नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ ब्रम्हस्थानस्थित ॐकारेश्वर महादेव मन्दिरमा ७२ घण्टे अखण्ड हरिकीर्तन सुरु गरिएको छ ।
कात्तिक १५ गते परेको हरिबोधनी एकादशीको अवसरमा मन्दिरमा बिहीबारदेखि ७२ घण्टे अखण्ड हरिकीर्तन सुरु भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष थमनारायण शर्माले जानकारी दिनुभयो । अखण्ड हरिकीर्तन सुरु हुनु अगाडि मन्दिर परिसर सरसफाइ गरिएको उहाँको भनाइ छ । नारायणी नदी किनारमा रहेको यस मन्दिरलाई तीर्थस्थलको रुपमा अगाडि बढाउने उद्देश्यले विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको उहाँले बताउनुभयो ।
ॐकारेश्वर मन्दिर रहेको नारायणी नदीको ब्रम्हस्थानघाटमा हरेक वर्षको साउने सोमबार, हरिबोधनी एकादशी तथा हरिशयनी एकादशीमा स्नानका लागि हजारौँ भक्तजनहरु आउने गर्दछन् । एकादशीको अवसरमा यहाँ मेलासमेत लाग्ने गरेको उहाँले बताउनुभयो । यस स्थानलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउनका लागि स्थानीयस्तरबाट पहल भइरहेको शर्माले बताउनुभयो ।
जिल्ला समन्वय समिति नवलपुरका सदस्य लोकनाथ अर्याल ‘राजु’ले ब्रम्हस्थानलाई उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्य बनाउने तयारीस्वरुप संरचनाहरु निर्माण भइरहेको बताउनुभयो । यहाँ ॐकारेश्वर पीठ निर्माण गर्ने तयारीस्वरुप हरिद्वारबाट आउनुभएका जगद्गुरुबाट शिलान्यास गरी मन्दिर निर्माण गरिएको अर्यालको भनाइ छ । मन्दिरमा हरेक दिन नित्य पूजाआजासँगै विभिन्न उत्सवहरुमा धार्मिक अनुष्ठान हुने गरेको अर्यालले बताउनुभयो ।





प्रतिकृया दिनुहोस्