नवलपुर । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले गण्डकी प्रदेशभित्रको शिक्षा प्रणालीको सामुहिक सुधार गर्ने काम भइरहेको बताउनुभएको छ । प्रदेशभित्र शिक्षा प्रणालीको सामुहिक सुधार गर्दै व्यवहारिक जीवनोपयोगी तथा श्रम बजारमैत्री विविध कार्यक्रमहरु सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो ।
नवलपुरको गैँडाकोटस्थित कालिका नमूना माध्यमिक विद्यालयको ५०औँ वार्षिकोत्सव तथा स्वर्ण जयन्ती मूल समारोहको अवसरमा शनिबार आयोजित कार्यक्रममा मन्त्री थापाले शिक्षालाई सीप, रोजगारी र सामाजिक रुपान्तरणसँग जोड्ने उद्देश्यले मन्त्रालय तथा मातहतका निकाय र कार्यालय मार्फत कार्यक्रमहरु प्रभावकारीरुपमा कार्यान्वयन भइरहेको बताउनुभयो । प्रदेशभित्र नमूना विद्यालय विकास गरी शैक्षिक गुणस्तर अभिवृद्धि र विद्यालय व्यवस्थापन सुधारमा विशेष जोड दिइएको उहाँको भनाइ छ ।

“समावेशी शिक्षाको सुनिश्चितताको लागि बौद्धिक अपाङ्गता, अटिजम तथा अन्य अपाङ्गता भएका बालबालिकाका लागि विशेष विद्यालय कार्यक्रम सञ्चालन गरिएको छ” उहाँले भन्नुभयो, “जसबाट सबै बालबालिकाको सिकाइ अधिकार सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको साथै अभिभावक शिक्षा कार्यक्रम मार्फत बालबालिकाको शैक्षिक तथा नैतिक विकासमा अभिभावकको भूमिकालाई सशक्त बनाउने प्रयास रहेको छ ।” उहाँले विज्ञान प्रविधि, इन्जिनियरिङ र गणित शिक्षालाई प्रवद्र्धन गर्न स्ट्रिम ल्याब कार्यक्रम मार्फत प्रयोगात्मक तथा नवप्रवर्तनमुखी सिकाइलाई प्रोत्साहन गरिरहेको बताउनुभयो ।
“प्रदेशभरका प्रतिभावान् विद्यार्थीहरुको पहिचान, संरक्षण र विकासका लागि विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम शैक्षिक, खेलकुद तथा सिर्जनात्मक क्षेत्रमा लागू गरिएको छ” उहाँले भन्नुभयो, “शैक्षिक स्रोतको प्रभावकारी उपयोग र गुणस्तर अभिवृद्धिका लागि विद्यालय समायोजन मर्जर कार्यक्रम तथा उच्च शिक्षाको दिगोपन सुनिश्चित गर्न सामुदायिक क्याम्पस समायोजन मर्जर कार्यक्रम कार्यान्वयनमा रहेका छन् ।” विपद्का कारण विद्यालयमा भएको तथा हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्यले विद्यालय विपद् व्यवस्थापन कार्यक्रम सञ्चालनमा रहेको उहाँले बताउनुभयो ।
गण्डकी प्रदेशको दुर्गम तथा हिमाली भेगका बालबालिकालाई शिक्षाको पहुँच सुनिश्चित गर्न घुम्ती विद्यालय तथा आवासीय विद्यालय कार्यक्रम मन्त्रालय तथा मातहतका निकायमार्फत प्रभावकारीरुपमा सञ्चालन भइरहेको उहाँको भनाइ छ । गण्डकी प्रदेश सरकारले युवालाई शिक्षासँगै सीप, अनुशासन, नेतृत्व र खेलकुदमार्फत सशक्त बनाउने नीतिका साथ अगाडि बढिरहेको थापाले बताउनुभयो । विद्यालय तहबाटै खेलकुद, अतिरिक्त क्रियाकलाप सीमूलक तथा व्यवहारिक शिक्षालाई प्रवद्र्धन गर्नु आजको आवश्यकता रहेकोमा उहँले जोड दिनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका सांसद महेन्द्रध्वज जिसी, गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि आफूहरुले सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा विद्यालयका प्रधानध्यापक होमनाथ शर्माले विसं २०३३ सालमा ३६ जना विद्यार्थी लिएर सञ्चालन भएको विद्यालयमा हाल एक हजार तीन सय २७ जना विद्यार्थी पुगेका जानकारी दिनुभयो । विसं २०५० मा प्रवेशिका परीक्षा (एसएलसी)मा सहभागी भएको विद्यालयले विसं २०६५ बाट कक्षा ११ र १२ को अध्यापन गराउँदै आएको भन्दै शर्माले अहिले विद्यालयले विज्ञानतर्फ समेत कक्षा थप गरेको बताउनुभयो ।
विद्यालयमा ६२ जना शिक्षक एवम् नौ जना कर्मचारी रहेका छन् । विद्यालयको स्वर्ण महोत्सवका अवसरमा कलाकारहरु पशुपति शर्मा, दीपक शर्मा, दुर्गा सापकोटाले साङ्गीतिक प्रस्तुती राखेका थिए । वाषिकोत्सवको अवसरमा विद्यालयको स्वर्ण स्तम्भ अनावरण, स्वर्ण स्मारिका लोकर्पणसहितका कार्यक्रम गरिएका थिए ।





प्रतिकृया दिनुहोस्