काठमाडौं । जेन-जी युवाहरुको प्रदर्शनका क्रममा भएको आगजनीको निसानामा प्रतिष्ठान व्यवसायिक संस्था भाटभटेनीले अकल्पनीय आक्रमण भोगेको छ । विसं २०४१ सालमा एक सटरबाट सुरु भएको मीनबहादुर गुरुङको यो व्यवसायले हजारौं युवापुस्तालाई रोजगारी दिएको थियो । भाटभटेनीका साढे दुई दर्जन स्टोरमध्ये ठूला एक दर्जन स्टोर पूर्णरुपमा ध्वस्त पारिएका छन् ।
नौ वटा स्टोरमा सामान लुटपाट गरिएको छ । सात वटा स्टोर मात्र सद्दे छन् । भाटभटेनीले आफ्नो सामाजिक सञ्जालमार्फत कर्मचारी र ग्राहकलाई खुसीको अंश बाँडेको छ । उसले भनेको छ, ‘दु:खद् क्षण गुज्रिए, तर आशा हराएको छैन, भाट–भटेनी फेरी उभिनेछ ।’
‘केही व्यवसायीमाथि भएको वीभत्स आक्रमणबाट हाम्रो परिवार पनि प्रभावित भयो, तर म र मेरो परिवार निरास वा विचलित भएको छैन । आजको सुनौलो बिहानीसँगै देश सकारात्मक दिशातर्फ अघि बढोस्, लोकतन्त्र अझै सुदृढ होस्, हामी अझै सशक्त रूपमा रोजगारी सिर्जना गर्न र लगानी गर्न प्रतिबद्ध छौं,’ नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाले भन्नुभयो ।
देशमा सकारात्मक परिवर्तन सहित नयाँ पुस्ताले देखेको नयाँ सपना पुरा होस भन्ने चाहना उहाँको छ । त्यस्तै, सकारात्मक सोच चौधरी ग्रूपका प्रबन्ध निर्देशक निर्वाण चौधरीको पनि छन् । ‘हामी फेरी उठ्ने छौं, हामी सिजीलाई पुनर्निर्माण गर्नेछौं, हामी अझ मजबुत भएर अघि बढ्ने छौं, यस विपत्तिबाट नयाँ शक्ति, नयाँ विचार, नयाँ प्रणाली र नेपाली नागरिकप्रतिको अझ गहिरो प्रतिबद्धता जन्मिने छ,’ उहाँ भन्नुहुन्छ ।
शान्तिपूर्ण रुपमा नयाँ नेपालको सपना बोकेको युवाको आन्दोलन हिंसा, लुटपाट र विनासमा परिणत भएपछि चौधरी ग्रुपका प्रबन्ध चौधरीले दिनुभएको प्रतिक्रिया हो यो ।
उहाँ स्मरण गर्नुहुन्छ ‘हामीले अकल्पनीय क्रुरता देख्यौं र भोग्यौं । हाम्रो कम्पनीका अध्यक्ष विनोद चौधरीलाई व्यक्तिगत रूपमा लक्षित गरियो । हाम्रा घरहरूमा आक्रमण र आगजनी भयो । हाम्रा कारखाना र कार्यालयहरू नष्ट गरिए । शोरुमहरू लुटिए । शताब्दी लगाएर हुर्काइएका हाम्रा सिर्जनाहरू क्षणभरमै ध्वस्त बनाइए ।’ तर, यसले आफ्नो मनोबल नगिरेको उहाँ बताउनुहुन्छ । ‘इतिहासले हामीलाई जलाउने आगो सम्झने छैन । इतिहासले हामीलाई त्यसबाट कसरी बाहिर निस्कियौं भन्ने सम्झने छ,’ उहाँ अघि लेख्नुहुन्छ ।
मंगलबार जेन–जी आन्दोलनका दौरान निजी क्षेत्रको लगानीमाथि भयानक आक्रमण गरियो । व्यवसायीका घर मात्र होइन्, उनीहरुको उद्यम र व्यापारिक प्रतिष्ठानलाई समेत लक्षित गरी आक्रमण भयो । यतिबेला व्यवसायीले आफ्नो प्रतिष्ठानमा के कति क्षति भयो आंकलन सम्म गर्न सक्ने अवस्थामा छैनन् । तर, निरासावादी भने छैनन् ।
