देवघाट । नवलपुर, तनहुँ र चितवनमा पर्ने पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा शतचण्डी महायज्ञ एवम् देवघाट माघ महोत्सव हुने भएको छ । माघ १९ देखि माघ २९ गतेसम्म महायज्ञ एवम् माघ महोत्सव आयोजना गरिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
महायज्ञ एवम् माघ महोत्सवका सङ्कल्पकर्ता तथा कथा वाचक आचार्य शीतलकृष्णजी महाराजले देवघाटधामको धार्मिक महत्व उजागर गर्दै यहाँको धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महायज्ञको आयोजना गरिएको बताउनुभयो । शतचण्डी यज्ञको अवसरमा देवघाटधाममा रहेको ४० वर्ष पुरानो दुर्गा पाञ्चायन मन्दिर (श्री राम राम मन्दिर)मा हवन तथा देवघाटस्थित नदी किनारमा प्रवचन हुने उहाँले बताउनुभयो । “माघ महिनामा शुक्र अस्त पनि सकिएको छ, सबै भक्तलाई देवघाट बोलाउने र मकर स्नान गराउने तथा देशको तीर्थलाई सबै सामु पु¥याउने पनि हाम्रो इच्छा हो” उहाँले भन्नुभयो, “हामी तीर्थयात्रा भनेर बाहिर मात्रै जान्छौँ, तर शास्त्रले आदिप्रयागको रुपमा वर्णन गरेको देवघाट आउन पाउनु हाम्रो सौभाग्य हो ।”
शास्त्रमा माघ महिनामा कुनै न कुनै तीर्थ कुच्नै पर्ने तथा कुनै न कुनै गङ्गा गण्डकीमा स्नान गर्नुपर्ने भनेर व्याख्या गरेको उहाँले उल्लेख गर्नुभयो । “यो माघ महिनामा देशवासीलाई देवघाटमा बोलाउने, ४० वर्षदेखिको अखण्ड धुनिको भष्म प्रसाद दिने, गण्डकी स्नानको सौभाग्य पनि दिने पनि हाम्रो उद्देश्य हो” उहाँले भन्नुभयो, “यहाँ देशविदेशका महान् सन्तहरुको प्रवचन र आशीर्वचन लिन पाउने सौभाग्य पनि हामीले जोड्दैछौँ ।” देवघाटधाममा रहेका तीन वटै आश्रमका पीठाधीशहरुसहित यहाँका सबै सन्तहरुको उपस्थितिमा कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो ।
जिल्लाका स्थानीय जनप्रतिनिधिहरुको समेत कार्यक्रममा उपस्थिति हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । “११ दिनसम्म सञ्चालन हुने यस शतचण्डी महायज्ञ एवम् देवघाट माघ महोत्सवमा प्रख्यात कथावाचकहरु देवी प्रतिभाजी, ईश्वरकृष्ण, बालकृष्ण, कुबेर सुवेदी, ऋषिकेश उपाध्याय, दीनबन्धु पोखरेलसहितका चर्चित कथावाचकबाट कथा वाचन हुनेछ” उहाँले भन्नुभयो, “यस धार्मिक अनुष्ठान अवधिभर विभिन्न लिला मञ्चन र भजन गाउने तथा सन्ध्याकालीन गण्डकी आरती गरिने छ ।”
शतचण्डी अन्तर्गत दुर्गा पाञ्चायन मन्दिरमा चण्डीको १११ पाठ तथा हवन आदि कर्म वैदिक ब्राह्मणहरुद्वारा गरिने भन्दै उहाँले भन्नुभयो, “भक्तहरुले ल्याउनुभएका बत्तीलाई गुरुहरुबाट बेद मन्त्रसहित जलाउने तथा ४० वर्षदेखिको अखण्ड हवनकुण्डका हवन गर्न पाइने छ ।” यज्ञमार्फत वातावरण शुद्धीकरण, मानसिक शान्ति, सामाजिक सद्भाव र आध्यात्मिक उन्नति हुने शास्त्रीय मान्यता रहेको उहाँले बताउनुभयो । देवघाटजस्तो पवित्र स्थलमा माघको पवित्र महिनामा चालीस वर्षदेखि निरन्तर बलिरहेको पवित्र यज्ञकुण्डमा सम्पन्न हुने वृहत यज्ञले विश्वकै कल्याण र व्यक्तिको हृदयको पवित्रताका लागि पनि ठूलो भूमिका खेल्ने उहाँले बताउनुभयो ।
यज्ञमा मेलाअवधिभर यहाँ आउने भक्तजनलाई निःशुल्क आवास र खानाको व्यवस्था गरिएको महायज्ञ आयोजक समितिका सचिव विष्णु भुसालले बताउनुभयो । देवघाटलाई सुन्दर र सफा राख्दै देवघाटको गरिमा बढाउने गरी यज्ञ सम्पन्न गरिने उहाँको भनाइ छ । यज्ञ अवधिमा देवघाटमा फोहोर हुन नदिन सरसफाइ समितिको निर्माण गरि काम अगाडि बढाइएको भन्दै उहाँले शुलभ शौचालय, खानेपानी तथा सुरक्षाको प्रबन्ध मिलाइएको जानकारी दिनुभयो ।





प्रतिकृया दिनुहोस्