चितवन, ७ भदौ । चितवनको भरतपुर–७ कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीले आयोजना गरेको अन्तरविद्यालय स्काउट रनिङ शिल्ड नृत्य प्रतियोगिताको पाँचौं संस्करणको उपाधि भरतपुर–१० को अरोमा स्कुलले जितेको छ ।
कुल १७६ अङ्क प्राप्त गर्दै अरोमाले उपाधि आफ्नो बनाएको हो । भरतपुरका ४५ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा अरोमा स्कुलका ज्योस्मिता रानामगर, अनुष्का अधिकारी, शायना अधिकारी, शिवानी राना प्रजा, अलिशा पाख्रिन, शाया जेमीमगर, दीपशिखा आलेमगर र अवनी सुवेदीको समूह पहिलो भएको हो ।
त्यसैगरी, भरतपुर–२ होराइजन इङ्लिस स्कुलले १७५ अङ्कसहित दोस्रो स्थान हासिल गर्दा भरतपुर–१२ को ग्रीनल्याण्ड पब्लिक स्कुल १७३ अङ्क ल्याई तेस्रो भएको छ । पहिलो हुने अरोमाले १० हजार रुपैयाँसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ भने दोस्रो हुने होराइजले सात हजार पाँच सय रुपैयाँ तथा तेस्रो भएको ग्रीनल्याण्ड पब्लिक स्कुलले पाँच हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका गरेको छ ।
अरोमाले हात पारेको शिल्ड अर्को वर्ष हुने सातौँ संस्करणको विजेताले पाउने छ । एक वर्षसम्म उक्त शिल्ड विजेतासँगै रहने प्रावधान छ । भद्रकुमारी नेसनल बेसिक स्कुलले सर्वोत्कृष्ट प्रस्तुतीकरण र ज्ञानसुधा इङ्लिस स्कुलले बेस्ट कोरियोग्राफीको उपाधि जितेको प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यालयलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
विगत पाँच वर्षदेखि अङ्कुरम् एकेडेमीको स्काउट ट्रुपले हरेक वर्ष हरितालिका तीजको अवसरमा निरन्तर प्रतियोगिता आयोजना गर्दै आएको छ । यसपटकको प्रतियोगितामा लोक तथा दोहोरी गायिका सरिता गुरुङ, बिन खाती र टीकाराम ढकालको निर्णायक मण्डलले कुल ३०० अङ्कमा गरेको मूल्याङ्कनको आधारमा विजेता घोषित गरिएको थियो ।
भरतपुर–७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्ले प्रमुखअथिति रहेको कार्यक्रममा नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक शिवप्रसाद बराल, स्थानीय स्काउट समिति भरतपुरका आयुक्त उपेन्द्र घिमिरे, प्रदेश युवा परिषद् बागमतीका अध्यक्ष गोविन्द पराजुली र चितवन स्मार्ट स्काउट क्रुका अध्यक्ष ईश्वर गुरुङ विशिष्ट अतिथि रहनुभएको थियो ।
विद्यालयका आवासीय निर्देशक नईम चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका तहप्रमुख अर्जुन जी शर्माले स्वागत गर्नुभएको थियो । निर्णायक समूह, निर्देशक चौधरी, तहप्रमुख शर्मा र चितवन स्मार्ट क्रुका रोबर लिडर आकाश न्यौपानेले विजेताहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।





प्रतिकृया दिनुहोस्