नवलपुर । गण्डकी प्रदेशकै पवित्र धार्मिक तीर्थस्थल देवघाटधाम जानका लागि नवलपुरबाट सहज रुपमा सडकको व्यवस्था भएको छ । नवलपुरको कालीगण्डकी करिडोर हुँदै तथा गैँडाकोटको पुलचोकबाट सहजरुपमा सवारीसाधनमा देवघाट जानआउन सकिने गरी सडक तयार भएको पालिकले जनाएको छ ।
गैँडाकोट नगरपालिकाका प्रवक्ता एवम् गैँडाकोट–३ का वडाध्यक्ष शिवकान्त तिवारीले गैँडाकोटको पुलचोकबाट ब्रिटिसक्याम्प हुँदै पक्की पुल तरेर देवघाट पुगिने बताउनुभयो । त्यस्तै गैँडाकोटकै कालीगण्डकी चोकबाट कालीगण्डकी करिडोर हुँदै ढोडेनी पुगेर हर्दी हुँदै कालीगण्डकी नदीको पक्की पुल तरेर देवघाट पुग्न सकिने तिवारीले जानकारी दिनुभयो । दुवै सडक कलोपत्र गरिएको भन्दै सहज रुपमा देवघाट पुगी स्नान गरेर फर्किन सकिने तिवारीको भनाइ छ ।
नवलपुर, तनहुँ र चितवनको सङ्गममा पर्ने देवघाटधाम जानका लागि चितवनको मात्रै सडकको भर पर्नुपर्ने अवस्थामा सवारीसाधनको जामले यात्रुहरुले सास्ती खेप्दै आएकामा अब त्यो पीडा न्यूनीकरण भएको पालिकाले जनाएको छ । गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले नवलपुर र पश्चिमतर्फबाट आउने यात्रुहरु गैँडाकोटबाटै सिधै देवघाट पुग्ने भएकाले सहज सडक प्रयोग गर्न आग्रह गर्नुभयो । “सहज र छोटो दूरीमा गैँडाकोटबाट सिधै देवघाट पुग्न सकिन्छ” उहाँले भन्नुभयो, “अहिले यो सडकमा निजी सवारीसाधन र अटो रिक्साहरु मात्रै हिँड्ने गरेका छन् तर माघेसङ्क्रान्तिलाई लक्षित गरी सार्वजनिक सवारीसाधन सञ्चालन गराउने तयारी गरेका छौँ ।”
यसअघि देवघाट जानका लागि नवलपुरको कलीगण्डकी करिडोर हुँदै एवम् चितवनको आँपटारी, रामनगर, ठिमुरा र दासढुङ्गाबाट जानुपर्ने बाध्यता थियो । गैँडाकोट–१ र गैँडाकोट–३ लाई जोड्ने गरी पक्की पुल बनेपछि गैँडाकोट पुलचोकबाट ब्रिटिस क्याम्प हुँदै सिधै देवघाट पुग्न सकिने वातावरण सिर्जना भएको नगरप्रमुख अधिकारीले बताउनुभयो । गैँडाकोट पुलचोकबाट ब्रिटिस क्याम्प हुँदै करिब पाँच किलोमिटर उत्तरतर्फको यात्रा गरेपछि देवघाट पुग्न सकिने उहाँले बताउनुभयो ।
देवघाट जाने तीर्थयात्रुहरुका लागि कालीगण्डकी नदीको केलादीघाटमा स्नान गर्ने व्यवस्था गरिएको भन्दै उहाँले यहाँबाट देवघाटको बेणी सङ्गमा जान पक्की पुल तथा डुङ्गा प्रयोग गर्न सकिने बताउनुभयो । सवारीसाधन पार्किङका लागि केलादी बसपार्कलाई प्रयोग गर्न सकिने भन्दै उहाँले देवघाटमा माघ स्नानका लागि नवलपुरतर्फको सडक प्रयोग गर्न आग्रह गर्नुभएको छ ।
देवघाटधामको बेणी सङ्गममा आज बिहान बाँसको लिङ्गो गाडेर मकरस्नान सुरु गर्ने वैदिक परम्परा रहेको छ । गोसाईँकुण्डबाट आएकी त्रिशूली र दामोदर कुण्डबाट आएकी कालीगण्डकी नदीको मिलन एवं नारायणी नदीको मुहानको रुपमा रहेको दवघाटधामको बेणी सङ्गममा मकरस्नान सुरु गर्न यहाँका वैदिक आश्रमका बटुक तथा पीठाधीश, विभिन्न धार्मिक सङ्घसंस्थाका प्रतिनिधि र भक्तजनहरुको सहभागिता रहने गर्दछ । देवघाटमा माघेसङ्क्रान्ति स्नानका लागि नेपालका विभिन्न जिल्लासहित विदेशी भक्तजनहरु पनि आउने गरेका छन् ।





प्रतिकृया दिनुहोस्