नवलपुर । पवित्र धार्मिक स्थल देवघाटधाममा शतचण्डी महायज्ञ एवं देवघाट माघ महोत्सव २०८२ सुरु भएको छ । महा महोत्सवको उद्घाटन देवघाटधाम स्थित गलेश्वर आश्रमका पिठाधीश श्री १००८ अनन्त श्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजले गरेका थिए ।
देवघाट गाउँपालिका–५ टाउनचोकमा रहेको दुर्गा पाञ्चायन मन्दिर (श्री राम राम मन्दिर)को आयोजना तथा कथा वाचक आचार्य शीतलकृष्णजी महाराजको संकल्पमा शतचण्डी महायज्ञ एवम् उक्त देवघाट माघ महोत्सव सुरु भएको हो । महायज्ञ सुरु हुनु अगाडि देवघाटको वेणी संगमबाट कलशयात्रा निकालिएको थियो ।
देवघाटमा रहेको ४० वर्ष पुरानो दुर्गा पाञ्चायन मन्दिरको जिर्णाेद्वारा तथा आश्रम निर्माण गर्ने उद्देश्यले धार्मिक महोत्सव गर्न लागिएको महायज्ञका संकल्पकर्ता एवं कथा वाचक आचार्य शीतलकृष्णजी महाराजले बताए । ऋषिमुनिहरुको तपोभूमिको रुपमा रहेको पवित्र त्रिशूली र कालीगण्डकी नदीको संमगमा माघ महिनामा स्नान गर्नाले ठुलो पूण्य प्राप्त हुने जनविश्वास छ । सोही अनुसार देवघाटमा मकर स्नान गर्न भक्तजनलाई निमन्त्रणा गर्ने उद्देश्यले माघ १९ देखि २९ गतेसम्म शतचण्डी महायज्ञ एवम् देवघाट माघ महोत्सव आयोजना गरिएको शीतलकृष्णले बताए ।
दुर्गा पान्चायन मन्दिरको रुपमा चिनिने श्री राम राम मन्दिरमा ४० वर्षदेखि अखण्ड रुपमा बलिरहेको अग्निधुनीमा महायज्ञको अवसरमा आफ्नै घरबाट लगेको चरु हवन गर्न पाइने महायज्ञका उनले बताए । महायज्ञको क्रममा तनहुँतर्फ मन्दिर रहेको स्थानमा १११ पटक चण्डीपाठ पारायण तथा अग्निधुनीमा चरु हवनको हुने तथा चितवन तर्फ नारायणी नदी किनारमा निर्माण गरिएको पण्डालभित्र नियमित कथा वाचन, भजनकीर्तन एवम् लिलासहित साँझमा गण्डकी आरती हुने जनाइएको छ ।
धार्मिक अनुष्ठानमा विश्वविख्यात भातवत कथा वाचक देवी प्रतिभा सहित आचार्य शीतलकृष्ण, ईश्वरकृष्ण, प्रशान्तकृष्ण परंकुश, ऋषिकेश पोखरेललगायतले कथा वाचन गर्ने बताइएको छ । कथा वाचनको लागि देवी प्रतिभा दोश्रो पटक देवघाट आएकी छिन् । देवी प्रतिभाले माघ २७ गतेसम्म कथा वाचन गर्ने जनाइएको छ ।
धार्मिक अनुष्ठान मार्फत राष्ट्रको शान्ति तथा समाजको समृद्धि र मानव कल्याणको कामना गरिने छ । उक्त माघ–महोत्सवमा देशका विभिन्न स्थानबाट श्रद्धालु भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको महोत्सवका प्रचार–प्रसार संयोजक कपिलदेव भुषालले बताए । माघ महिनाको पवित्र अवसरमा आयोजना हुने यस धार्मिक पुण्य लाभ लिन सबै श्रद्धालु भक्तजनहरुमा महोत्सवका संयोजक तथा दुर्गा पाञ्चायन मन्दिरका अध्यक्ष गोपिचन्द्र भुषालले अनुरोध गरे ।





प्रतिकृया दिनुहोस्