नवलपुर । नवलपुरको गैँडकोटस्थित नारायणी नदी किनारमा सञ्चालित चौथो गैँडाकोट महोत्सवको ५० हजार दर्शकले अवलोकन गरेका छन् । पुस २५ देखि आजसम्म ५० हजार भन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेका महोत्सवको प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाले जानकारी दिए ।
महोत्सव अवलोकनका लागि आउने दर्शकको संख्या उल्लेख्य रहेको भन्दै सापकोटाले सोमबारमात्रै सात हजार भन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेका बताए । माघ १० गतेसम्म सञ्चलन हुने महोत्सवमा जलपरी, ओपेरा हाउस मुख्य आकर्षणको रुपमा रहेको उनको भनाइ छ । महोत्सवमा कृषि परिसर, व्यापारिक स्टल, अटो, बाल उद्यान तथा रेष्टुरेन्ट रहेका छन् ।
करिब २५० स्टल रहेको महोत्सवमा दुई लाख बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवको सचिवालय संयोजक तेजनारायण पाण्डेले बताए । पाण्डेकाअनुसार महोत्सवमा करिब २५ करोड रुपैयाँ बराबरको कारोबार हुनेछ । महोत्सव अवलोकनका लागि १०० रुपैयाँ मूल्यको टिकट तथा विद्यार्थीका लागि ७० रुपैयाँ टिकटको व्यवस्था गरिएको छ ।
ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका विद्यार्थीलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको उल्लेख गर्दै पाण्डेले शैक्षिक संस्थाबाट संस्थागत रुपमा सहभागी हुने विद्यार्थीहरुलाई समेत निःशुल्क प्रवेश दिइने बताए । महोत्सव परिसरलाई सुरक्षित पार्नका लागि आन्तरिक र बाह्य सुरक्षाकर्मी तथा सिसीटिभी क्यामेराबाट निगरानी गरिएको पाण्डेले बताए ।





प्रतिकृया दिनुहोस्