नवलपुर । नवलपुरको गैँडाकोटमा जारी गैँडाकोट अन्तर वडा महिला तथा पुरुष फुटबल प्रतियोगितामा बुधबार चार वटा खेल सम्पन्न भएका छन् । प्रतियोगिता अन्तर्गत तीन वटा पुरुषतर्फका खेल भएका तथा एउटा महिलातर्फको खेल भएको प्रतियोगिताका खेल संयोजक प्रशान्त रेग्मीले जानकारी दिनुभयो ।
प्रतियोगिता अन्तर्गत बुधबारको पहिलो खेलमा गैँडाकोट ११ विजयी भएको छ । वडा नम्बर १ र ११ बीच भएको प्रतियोगितामा सडन डेथबाट विजेता टुंगो लागेको रेग्मीले बताउनुभयो । निर्धारित खेलमा गोलरहित बराबरी भएपछि पेनाल्टी सुटआउटमा खेल पुगेको थियो ।
पेनाल्टी सुट आउटमा दुवै टोलीले चार–चार गोल गरेपछि सडन डेथको आधारमा विजेता टुंगो लगाइएको रेग्मीले बताउनुभयो । सडन डेथमा गैँडाकोट वडा नं. ११ का जर्सी नं. ५ का खेलाडी नवराज महतोले निर्णायक १ गोल गर्दै आफ्नो टोलीलाई जित दिलाउन सफल भएकाले रेग्मीले बताउनुभयो । प्रतियोगितामा वडा नम्बर १ का जर्सी नम्बर १४ का पशुपति रानाभाट र वडा नम्बर ११ का जर्सी नम्बर ८ का खेलाडी वीरेन्द्र महतोलाई अनुशासित खेल प्रदर्शनका लागि चेतावनी स्वरुप पहेँलो कार्ड दिइएको थियो ।
त्यसैगरी आजै भएको पुरुषतर्फको दोस्रो खेलमा गैँडाकोट वडा नं १४ विजयी भएको छ । वडा नं १४ र वडा नं ६ बीच भएको खेलमा १४ नम्बर वडा ३–० गोल अन्तरले विजयी भएको हो । वडा नं १४ को जितका लागि जर्सी नं ८ का रामप्रसादले दुई गोल तथा जर्सी नं ७ का खेम बाचेले एक गोल गरे । तीनवटै गोल पहिलो हाफ अगाडि भएको खेल संयोजक प्रशान्त रेग्मीले जानकारी दिनुभयो ।
त्यस्तै बुधबार नै भएको पुरुषतर्फको तेस्रो खेलमा वडा नम्बर ४ विजयी भएको छ । वडा नम्बर ४ ले वडा नम्बर १५ लाई ३–० गोल अन्तरले पराजित गरेको रेग्मीले जानकारी दिनुभयो । वडा नम्बर ४ का तर्फबाट दोस्रो हाफमा जर्सी नम्बर १० का टार्जन गुरुङले दुई तथा जर्सी नम्बर ८ का रोश मगरले एक गोल गरेका रेग्मीको भनाइ छ । यस प्रतियोगितामा पनि वडा नम्बर ४ का जर्सी नम्बर ९ का खेलाडी अविनाश गुरुङलाई पहेँलो कार्ड प्रदान गरिएको थियो ।
बुधबारको चौथो तथा महिलातर्फको पहिलो खेलमा वडा नम्बर ७ विजयी भएको छ । वडा नम्बर ७ ले वडा नम्बर ११ लाई सडन डेथमा पराजित गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा दुवै टोली गोलरहित बराबरीमा रोकिएपछि सडन डेथको आधारमा निर्णय लिइएको रेग्मीले बताउनुभयो ।
सडन डेथमा वडा नम्बर ७ की खेलाडी पुनम लामाले प्रहार गरेको गोल नै निर्णायक हुन पुग्यो रेग्मीले जानकारी दिनुभयो । पुस २९ देखि गैँडाकोट–९ स्थित नवजागर खेलकुद मैदानमा सुरु भएको प्रतियोगिताको आयोजक गैँडाकोट फुटबल क्लब रहेको छ ।





प्रतिकृया दिनुहोस्