नवलपुर । सङ्घीय सरकारको बजेटबाट नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिका वडा नम्बर १७ मा सुविधा सम्पन्न ट्रमा सेन्टर निर्माणको काम सुरु भएको छ । मूल्य अभिवृद्धि कर (भ्याट)सहित रु १० करोड ३५ लाखमा निर्माण सम्पन्न गर्नेगरी चितवनको बिबिएस जेभीले निर्माणको काम सुरु गरेको हो ।
निर्माण सुरु भएको १८ महिनामा काम सम्पन्न गर्नेगरी निर्माण कम्पनीले गत असार ३० गते नेपाल सरकारसँग सम्झौता गरेको सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले जनाएको छ । कार्यालयका सूचना अधिकारी इन्जिनियर द्रोण मानदेव कटुवालकाअनुसार अहिले ट्रमा सेन्टर निर्माणका लागि धमाधम काम भइरहेको छ । “अहिले जग खन्ने काम भइरहेको छ, निर्माण कम्पनीले डण्डी झार्ने, फाउन्डेसन तयार पार्ने काम गरिरहेको छ” उहाँले भन्नुभयो, “अबको केही दिनमा जग ढलानको काम हुन्छ ।”
वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) गर्दा विभिन्न प्रजातिको छ सय ४६ वटा रुख÷पोल कटान गर्नुपर्ने प्रतिवेदनको आधारमा मन्त्री परिषद्बाट निर्णय भएको कटुवालको भनाइ छ । मन्त्रीपरिषद्बाट रुख कटानको अनुमति पाएको भए पनि अहिले भवन निर्माण हुने ठाउँको मात्रै रुख काटेर काम भइरहेको भन्दै सबै रुख काट्न आवश्यक नपर्ने उहाँले बताउनुभयो । ट्रमा सेन्टर निर्माणको काम सुरु भएको जग्गा स्थानीय झराही सामुदायिक वनको रहेको उहाँको भनाइ छ ।
ट्रमा सेन्टरको साइट इन्जिनियर अविशेक कुमार चौरसियाकाअनुसार करिब तीन बिघा क्षेत्रफलमा ट्रमा सेन्टर निर्माणको काम भइरहेको छ । निर्माणाधीन ट्रमा सेन्टर १५ शय्या क्षमताको हुने भन्दै चौरसियाले ट्रमा सेन्टरको भवनले एक हजार वर्ग मिटर क्षेत्रफल ओगट्ने जानकारी दिनुभयो । उहाँकाअनुसार ट्रमा सेन्टर साढे दुई तलाको बन्नेछ ।
“निर्माण हुने ट्रमा सेन्टरको भुईँ तल्ला बिरामीको उपचारका लागि प्रयोग हुनेछ” उहाँले भन्नुभयो, “पहिलो तल्लामा अस्पताल प्रशासन, बहुउद्देश्यीय सभाकक्ष तथा अस्पताल वार्ड एवम् माथिल्लो तल्लामा कर्मचारीहरुको आवास हुनेछ ।” अस्पतालमा एक्स–रे कक्ष, सल्यक्रिया कक्ष (अपरेसन थिएटर), प्रयोगशालाका लागि अवाश्यक पर्ने कोठाहरु निर्माण हुनेगरी नक्सा तयार भई काम अगाडि बढेको उहाँले बताउनुभयो । ट्रमा सेन्टरमा उपचार गर्न आउने बिरामीहरुलाई तीन प्रकारमा विभाजन गरी राख्ने वार्ड निर्माण हुने उहाँले बताउनुभयो ।
“अस्पतालमा ग्रीन, एल्लो र रेड जोन हुने गरी भवन तयार हुनेछ” उहाँले भन्नुभयो, “त्यही आधारमा वार्डहरु पनि निर्माण हुनेछन् ।” पूर्वपश्चिम राजमार्गसँगै निर्माण हुन लागेको ट्रमा सेन्टरबाट नवलपुर र छिमेकी जिल्लामा हुने दुर्घटनाका बिरामीलाई फाइदा पुग्ने जनाइएको छ । ट्रमा सेन्टर निर्माणस्थलको अवलोकन गर्दै यसै क्षेत्रका सङ्घीय सांसद एवम् नेपाली काँग्रेसका नेता प्राडा शशाङ्क कोइरालाले आफ्नो पहलमा निर्माण कार्य सुरु भएकोमा खुसी व्यक्त गर्नुभयो ।
दशकदेखिको आफ्नो मेहनतले मूर्त रुप लिने तयारी गरिरहेको भन्दै उहाँले यस क्षेत्रका नागरिकलाई आकस्मिक स्वास्थ्य सेवा पहुँचमा ल्याउने यो महत्वकांक्षी योजनाको निर्माण निर्धारित समयमै हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । “ट्रमा सेन्टर सञ्चालनमा आएपछि दुर्घटना वा आकस्मिक अवस्थमा शीघ्र उपचार सम्भव हुनेछ” उहाँले भन्नुभयो, “यसले सम्पूर्ण नवलपुरवासीमात्रै नभई छिमेकी जिल्लावासीलाई पनि ठूलो राहत पुर्याउनेछ ।”
जनताको स्वास्थ्य सेवा सहज, सरल र निःशुल्क पहुँचमा ल्याउने आफ्नो प्राथमिकता भएको भन्दै उहाँले यस महत्वपूर्ण योजनामा सबैको साथ र समर्थन रहने विश्वास व्यक्त गर्नुभयो ।





प्रतिकृया दिनुहोस्