नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–३ स्थित ब्रम्हस्थान नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै गएको छ । ब्रम्हस्थानबाट सुन्दर नारायणी नदी, चितवन राष्ट्रिय निकुञ्ज तथा सूर्यास्तको मनमोहक दृश्यावलोकन गर्न सकिने हुँदा यो क्षेत्र नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको हो ।
सार्वजनिक विदा तथा चाडपर्वको समयमा यहाँ आन्तरिक पर्यटकहरुको उपस्थिति उल्लेख्य रहने मध्यविन्दु–३ का पूर्व जनप्रतिनिधि नारायण प्रसाद नेपालले बताउनुभयो । “सामान्य दिनमा दुई सय जनाको हाराहारीमा आउने मानिसहरु सार्वजनिक बिदानको दिनमा पाँच सय नाघ्ने गर्दछ” उहाँले भन्नुभयो, “यो तिहारको बेलामा त यहाँ दैनिक एक हजार भन्दा बढीको सङ्ख्यामा मानिसहरु आएका थिए ।” ब्रम्हस्थानको फारम क्षेत्रबाट नारायणी नदीको आकर्षक दृश्य, दुर्लभ एकसिङ्गे गैँडा, घडियाल गोही, नदीको पारिपट्टि रहेको चितवन राष्ट्रिय निकुञ्ज र सूर्यास्तको दृश्यले यहाँ आउने पर्यटकहरु आकर्षित हुने गरेका नेपालको भनाइ छ ।
यस क्षेत्रमा पर्यटकहरुको चहलपहल हुन थालेपछि यहाँ दृश्यावलोकन स्तम्भ (भ्यूटावर)सहित व्यवस्थित पार्क निर्माण अगाडि बढेको भएपनि बजेट अभावमा भ्यूटावर निर्माण अलपत्र परेको नेपालले बताउनुभयो । यद्यपि यहाँ स्थानीय भूतपूर्व सैनिकहरुको पहलमा शुद्ध खानेपानी र शौचालयको व्यवस्था गरिएको उहाँले बताउनुभयो । “ब्रम्हस्थानको यस पार्कमा मानिसहरु दृश्वालोकनसँगै ड्राइ पिकनिक, पिकनिकका लागि आउने गरेका छन्” उहाँले भन्नुभयो, “पार्कभित्र पिकनिक स्पोटसमेत रहेकाले पछिल्लो समय ब्रम्हस्थान आन्तरिक पर्यटकको रोजाईमा पर्ने गरेको छ ।”
पार्क नजिकै रहेका होटलहरुमा नारायणी नदीको माछा तथा थारु र बोटे समुदायको मौलिक खानाको स्वाद लिन पाइने भएकाले पनि मानिसहरु ब्रम्हस्थान आउने गरेका स्थानीय हुमनाथ उपाध्यायले बताउनुभयो । “यहाँ छिमेकी जिल्ला चितवन, तनहुँ, रुपन्देहीबाटसमेत मानिसहरु घुम्न आउने गरेका छन्” उहाँले भन्नुभयो, “यहाँ एकपटक आएका मानिसहरु यहाँको सुन्दरताका कारण पटकपटक आउने गरेका छन् ।” यहाँ पार्कबाहेक अन्य संरचना निर्माण नहुँदै मानिसहरु आउन थालेका भन्दै उपाध्यायले यस क्षेत्रको प्रवद्र्धन र प्रचार प्रसार गर्न सके नवलपुरकै मुख्य पर्यटकीय केन्द्रको रुपमा विकास हुने सम्भावना रहेको बताउनुभयो ।
मध्यविन्दु–७ चोरमाराबाट परिवारसहित ड्राइ पिकनिक आउनुभएकी सरस्वती महतोले यहाँको दृश्यावलोकनका कारण आफूहरुलाई आकर्षित गरेको बताउनुभयो । “हामी परिवारका सदस्यहरु भेला भएको बेला चार पाँच घण्टा समय मिलेमा घुम्न आउने ठाउँ बनेको छ” उहाँले भन्नुभयो, “घरबाट सवारीसाधनमा आधा घण्टामा पुगिने र प्रकृतिमा समय बिताउन पाउनेभएपछि सबै जना खुसी हुन्छन् ।” घरबाट नजिकै पारीवारिक रुपमा रमाउन उपयुक्त ठाउँ ब्रम्हस्थान भएपछि उहाँहरु परीवार र छिमेकी गरी २० जनाको समूहमा ड्राइ पिकनिक आएको महतोले बताउनुभयो ।
गैँडाकोटबाट पहिलोपटक साथीहरुसँग यहाँ आउनुभएका सुजन पाण्डेले ठाउँ राम्रो भए पनि यसलाई अझै व्यवस्थित गर्नुपर्ने बताउनुभयो । पार्कमा भन्दा नदीकिनारमा मान्छे धेरै बस्ने गरेका भन्दै उहाँले नदीकिनारमा व्यवस्थित तरिकाले तारबार गर्नुपर्ने बताउनुभयो । “नदीकिनारबाट नदी अवलोकन गर्न सुरक्षित पार्न सकेमा अप्रिय दुर्घटना हुनबाट जोगाउन सकिन्छ” उहाँले भन्नुभयो, “नदीमा गरिएको तटबन्धका कारण नदी छेउमै गहिरो भएकाले सावधानी अपनाउनुपर्छ ।”
व्यवस्थित र पर्याप्त बस्ने ठाउँको अभावमा मानिसहरु नदीको ढिकमा उभिने, नदी तटबन्ध गरिएको ग्याभिनमा गएर फोटो, भिडियो बनाउने गरेको दृश्य देखिएको भन्दै पाण्डेले यसलाई सुरक्षित पार्न स्थानीय सरकार लाग्नुपर्ने बताउनुभयो । जेनजी समूहका पाण्डेले आफ्नो समूहका मानिसलाई प्रकृतिसँग रमाउने यस ठाउँ उपयुक्त स्थान भएको भन्दै यसलाई सुधार गरेर व्यवस्थित पार्न सकेमा बाह्य पर्यटकसमेत यस स्थानमा आउने बताउनुभयो । “ब्रम्हस्थान किन जाने भनेर भन्दा नारायणी, गोही, गैँडा, निकुञ्ज, सूर्यास्तको दृश्यावलोकन भनेर भन्न सकिन्छ” उहाँले भन्नुभयो, “अब यस स्थानलाई सुरक्षित र केही भौतिक संरचना थप्दा जिल्लाकै प्रमुख गन्तव्य बन्न सक्छ ।”
पूर्वपश्चिम राजमार्गको डण्डाबाट करिब नौ किलोमिटर दक्षिणमा पर्ने ब्रम्हस्थान प्राकृतिक रुपमा सुन्दर रहेको छ । पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै गएको यस स्थान आवश्यक संरचना निर्माण गर्दै पर्यटकहरुले फाल्ने प्लास्टिकजन्य फोहोरलाई सही रुपमा व्यवस्थापन गर्न सके देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्ने सम्भावना छ । – रासस





प्रतिकृया दिनुहोस्