काठमाडौँ, ६ भदौ । पछिल्लो चलचित्र ‘ऊनको स्विटर’को काफ्ले…गीत हिट भएपछि गायिका झुमा लिम्बुलाई भ्याई नभ्याई छ । यति बेला ६ वटा चलचित्रको गीत संगीतमा व्यस्त रहेकी उनले राजधानीलाई बिहीबार बताइन् । यो कन्सर्टको सुरुवात यही २१ भदौमा काठमाडौँको ठमेलस्थित एलओडी क्लबबाट हुने उनले राजधानीलाई जानकारी गराइन् ।
आगामी ३ असोजबाट देश विदेशमा एकसाथ प्रदर्शनमा आउने नेपाली चलचित्र ‘जारी २’मा पनि झुमाको गीत संगीत रहेको छ । सोही कारण गायिका झुमा लिम्बुले ‘जारी–२’सँग सहकार्य गर्दै ‘रैथाने घुमफिर कन्सर्ट २०८२’ आयोजना गर्दै छिन् ।
झुमाको भनाइमा लोक संगीत, केवल मनोरञ्जनको माध्यम मात्र नभई नेपालको मौलिक सांस्कृतिक जीवनशैली, इतिहास र सामुदायिक एकताको प्रतिविम्ब पनि हो । यो कन्सर्टको सुरुवात आगामी यही २१ भदौमा काठमाडौँको ठमेलस्थित एलओडी क्लबबाट हुने उनले राजधानीलाई जानकारी गराइन् । जहाँ प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘जारी २’को टिमले च्याब्रुङ नाच समेत प्रस्तुत गरिने भएको छ ।
ठमेलस्थित एलओडी क्लबमै यो रैथाने कन्सर्ट गर्नुको कारण’ झुमाले राजधानीसँग भनिन्,‘त्यहाँसँगै नाच्ने खालका नेपाली र विदेशी गीतहरू बज्ने हुँदा एलओडीमा रैथाने गीतहरू सुन्न पाइँदैन । देशकै ठुलो क्लबमा दुई घण्टा भए पनि दर्शकहरूले नेपाली रैथाने भाका सुनेर नेपाली ठेट गीतमा रम्ने अवसर पाउन् भनेर हामीले पहिलो कन्सर्ट त्यहाँ गर्न लागेका हौँ ।’
सो कन्सर्टमा आफूले चलचित्र ‘जारी २’को गीत सहित १५ वटा स्थानीय मौलिक र केही चलचित्रका गीतहरू प्रस्तुत गर्ने पनि उनले जानकारी गराइन् । कन्सर्ट काठमाडौँपछि धरानमा आयोजना हुने छ । रैथाने घुमफिरमा झुमाले नेपालका विभिन्न १० सहरमा प्रस्तुति दिनेछिन् । जसमा उनको रैथाने ब्यान्डको सोलो प्रस्तुति रहनेछ । योसँगै कन्सर्टको आयोजना हुने ठाउँमा त्यहाँको स्थानीय कला संस्कृति र गीत संगीतलाई विशेष प्राथमिकतामा राखिने पनि गायिका झुमाले जानकारी गराइन् ।
‘यो यात्राले संस्कृति र संगीतलाई नयाँ पुस्तामा पुर्याउने आशा हामीले लिएका छौँ । रैथाने घुमफिरले गाउँ र सहरको संगीत र संस्कृतिलाई जोड्न एउटा पुलको रूपमा उभिनेछ’, उनले भनिन् ।
झुमाले रैथाने सांगीतिक यात्राको सुरुको कन्सर्ट चलचित्र ‘जारी–२’सँग सम्बद्ध हुने बताइन् । त्यसपछिको कन्सर्ट भने विशुद्ध रैथाने हुने जानकारी गराउँदै कार्यक्रमको उद्देश्य’ उनले भनिन्, ‘यो सांगीतिक यात्रामार्फत सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्य लिइएको छ । विभिन्न सहर र गाउँमा पुगेर स्थानीय लोक संगीत हाक्पारे पालाम, च्याब्रुङ, घाटु, सोरठी, देउडा, मारुनी लगायत संगीत र नृत्यलाई केन्द्रमा राखेर सांगीतिक प्रस्तुति हुनेछ ।’
कन्सर्ट यो वर्ष नेपालमा मात्रै आयोजना हुनेछ । अर्को वर्ष यसलाई विदेशमा समेत लैजाने योजना गायिका झुमाले राजधानीलाई सुनाइन् । अर्को सिजनमा उनले यसलाई बेलायत र युरोपका विभिन्न देशमा प्रस्तुत गर्दै छिन् ।





प्रतिकृया दिनुहोस्