ललितपुर । शनिबार बिहान ललितपुरको हरिसिद्धीमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर सवार सरकारी गाडीले एक बालिकालाई ठक्कर दिएको सिसिटिभी फुटेज सार्वजनिक भएपछि नागरिक समाजमा आक्रोश फैलिएको छ ।
आज बिहान सवा ७ बजे ललितपुर महानगरपालिका–२८ स्थित हरिसिद्धी माध्यमिक विद्यालय अगाडिको मुख्य सडकमा को १ झ ६९९ नम्बरको गाडीले बाटो काट्न लागेकी ११ वर्षीया उषा मगर सुनुवारलाई ठक्कर दिएको हो। फुटेजमा देखिएअनुसार बालिका जेब्रा क्रसिङ नजिक बाटो पार गर्न लाग्दा गाडीले ठक्कर दिएको छ। बालिका सडकमै पछारिए पनि गाडी नरोकी सिधै अगाडि बढेको दृश्य स्पष्ट देखिन्छ।
ललितपुर प्रहरीका एसपी चक्रराज जोशीका अनुसार ठक्कर दिने गाडीमा मन्त्री मगर स्वयं सवार थिए। गाडीलाई गोदावरीबाट नियन्त्रणमा लिइएको छ।
घाइते बालिकालाई तत्काल बिएन्डबी अस्पताल पुर्याइएको छ। उनको अवस्था स्थिर रहेको जनाइएको छ। मन्त्री मगरले आफू अस्पताल पुगेको र बालिकाको अवस्था बुझ्ने प्रयास गरिरहेको बताएका छन्। उनी एमालेको विधान महाधिवेशनमा सहभागी हुन गोदावरी जाँदै थिए।





प्रतिकृया दिनुहोस्