चितवन । आजकल साना बच्चाहरूका लागि प्रयोग गरिने डाइपर धेरै अभिभावकका लागि सुविधा बनेको छ। यसले बच्चालाई बाहिर लैजाँदा पिसाब वा दिसा गरेर लुगा फोहोर हुने चिन्ता हटाएको छ। तर यही सुविधा कहिलेसम्म उपयुक्त हो भन्ने विषयमा अझै धेरै अभिभावक अनभिज्ञ छन्।
धेरै अभिभावकले आफ्ना बच्चालाई ३–४ वर्ष वा सोभन्दा बढी उमेरसम्म पनि डाइपर लगाइरहेका छन्। तर बाल स्वास्थ्यसम्बन्धी गाइडलाइनअनुसार, बच्चालाई सानै उमेरदेखि शौचालय प्रयोग गर्न सिकाउनु दीर्घकालीन रूपमा लाभदायक हुन्छ।
विशेषज्ञहरूका अनुसार, १८ देखि २४ महिनाको उमेर नै बच्चालाई दिसा–पिसाबबारे सिकाउन सुरु गर्ने उपयुक्त समय हो। यस उमेरमा बच्चाले कुरा बुझ्न थाल्छ, रातभर पिसाब कम फेर्छ, र दिउँसो धेरै पिसाब गर्छ। यस्तो अवस्थामा, बच्चालाई शौचालयको बानी लगाउने अभ्यास सुरु गर्न सकिन्छ।
डाइपरको लामो प्रयोगले बच्चामा फंगल सङ्क्रमण, पिसाब नलीको सङ्क्रमण, र छालामा जलन जस्ता समस्या निम्त्याउन सक्छ। साथै, प्रत्येक महिनाको डाइपर खर्चले अभिभावकको बजेटमा पनि असर पार्न सक्छ।
गाइडलाइनअनुसार, बच्चालाई सुरुदेखि नै शौचालय प्रयोग गर्न तालिम दिनु राम्रो हुन्छ। धेरै आवश्यक परेको बेला मात्र डाइपरको प्रयोग गर्नु उपयुक्त मानिन्छ। यदि प्रयोग गरिहाल्नुपरे पनि, बच्चा १.५ देखि २ वर्षको उमेर पुग्दासम्म डाइपर लगाउन बन्द गर्नुपर्छ।





प्रतिकृया दिनुहोस्