नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको गैँडाकोटमा रातिको समयमा सडक बिस्तारको काम भइरहेको छ । नारायणी नदीको पुलबाट पश्चिमतर्फ १७० मिटर सडक कालोपत्रसँग जोडिन बाँकी रहेकाले त्यस स्थानमा रातिमा काम अगाडि बढाइएको हो ।
नारायणघाट बुटवल सडक योजना पूर्वी खण्डका सूचन अधिकारी इन्जिनीयर शिव खनालले हरेक दिन राति १० बजेदेखि भोलिपल्ट बिहान ४ बजेसम्म काम भइरहेको बताउनुभयो । “दिउँसोमा सवारीसाधनको चाप अत्यधिक हुने भएकाले यहाँ दिउँसोमा सडक बिस्तारमा समस्या देखियो” उहाँले भन्नुभयो, “रातिमा सवारीसाधनको न्यून चाप हुनाले सहज रुपमा सडक बिस्तारको काम भइरहेको छ ।” दिउँसोमा यो सडकमा काम गर्दा सवारीसाधनको लामो जाम भएकाले ट्राफिक व्यवस्थापनमा समस्या देखिएपछि रातिमा काम थालिएको उहाँले बताउनुभयो ।
कार्यतालिका बमोजिम प्रगति हासिल भएमा अबको १० दिनमा गैँडाकोटको कालोपत्रसँग जोडिन बाँकी रहेको यस भागमा पनि दुईतहको कालोपत्र गरेर सकिने उहाँले बताउनुभयो । यस स्थानमा सडक बिस्तारको कामका लागि रातिमा दैनिक तीनवटा एक्साभेटर तथा डोजर, एउटा ग्रेडर र माटो ढुवानी गर्न केही ट्रिप्परको प्रयोग भइरहेको खनालले बताउनुभयो । एक्साभेटरले बाटोको माटो खन्ने, सम्याउने एवम् ट्रिप्परमा माटो लोड गर्ने काम गर्ने भन्दै सूचना अधिकारी खनालले खनिएको बाटोमा सम्याएपछि ग्रेडरले पेलेर माटोलाई चिल्लो बनाउने काम गरिरहेको बताउनुभयो ।
गैँडाकोटको यसखण्ड र दाउन्नेको पहाड बाहेर नारायणघाट बुटवल सडकको पूर्वी खण्डमा एकतर्फी कालोपत्रको काम भइसकेको योजनाले जनाएको छ । चाडपर्व सकिएपछि सडक बिस्तारको काम तीव्र गतिमा अगाडि बढिरहेको खनालको भनाइ छ । यस सडक बिस्तार सकिएपछि नारायणघाटबाट बुटवलसम्मको दुरी करिब १०० मिनेटमा पार गर्न सकिने उहाँले बताउनुभयो ।
“दाउन्नेमा तीन किलोमिटर सडक कालोपत्र गरेपछि तथा बाँकी करिब १० किलोमिटर सडकमा ढलानको काम भइरहेको छ” उहाँले भन्नुभयो, “दुईतर्फी नै सडक कालोपत्र भइसकेको ठाउँमा भने डिभाइडर, सर्भिसलेनलगायतका सौन्दर्यकरणको काम हुँदैछ ।” यस सडकको भौतिक प्रगति करिब ७० प्रतिशत हाराहारी पुगेको खनालले बताउनुभयो । नारायणघाट–बुटवल खण्डको ११४ किलोमिटर सडकमध्ये पूर्वी खण्डमा ६५ किलोमिटर तथा पश्चिम खण्डमा ४९ किलोमिटर सडक रहेको छ ।
सडक बिस्तारको क्रममा यस खण्डको १०० किलोमिटर चार लेनमा तथा दाउन्नेको १४ किलोमिटर सडक तीन लेनमा बिस्तार हुँदैछ । भौगोलिक कठिनाइका कारण दाउन्नेमा तीन लेनमा मात्रै सडक बिस्तार हुने भएको हो । सडक बिस्तारको क्रममा सहरी क्षेत्रमा सडकबाट उत्तरतर्फ र दक्षिणतर्फ अतिरिक्त दुई लेन सडक सर्भिस लेनको रुपमा निर्माण गरिने छ ।





प्रतिकृया दिनुहोस्