चितवन । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले पत्रकारितामा देखिएका विकृति र विसंगति सुधार्नकै लागि आफू काउन्सिलको नेतृत्वमा आएको स्पष्ट पार्नुभएको छ ।
प्रेस काउन्सिल नेपालद्वारा आइतबार चितवनमा आयोजित पत्रकार आचारसंहिता जागरण अभियान कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले पत्रकारिता पेशालाई मर्यादित, जिम्मेवार र व्यवस्थित बनाउन काउन्सिलले ठोस कदम चाल्ने बताउनुभयो । आचार्यले नागरिक सरकारको नियुक्तिमा प्रेस काउन्सिललाई सुधार्न आफू आएको बताउनुभयो । “पत्रकारिता पेशा अहिले समस्यामा छ भन्ने कुरा म बुझ्छु,” उहाँले भन्नुभयो, “यदि वर्गीकरण वा अन्य विषयमा कमजोरी छन् भने सुधार गर्न हामी तयार छौँ ।”
पत्रकारहरु पनि कुनै राजनीतिक दलको सदस्य बन्न नहुने उहाँले बताउनुभयो । पत्रकारितामा विकृति बढेको भन्दै काउन्सिलमा उजुरीसमेत परिरहेको उल्लेख गर्दै उहाँले पत्रकारले राजनीतिक दलको सदस्यता लिएर वकालत गर्न नपाउने स्पष्ट गर्नुभयो । पत्रपत्रिका वर्गीकरणमा समस्या रहेको कुरा आफूले सुनेको बताउँदै उहाँले वर्गीकरणमा कुनै समस्या रहेछ भने त्यसलाई सुधारेर जाने बताउनुभयो । १५ दिनअघि मात्रै उहाँ काउन्सिलको अध्यक्षमा नियुक्त हुनुभएको थियो ।
कार्यक्रममा सहभागी पत्रकारहरुले आफूहरुले भोग्दै आएका विभिन्न समस्यामा काउन्सिलको ध्यानाकर्षण गराएका थिए । सो अवसरमा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्तराज पराजुलीले पत्रकारलाई जिम्मेवार बनाउन आचारसंहिता बुझ्नु र पालना गर्नु अपरिहार्य भएको बताउनुभयो । “केही दिनअघिमात्र यस कार्यक्रम गर्ने निर्णय गरेका थियौँ, काउन्सिल आफैं कार्यक्रम लिएर आउनु खुसीको कुरा हो,” उहाँले भन्नुभयो ।
महासंघ चितवनका उपाध्यक्ष दीपेन्द्र अधिकारीले पत्रकारबाट पनि गल्ती हुन सक्ने भएकाले त्यसलाई स्वीकार गरी सच्याउन तयार हुनुपर्ने धारणा राख्नुभयो । “आचारसंहिताको दफा १४ ले सुधारको अवसर दिएको छ,” उहाँले भन्नुभयो, “पत्रकार पनि मान्छे हो, गल्ती हुन सक्छ, तर राज्यको चौथो अंगका रुपमा चिनिने पत्रकार झन् बढी जिम्मेवार बन्नुपर्छ ।”
कार्यक्रममा प्रेस काउन्सिल नेपालका सूचना अधिकारी एवम् आचारसंहिता अनुगमन तथा उजुरी सुनुवाइ महाशाखाका प्रमुख रामशरण बोहराले चालु आर्थिक वर्षमा काउन्सिलमा २७० उजुरी परेको जानकारी दिनुभयो । साथै काउन्सिलको स्वअनुगमनमार्फत ५७६ उजुरी संकलन गरी कारबाही प्रक्रिया अघि बढाइएको उहाँको भनाइ छ । चितवन जिल्ला अदालत बार एसोसिएसनकी अध्यक्ष फूलमाया रानाभाटले पत्रकारहरु प्रश्नभन्दा सुझाव दिन बढी तत्पर देखिने गरेको टिप्पणी गर्दै “पत्रकारले सुझाव दिने कि प्रश्न सोध्ने ?” भनेर प्रतिप्रश्न गर्नुभयो ।
काउन्सिल पत्रकार र सञ्चार माध्यमलाई कारबाही मात्रै गर्ने निकाय नभएको उहाँले स्पष्ट पार्नुभयो । आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चारमाध्यमलाई नियमन गर्न प्रेस काउन्सिल ऐन रहेको बताउँदै उहाँले त्यस ऐनलाई कार्यान्वयन गर्ने गरिएको बताउनुभयो । पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन २०७६) हाल कार्यान्वयनमा छ ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव राधेश्याम खतिवडाले आचारसंहिता पत्रकारहरुको सीमारेखा भएको उल्लेख गर्नुभयो । पत्रकारहरुले आफ्नो सीमारेखाको ख्याल गर्नुपर्ने भन्दै उहाँले प्रविधिले फड्को मारिरहेको अवस्थामा आचारसंहिता संशोधन गर्नुपर्ने बेला भएको बताउनुभयो । हाल लागू भइरहेको आचारसंहिता समय सापेक्ष नभएको उहाँले बताउनुभयो ।
प्रेस काउन्सिल नेपालका सदस्य शन्तराम बिडारीले पत्रकार र मिडिया जगतको समस्या आफूहरुले बुझेको भन्दै समाधानका लागि सबैले सहकार्य गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । अर्का सदस्य नकुल अर्यालले प्रेस काउन्सिलले पत्रिका वर्गीकरणमा कुनै विभेद नगरेको भन्दै चित्त नबुझेमा पुनः निवेदन दिन सक्ने व्यवस्था रहेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ चितवनका पूर्वअध्यक्ष कृष्ण गिरीले कानुनको क्षेत्रमा लामो समय काम गरिरहेका व्याक्ति काउन्सिलको नेतृत्वमा आउनु सुखद पक्ष रहेको बताउनुभयो । अर्का पूर्वअध्यक्ष कृष्ण भण्डारीले पत्रकार आचारसंहिता जागरण कार्यक्रम निकै महत्वपूर्ण रहेको भन्दै नियमित रुपमा यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्ने धारणा राख्नुभयो ।
नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष बसन्तराज पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा शाखा कोषाध्यक्ष कृष्ण आचार्यले सञ्चालन गर्नुभएको थियो ।





प्रतिकृया दिनुहोस्