नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा अवस्थित मौलाकाली केबलकार पुनः आज (शनिबार)देखि नियमित सञ्चालनमा आएको छ । गत भदौ २४ गतेदेखि बन्द रहेको केबलकारको सेवा साढे दुई महिनापछि पुनः सुरु भएको हो ।
भदौ २४ गते जेनजी प्रदर्शनको क्रममा तोडफोड र आगजनीका कारण केबलकारको बटम स्टेशनमा रहेका कार्यालय भवन फर्निचर लगायत प्राविधिक उपकरणहरु क्षतिग्रस्त भएपछि केबलकारको सेवा बन्द गरिएको थियो । केबलकार निर्माता कम्पनी अष्ट्रियाको डोपलमायरबाट सामान सहितका प्राविधिकहरु आई केबलकार मर्मत गरी पुनः सुरु गरेका हुन् । पुनः मर्मतपछि पनि डोपलमायरका दक्ष प्राविधिक इन्जिनियरको टीमले लामो समय परीक्षण गरेपछि केबलकार सञ्चालनमा ल्याइएको स्टेशन म्यानेजर सुरज पौडेलले जानकारी दिनुभयो ।
“केबलकार सञ्चालनमा आएर करिब एक हप्तासम्म विभिन्न सुक्ष्म परीक्षणहरु गरी सम्पूर्ण रुपमा ठीक भएको पाइएपछि शनिबारबाट बल्ल हामीले आम सर्वसाधारणका लागि सञ्चालनमा ल्याएका हौँ” पौडेलले भन्नुभयो, “सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो, त्यसैले केबलकार चल्न थालेको एक हप्तासम्म धेरै सुरक्षा जाँचहरु गरेर बल्ल नियमित सञ्चालनमा ल्याएका छौँ” । स्टेशन म्यानेजर पौडेलका अनुसार अब केबलकार हरेक दिन बिहान ६ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ । केबलकारको सेवा अवरुद्ध हुँदा माथिल्लो स्टेशनमा रहेको इला रिसोर्टको सेवा पनि प्रभावित हुन पुगेको थियो ।
मौलाकाली केबलकार र इला होटल ग्लोबल आईएमई ग्रुपको प्रवद्र्धनमा सञ्चालनमा आएको हो । होटलको सेवा यथावत नै भए पनि केबलकार नै नचलेपछि सेवाग्राही नै कम आउने गरेका थिए । केबलकार पुनः सञ्चालनमा आएपछि होटलका सेवाग्राहीहरुलाई अझै उत्कृष्ट सेवा दिन सकिने इला रिसोर्ट तथा मौलाकाली केबलकारका महाप्रबन्धक अरबिन्द्र केसीले बताउनुभयो ।
“यो अवधिमा पनि होटल त खुल्ला नै थियो तर पनि केबलकार नै नभएपछि सेवाग्राहीहरू निकै नै कम आउनुहुन्थ्यो” केसीले भन्नुभयो । अब भने केबलकार पुनः सञ्चालनमा आएसँगै होटलमा पनि धेरै सेवाग्राही आउने र आफूहरुले अझै गुणस्तरीय सेवा प्रदान गर्ने केसीको भनाइ छ । केबलकारको सेवा अवरुद्ध हुँदा ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिरमा आउने भक्तजनको सङ्ख्यामा समेत उल्लेख्य गिरावट आएको थियो ।
धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले केबलकार सञ्चालनमा आएपछि मन्दिरमा आउने भक्तजनको सङ्ख्यामा ३० प्रतिशतभन्दा बढीले वृद्धि भएकोमा पछिल्लो समय केबलकार बन्द भएको अवस्थामा मन्दिरमा भक्तजनको चहलपहल निकै कम देखिएको बताउनुभयो । “मन्दिरमा धेरै भक्तजनहरु आउने दसैँ तिहारको बेलामा पनि यसपालि भक्तजन धेरै आएनन्” उहाँले भन्नुभयो, “अघिल्ला वर्षहरुको तुलनामा मन्दिरमा भेटी रकम पनि निकै कम चढ्यो ।” अब केबलकार नियमित सञ्चालनमा आएपछि मन्दिर आउने भक्तजनको सङ्ख्या बढ्नेमा आफूहरु आशावादी रहेको सापकोटाले बताउनुभयो ।
विसं २०८० साल बैशाखदेखि सञ्चालनमा आएको मौलाकाली केबलकारबाट करिब ६ लाख सेवाग्राहीले सेवा लिइसकेका केबलकारको तथ्याङ्क छ । केबलकार सञ्चालनमा आएपछि यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्नुका साथै आर्थिक रुपमा समेत यसले मौलाकालिका मन्दिर, सामाजिक संघसंस्था तथा विभिन्न सरकारी निकायमा उल्लेख्य योगदान गरेको छ ।





प्रतिकृया दिनुहोस्