच प्रत्यक्ष कारोबार हुने भएकाले बिचौलियाको भूमिका कम हुने अपेक्षा गरिएको छ । तर, यस वर्ष बजारमा कारोबार अपेक्षाअनुसार बढ्न सकेको छैन । कार्यवाहक अध्यक्ष अधिकारीका अनुसार बजारमा पहिलो दिन करिब ४० वटा खसीबोका बिक्री भएका थिए भने बुधबार २५ वटा कारोबार भएको थियो । स्थानीय स्तरमा भएका बिक्रीको विवरण भने सङ्कलन भइसकेको छैन ।





प्रतिकृया दिनुहोस्