चितवन । केही दिनदेखि बढेको चिसो र सोमबार चलेको शीतलहरका कारण चितवनको भरतपुर लगायतका क्षेत्रमा जनजीवन प्रभावित बनेको छ । जसका कारण विद्यालयमा बालबालिकाको आवागमन र पठनपाठन समेत प्रभावित भएको छ ।
जनप्रतिनिधि, अभिभावक, विद्यालय र सरोकारवालाको सुझावका आधारमा भरतपुर महानगरपालिकाले एक दिनका लागि विद्यालयमा बिदा दिने निर्णय गरेको छ । सोमबारको निर्णय अनुसार पुस १६ गतेका दिन भरतपुर महानगरपालिका भित्र सञ्चालित सबै विद्यालय (पूर्वप्राथमिक मन्टेश्वरीसमेत) लाई बिदा दिने निर्णय गरिएको महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका उपसचिव सुवासचन्द्र आचार्यले जानकारी दिनुभयो ।
महानगरपालिकाले बिदाको समयमा बालबालिकालाई चिसोबाट बचाउन आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ । पुस १५ गते भने ल्होसारको सार्वजनिक बिदा छ । चिसोका कारण चितवनका सरकारी कार्यालयहरुमा सेवाग्राहीको संख्या न्युन देखिएको छ भने बजारहरुमा पनि चहलपहल घटेको छ ।
यसैबीच, अत्यधिक चिसो बढेसँगै माडी नगरपालिकाले पनि एक दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुषालले एक सूचना जारी गर्दै पुस १६ गते एक दिनका लागि माडी नगरभित्रका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय भएको जनाउनुभयो । आज पुस १५ गते ल्होछार पर्वको दिन सार्वजनिक बिदा भएकाले बर्खे बिदाबाट कटौती हुने गरी थप एक दिन बिदा दिइएको नगरपालिकाले जनाएको छ ।





प्रतिकृया दिनुहोस्