पोखरा । नेपाल सरकारद्वारा फेसबुक, ह्वाट्सएप, इन्स्टाग्रामलगायत सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरिएपछि गण्डकी प्रदेशको व्यापार, पर्यटन तथा नागरिक जीवनमा गम्भीर असर परेको सम्बन्धित व्यवसायीहरूले जानकारी गराउनुभएको छ।
उक्त निर्णयले विशेषतः पोखरामा क्रियाशील व्यवसायहरूमा प्रतिकूल प्रभाव पारिरहेको जनाउँदै पर्यटकहरूले पूर्वनिर्धारित बुकिङहरू रद्ध गर्न थालेको तथा नयाँ बुकिङहरूमा समेत कमी आएको व्यवसायीहरूको भनाइ रहेको छ।
यस सन्दर्भमा अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) गण्डकीले कास्कीका प्रमुख जिल्ला अधिकारी श्रीमती रुद्रादेवी शर्मामार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउँदै उक्त निर्णय तत्काल फिर्ता लिन अनुरोध गरेको छ।
महासंघका अध्यक्ष श्री अमरजंग गुरुङ तथा महासचिव श्री चिरञ्जीवी गौतमको नेतृत्वमा प्रस्तुत ज्ञापनपत्रमा सामाजिक सञ्जालमा आधारित आम्दानीका स्रोतहरू प्रभावित भएको, लाखौं नागरिकको दैनिकी तथा रोजगारीमा प्रतिकूल असर परेको उल्लेख गरिएको छ।
महासंघले सामाजिक सञ्जालको नियमनका लागि आवश्यक कानुनी संरचना निर्माण गर्नुपर्ने विषयमा सहमति जनाउँदै पर्याप्त कानुनी आधार तथा कूटनीतिक तयारीबिना गरिएको बन्दको निर्णयप्रति असहमति प्रकट गरेको छ।
महासचिव श्री गौतमले नागरिकको अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकमा हस्तक्षेप हुने निर्णय लोकतान्त्रिक मूल्य र कानुनी शासनविपरीत रहेको धारणा व्यक्त गर्नुभएको छ।
महासंघका प्रवक्ता कृष्ण आचार्यले पदमार्ग पर्यटनको सिजन प्रारम्भ हुँदै गर्दा सम्पर्कका प्रमुख माध्यमहरू बन्द हुँदा व्यवसायिक सम्बन्धहरू टुट्न थालेको जानकारी दिनुभयो। उहाँले सामाजिक सञ्जाल नचल्ने देशमा पर्यटकहरू आउन हिचकिचाउन थालेको समेत उल्लेख गर्नुभयो।
महासंघले नेपाल सरकारलाई कूटनीतिक पहलमार्फत सामाजिक सञ्जाल नियमनको प्रक्रिया सुरु गर्न आग्रह गर्दै लाखौंको रोजगारी तथा राष्ट्रिय अर्थतन्त्रमा प्रतिकूल असर पार्ने निर्णयबाट पछि हट्न अनुरोध गरेको छ।





प्रतिकृया दिनुहोस्