चितवन । भरतपुर–१० मा रहेको इडेन गार्डेन इङ्लिस सेकेण्डरी स्कुलले भारतको जयपुरस्थित महेश्वरी पब्लिक स्कुलसँग सहकार्य गर्दै अन्तर्राष्ट्रिय स्तरको सिकाइको ढोका खोलेको छ ।
स्कुलले कक्षाकोठा र किताबी ज्ञानलाई मात्र पर्याप्त नमानी एक्काइसौँ शताब्दीको विद्यार्थीलाई व्यवहारिक ज्ञान आवश्यक छ भन्ने मान्यता लिँदै अन्तर्राष्ट्रिय स्तरको विद्यालयसँग सहकार्य गरेको विद्यालयका शैक्षिक संयोजक प्रकाश सुवेदीले बताउनुभयो । महेश्वरी स्कुल भारतको राजस्थानस्थित जयपुरमा सन् १९२६ मा महेश्वरी सेवा समाजद्वारा सञ्चालित अन्तर्राष्ट्रिय स्तरको विद्यालय हो ।
भारतको सेन्ट्रल बोर्ड अफ सेकेण्डरी एजुकेशन (सिबिएसई) बाट मान्यता प्राप्त महेश्वरी स्कुलका विदेशमा समेत भगिनी विद्यालयहरू छन् । महेश्वरी स्कुलका राजस्थानमा मात्रै १२ वटा अन्तर्राष्ट्रिय स्तरका विद्यालयहरु सञ्चालित भएका भन्दै शैक्षिक संयोजक सुवेदीले दुई विद्यालयको सहकार्यको उद्देश्य स्पष्ट गर्नुभयो । विद्यार्थीले सुनेर मात्रै नभई गरेर सिक्ने वातावरण निर्माण गरिने उहाँको भनाइ छ ।

विद्यार्थीले नेपाली संस्कृति, जैविक विविधता, संविधान र राष्ट्रिय चिह्नहरू बुझ्दै महेश्वरीका विद्यार्थीहरुलाई बुझाउने साथसाथै शिक्षक शिक्षिकाहरूले पनि अन्तर्राष्ट्रिय स्तरको शैक्षणिक गतिविधिहरू साटासाट गरी आफ्नो शैक्षणिक कलालाई प्रगाड बनाउने अवसर पाउने सुवेदीले बताउनुभयो । सहकार्यले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान प्रस्तुत गर्न सहयोग पुर्याउने उहाँको विश्वास छ । सहकार्यको पहिलो चरण अन्तर्गत भदौ १८ गते दुवै स्कुलका विद्यार्थीहरू भर्चुअल रूपमा जोडिएर संवाद गरेका छन् यस कार्यक्रमको नाम Recognition of International Dimensions in Schools (RIDS) रहेको सुवेदीले बताउनुभयो।
उनीहरूले प्रश्न–उत्तर सत्रमार्फत जिज्ञासाहरु साटासाट गर्दै राष्ट्रिय गौरवका प्रतीकहरू प्रस्तुत गरेका छन् । यसैको निरन्तरतास्वरुप दोस्रो चरणमा प्रत्यक्ष सहकार्यको कार्य योजना बनाइएको सुवेदीले जानकारी दिनुभयो । यहाँका विद्यार्थीहरु जयपुर पुगेर ज्ञान आदानप्रदान गर्ने सुवेदीको भनाइ छ ।

आगामी कार्यक्रममा विद्यार्थीहरुले पर्यावरण संरक्षणका प्रयासहरू आदानप्रदान गर्ने उल्लेख गर्दै उहाँले यस सहकार्यलाई ऐतिहासिक अवसर भएको बताउनुभयो । इडेन गार्डेन स्कुलको यो पहलले चितवनमै अन्तर्राष्ट्रिय स्तरको सिकाइ उपलब्धी हासिल गर्न मद्दत पुगेको भन्दै उहाँले विद्यार्थीको सिकाइलाई सीमित नभई समृद्ध बनाउने प्रयास सुरु गरिएको बताउनुभयो ।





प्रतिकृया दिनुहोस्