एआई सिर्जित तस्बिर ।
नवलपुर । माघ २१ गते बुधबार बिहान घरको आँगनमा खेलिरहेका करिब तीन वर्षको एक जना बालकलाई गैँडाले आक्रमण गर्यो । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ स्थित ब्रम्हस्थानका शिवान्स रेग्मीलाई गैँडाले सिङ (खाग)ले उचालेर फालिदिँदा उनको टाउकोमा चोट लागेको छ ।
त्यस्तै २० गते मङ्गलबार दिउँसो १२ बजेको समयमा ब्रम्हस्थानको छिमेकी गाउँ कावासोती–१७ अमलटारीमा घाँस काट्दै गरेका युवालाई गैँडाले आक्रमण गर्यो । घर नजिकै बारीमा घाँस काट्न गएका ४० वर्षीय हेमबहादुर कुमाललाई गैँडाले आक्रमण गर्दा उनको शरीरमा भित्री चोट लागेको छ । गैँडाको आक्रमणबाट घाइते भएका दुवै जनाको कावासोती–१६ डण्डामा रहेको मध्यविन्दु प्रादेशिक अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
गाउँ नजिकै रहेको चितवन राष्ट्रिय निकुञ्ज तथा अमलटारी मध्यवर्ती सामुदायिक वनबाट गाउँमा पसेको गैँडाको कारण स्थानीय बासिन्दा त्रासमा बस्न बाध्य भएका छन् । “दिउँसो पनि घर बाहिर बस्ने अवस्था छैन” स्थानीय रामबहादुर बोटेले पीडा झल्काउँदै गुनासो गर्नुभयो, “कतिबेला कताबाट गैँडा आएर आक्रमण गर्छ कि भन्ने त्रासमा बस्न बाध्य भएका छौँ ।” गाउँमा केही दिनदेखि तीन वटा गैँडा पसेका कारण आफूहरुलाई दैनिक काममा निस्कनसमेत डर भएको बोटेले गुनासो गर्नुभयो ।
“रातिको समयमा त हामी घरबाट बाहिर निस्कने अवस्था पहिला पनि हुँदैनथ्यो” उहाँले भन्नुभयो, “झन् अहिले त दिनमा पनि कतै पछाडिबाट गैँडा आएर हान्छ कि भन्दै डराएर घर बाहिर काममा निस्कन सकेका छैनौँ ।” गाउँ पसेको गैँडामध्ये एउटा गैँडाको साथमा बच्चासमेत रहेको भन्दै बोटेले बच्चासँगको गैँडा धेरै आक्रामक हुने गरेको बताउनुभयो । नदीमा माछा मारेर माछा माछा बिक्रीबाट आउने पैसाले जीविको पार्जन गर्दै आएको उल्लेख गर्दै उहाँले यस क्षेत्रका बासिन्दा सधैँ जङ्गली जनावरको त्रासमा बाँच्नुपरेको गुनासो गर्नुभयो ।
स्थानीय राधिका रेग्मीले दिनहुँ घर अगाडिबाट गैँडा हिँड्दा घर बाहिर निस्कने सक्ने अवस्था नरहेको बताउनुभयो । “घरमा साना साना केटाकेटीहरु छन्, घर बाहिर खेलेको बेला कतैबाट गैँडा निस्केर हान्ने पो हो की भन्ने पीर मनमा सधैँ रहन्छ” उहाँले भन्नुभयो, “हाम्रो आमा (सासु)लाई त गैँडाले पछिल्लोपटक दुई वर्ष अगाडि र त्यसभन्दा अघिल्लो वर्ष पनि गरी दुईपटकसम्म हानेर घाइते बनाएको थियो, उपचारपछि उहाँ ठीक त हुनुभयो तर गैँडाको डर पहिलेको जस्तै छ ।” पहिलोपटक गैँडाले हान्दा उहाँकी आमा नारायणी नदीमा स्नान गर्न जाने बेला बाटोमा एकपटक र अर्को पटक घर पछाडि बारीमा घाँस काट्न गएको बेला गैँडाले आक्रमण गरेको रेग्मीले स्मरण गर्नुभयो ।
ब्रम्हस्थानमा मात्रै विभिन्न समयमा गैँडाको आक्रमणमा परी घाइते भएकाको सङ्ख्या १० जना भन्दा बढी रहेको स्थानीय फणिन्द्रादेवी पौडेलले बताउनुभयो । “घर नजिकैबाट नारायणी गङ्गा बगेकी छिन् । बिहान गङ्गामा स्नान गर्न जाँदा पनि गैँडाले हान्ने डरले हिजोआज नदीमा जानै छोडेका छौँ” उहाँले भन्नुभयो, “छोराहरु सबै विदेश छन्, घर बाहिर निस्किएको बेला गैँडाले हान्यो भने पनि गुहार (उद्धार) नपाई मरिन्छ की भन्ने डरमा बस्नु परेको छ ।’ यस क्षेत्रका बासिन्दाहरु सधैँभरी निकुञ्ज र मध्यवर्ती क्षेत्रबाट आउने वन्यजन्तुको त्रासमा बस्नुपरेको पौडेलले गुनासो गर्नुभयो ।
“जङ्गलबाट निस्कने जनावरले कहिले अन्नबाली खाइदिन्छ, कहिले गाउँमा खेल्दै गरेका केटाकेटी, काम गर्दै गरेका तथा गङ्गामा स्नान गर्न गएका मान्छेलाई हानेर घाइते बनाउने गरेको छ” उहाँले भन्नुभयो, “जङ्गली जनावरले घाइते बनाएको मानिसलाई निकुञ्जले उपचार खर्चको व्यवस्था गर्ने गरेको भए पनि अन्नबालीमा क्षति पुर्याउँदा पीडित किसानले राहत पाउन सकेका छैनन् ।” जिल्लाको मध्यवर्ती क्षेत्रमा रहेका मध्यविन्दु, कावासोती, देवचुली र गैँडाकोट नगरपालिकाका अधिकांश क्षेत्रमा वन्यजन्तुको त्रास सधैँ रहने गरेको छ । यस क्षेत्रमा गैँडासहित जङ्गली जनावर बँदेल, हरिणलगायतका जनावरको कारण मानव वन्यजन्तु द्वन्द्वसमेत बढ्दै गएको छ ।
मध्यविन्दु–३ ब्रम्हस्थानका हुमनाथ उपाध्यायले यहाँ चुनावको बेलामा भोट माग्न आउने उम्मेदवारहरुले वन्यजन्तु समस्या समाधान गरिदिन्छौँ भनेर आश्वासन बाँड्ने गरेका भए पनि अझैसम्म समस्या समाधान हुन नसकेको बताउनुभयो । “नेताहरु भोट माग्न आउँछन्, चुनावको बेलामा मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा काम गर्छौँ भनेर भन्छन्” उहाँले भन्नुभयो, “जनतालाई आश्वासन बाँड्दै चुनाव जितेर गएपछि उनीहरुले हामीमाझ गरेको सबसै बाचा र प्रतिबद्धता बिर्सिन्छन् ।” जङ्गली जनावरको आक्रमणबाट जनतालाई जोगाउँछौँ भन्ने विषय चुनावी एजेण्डमात्रै हुने गरेको उपाध्यायले गुनासो गर्नुभयो ।





प्रतिकृया दिनुहोस्