शुक्रबार अधिकांश प्रतिष्ठानका प्रमुखहरुले अत्यासलाग्दो आक्रमणबारे आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका छन् । जबैजसो उद्यमी–व्यवसायी भविश्यसँग आशावादी छन् । तर, उनीहरुको चाहना छ, ‘अब यस्तो दिन कहिल्लै नआओस, युवाले देखेको सुनौलो भविश्य र सपना पुरा होस ।’ चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीको रविभवनस्थित निवास र सीजीको सतुंगलस्थित डिजिटल पार्कमा आलो लगाएर ध्वस्त बनाइएको छ ।
नाडा अटोमोवाइल एशोसिएशन अफ नेपालका पूर्वअध्यक्ष ध्रुव थापा भने यस पटकको आक्रमणबाट विक्षिप्त हुनुहुन्छ । प्रदर्शनकारीले उहाँको पोखरास्थित घर जलाएका थिए । सो क्रममा उहाँले परिवारकै सदस्यजस्तै गरी पालेकी कर्मचारीको समेत जलेर मृत्यु भएको छ । उहाँले लेख्नुभएको छ, ‘परिवारकै सदस्य भएर बसेकी ती बहिनीलाई बर्बरतापूर्वक जिउँदै आगोमा जलाएर मारिँदा मर्माहत बनाएको छ ।’
घरमा मान्छे छन् भन्ने थाहा हुँदाहुँदै तलबाट आगो लगाएका क्रुर अपराधीलाई उम्किन नदिन उहाँले आग्रह गर्नुभयाो । उहाँजस्तै धेरै व्यवसायीको माग नै नियोजित रुपमा आक्रमण गरी निजी र व्यवसायिक प्रतिष्ठानमा क्षति पुर्याउनेहरुमाथि राज्यले कडा कारबाही गरोस भन्ने छ ।
निजी लगानीको सञ्चार उद्यम कान्तिपुर समेत प्रदर्शनकारीको निसानामा परेको थियो । आक्रमणपछि दुई दिनसम्म समाचार पोर्टल बन्द रहेको कान्तिपुरले पुनः टेभिभिजन समेत प्रसारण थालेको छ । क्षतिग्रस्त भवन भित्रै जल्न बाँकी एक स्टुडियोबाट कान्तिपुरले आफ्नो प्रसारण थालेको हो ।
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष तथा सिजी होल्डिङ्सका प्रमुख कार्यकारी करण चौधरीले पिडादायी क्षणहरुलाई पछाडी छाडिसकेको प्रतिक्रिया दिनुभएको छ । उहाँ सामाजिक सञ्जालमा लेख्नुहुन्छ, ‘केही पीडादायी क्षणहरू भए, जसलाई हामी सबैले चाहेनौँ । तर विगतलाई हामी पछाडि छोडिसक्यौँ । आजको दिन हाम्रो हातमा छ । अहिलेको जिम्मेवारी हाम्रो काँधमा छ ।’
उहाँले अगाडि लेख्नुभएको छ, ‘म यो भूमिको माटोसँग शपथ लिन्छु, मेरो हृदयको हरेक धड्कन, मेरो रगतको हरेक थोपा, यस राष्ट्रको सेवामा समर्पित हुनेछ । म पुन: निर्माण गर्नेछु, बलियो बनाउनेछु र नेपाललाई अघि बढाउनेछु । यो देशले हामीलाई सबैथोक दिएको छ । अब हाम्रो पालो हो । हामी सबै मिलेर नेपाललाई केवल महान् मात्र होइन, विश्वकै अगाडि झन् उज्यालो र गौरवशाली बनाउनेछौँ । यही मेरो आत्माको गहिरो प्रतिज्ञा हो, यही मेरो अमर वाचा हो ।’





प्रतिकृया दिनुहोस्