नवलपुर । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा आगामी फागुन १ देखि किशोरीहरुका लागि एचपीभी (ह्युमन प्यापिलोमा भाइरल) खोप अभियान सञ्चालन गरिने भएको छ ।
प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रमुख जनस्वास्थ्य प्रशासक केशकप्रसाद चापागाईंकाअनुसार जिल्लामा फागुन १४ गतेसम्म सञ्चालन हुने खोप अभियानबाट तीन हजार पाँच सय ९५ जना किशोरीहरु लाभान्वित हुनेछन् । जिल्लामा रहेका सामुदायिक र संस्थागत विद्यालयमा अध्ययन गर्ने तथा विद्यालय नजाने किशोरीहरुलाई लक्षित गरेर खोप अभियान सञ्चालन गर्न लागिएको चापागाईंले जानकारी दिनुभयो ।
“जिल्लाका सबै विद्यालयमा कक्षा ६ मा अध्ययन गर्ने तीन हजार पाँच सय ६७ जना छात्रा, अघिल्लो खोप अभियानमा छुटेका कक्षा ७ देखि १० सम्मका २८ छात्रा एवम् समुदायमा रहेका विद्यालय नजाने १० वर्ष उमेरका १० जना तथा अघिल्लोपटक छुटेका ११ देखि १४ वर्ष उमेरमा २० जना गरी तीन हजार पाँच सय ९५ जनालाई एचपीभी खोप लगाइँदैछ” उहाँले भन्नुभयो, “यो खोप पूर्णरुपमा सुरक्षित रहेकाले सम्पूर्ण किशोरीहरुलाई खोप लगाउन अनुरोध गर्दछौँ ।”
आठ वटा पालिका रहेको जिल्लामा फागुन १ देखि १० गतेसम्म कावासोती नगरपालिकामा खोप अभियान सञ्चालन हुने उहाँको भनाइ छ । “सबैभन्दा बढी खोप लगाउनुपर्ने बालिकाहरु कावासोतीमा छन्” उहाँले भन्नुभयो, “कावासोतीमा ८१० जना किशोरीलाई खोप लगाउँदा सबैभन्दा कम बौदीकाली गाउँपालिकामा एक सय दुई जना किशोरीलाई खोप लगाइँदैछ ।” बौदीकाली गाउँपालिकामा फागुन ११ देखि १३ गतेसम्म खोप अभियान सञ्चालन हुने उहाँले जानकारी दिनुभयो ।

त्यस्तै, बुलिङटार गाउँपालिकामा फागुन ४ दखि ११ गतेसम्म एक सय ११ जना किशोरी, मध्यविन्दु नगरपालिकामा फागुन ४ देखि १३ गतेसम्म पाँच सय ५२ किशोरी, विनयी त्रिवेणी गाउँपालिकामा फागुन १० देखि १३ गतेसम्म तीन सय ८४ किशोरीलाई एचपीभी खोप लगाइने चापागाईंले बताउनुभयो । उहाँकाअनुसार देवचुली नगरपालिकामा फागुन १० देखि १४ सम्म ६ सय ३५ जना, फागुन १० देखि १२ सम्म हुप्सेकोट गाउँपालिकामा दुई सय ७१ जना, गैँडाकोट नगरपालिकामा फागुन १० देखि १३ सम्म सात सय ३० जना किशोरीलाई एचपीभी खोप लगाइँदैछ ।
कार्यालयका खोप सेवा ल्याब असिस्टेन्ट खरेल प्रसाद चौधरीले जिल्लामा खोप अभियान सञ्चालनका लागि तीन सय ३९ जना स्वास्थ्यकर्मी एवम् सोही सङ्ख्या स्वयम्सेवक परिचालन गरिने जानकारी दिनुभयो । खोप अभियानका लागि जिल्लामा पर्याप्त खोप आइसकेको भन्दै उहाँले तीन हजार नौ सय ९० भायल खोप सुरक्षित भण्डार भइसकेको जानकारी दिनुभयो । खोप सञ्चालन गर्न स्वास्थ्यकर्मी तथा स्वयम्सेवकलाई तालीम एवम् अभिमुखीकरण, खोपकार्ड, खोप रजिष्टर, सेफ्टी बक्स, खोप र एडी सिरिञ्ज तयारी अवस्थामा राखिएको चौधरीले बताउनुभयो ।
खोप अभियान सञ्चालनका लागि जिल्लाका कक्षा ६ देखिमाथि पढाइ हुने एक सय ७४ विद्यालय नै खोप केन्द्र हुने भन्दै ल्याब असिस्टेन्ट चौधरीले सामुदायमा थप ७५ वटा खोप केन्द्र सञ्चालन हुने जानकारी दिनुभयो । बुलिङटार गाउँपालिकामा विद्यालयलाई मात्रै खोप केन्द्र तोकिएको छ भने अन्य पालिकामा भने समुदायमा पनि खोप केन्द्र रहेका चौधरीको भनाइ छ ।





प्रतिकृया दिनुहोस्