नवलपुर । नवलपुरको गैँडाकोट–२ का वडाध्यक्ष प्रकाश सापकोटाले नेपाली काँग्रेस नवलपुरको प्रदेशसभा सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । उहाँले गैँडाकोटमा पत्रकार सम्मेलन गर्दै काँग्रेसको अधिवेशनका लागि नवलपुर क्षेत्र नम्बर १ (क) को सभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।
सापकोटाले पार्टी संगठनलाई जितमुखी दिशातर्फ अघि बढाउने स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले पदप्रतिको व्यक्तिगत आकांक्षाका कारण नभई पार्टीको आवश्यकता र जिम्मेवारीबोधका आधारमा उम्मेदवारी घोषणा गरेको बताउनुभयो । पत्रकार सम्मेलनमा बोल्दै सापकोटाले नेपाली काँग्रेस केवल निर्वाचन जित्ने संस्था मात्र नभई बी.पी. कोइरालाको विचार, गणेशमान सिंहको निडरता, कृष्णप्रसाद भट्टराईको नैतिकता तथा जी.पी. कोइरालाको दृढ नेतृत्वको निरन्तरता बोकेको पार्टी भएको उल्लेख गर्नुभयो ।
“आजको काँग्रेसलाई ती सबै गुण समेट्न सक्ने सक्षम नेतृत्वको खाँचो छ,” उहाँले स्पष्ट गर्नुभयो । नवलपुरमा क्षेत्र नं. १ (क) मा काँग्रेसको संगठनात्मक अवस्थाबारे टिप्पणी गर्दै उहाँले कार्यकर्ता सक्रिय हुँदाहुँदै पनि संगठन कमजोर देखिनुको मुख्य कारण सही समयमा सही नेतृत्व नपाइनु रहेको धारणा व्यक्त गर्नुभयो । आफू केवल वडाध्यक्षमा सीमित नेता नभई दलित, जनजाति, युवा, खेलकुद तथा विभिन्न सामाजिक क्षेत्रसँग निरन्तर सम्बन्ध र सहभागिता रहेको उहाँको भनाइ थियो ।
सापकोटाले पार्टीले जित्न नसकेको अत्यन्तै कठिन क्षेत्रमा जिम्मेवारी सम्हाल्दा ऐतिहासिक मतसहित विजय हासिल गरेको अनुभव स्मरण गर्दै सोही अनुभव नै आफ्नो सबैभन्दा ठूलो योग्यता भएको बताउनुभयो । “सबैभन्दा कठिन क्षेत्र गैँडाकोट–२ मा पार्टीलाई जिताउन सक्ने व्यक्तिले संगठनलाई पनि विजयतर्फ डो¥याउन सक्छ,” उहाँले आत्मविश्वासका साथ भन्नुभयो । ३५ वर्षमुनिको युवा नेता भए तापनि पर्याप्त अनुभव, जोखिम उठाउने साहस र परिवर्तनलाई आत्मसात् गर्न सक्ने चेतना आफूमा रहेको उल्लेख गर्दै उहाँले काँग्रेसलाई परम्परागत मतदातामात्र नभई अन्य पार्टीका ‘स्विङ भोट’समेत आकर्षित गर्न सक्ने नेतृत्व आवश्यक रहेको धारणा राख्नुभयो ।
पत्रकार सम्मेलनमा उहाँले अन्य उम्मेदवारहरूप्रति सम्मान व्यक्त गर्दै भन्नुभयो, “सबै असल व्यक्ति सबै पदका लागि उपयुक्त हुँदैनन् । आज नेपाली काँग्रेसलाई नयाँ प्रयोग होइन, परीक्षण भइसकेको, परिणाम दिन सक्ने नेतृत्व चाहिएको छ ।” उहाँले प्रतिनिधिहरूलाई व्यक्तिलाई नभई, पार्टीलाई जिताउन सक्ने क्षमताको मूल्यांकन गर्न आग्रह गर्दै आफ्नो उम्मेदवारी पार्टीको भविष्य, संगठनको मजबुती र एकताका लागि समर्पित रहेको स्पष्ट पार्नुभयो ।





प्रतिकृया दिनुहोस्