नवलपुर । नवलपुरको गैँडाकोटमा जिल्लाकै ठूलो धन राशिको राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । आगामी फागुन १ देखि गैँडाकोटमा हुने पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी प्रतियोगिताको विजेताले उपाधिसहित रु तीन लाख पुरस्कार हात पार्नेछ ।
गैँडाकोट–९ स्थित नवजागरण खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको उपविजेताले रु दुई लाख परस्कार पाउने मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । प्रतियोगितामा सात वटा प्रदेशबाट सात टिम तथा आयोजक नवजागरण ग्रामीण विकास केन्द्रको मेयर्स ११ गरी आठ टीमको सहभागिता रहने प्रतियोगिता संयोजक एवम् नवजागर ग्रामीण विकास केन्द्रका अध्यक्ष रामचन्द्र सापकोटाले जानकारी दिनुभयो । उहाँकाअनुसार प्रतियोगिताको म्यान अफ दी सिरिजले रु २५ हजार, उत्कृष्ट ब्याटर, बलर, फिल्डर तथा किपरले रु १५ हजारका दरले पुरस्कार पाउने छन् ।
त्यस्तै, बेस्ट क्याच अफ दी टुर्नामेन्टले रु १० हजार, प्रत्येक खेलको म्यान अफ दी म्याचले रु पाँच हजार एवम् नव प्रतिभा खेलाडीलाई विशेष प्रोत्साहन पुरस्कार प्रदान गरिने सापकोटाको भनाइ छ । आइसीसी र क्यानको नियमअनुसार प्रतियोगिता सञ्चालन हुने भन्दै सापकोटाले प्रतियोगिता सम्पन्न गर्न रु ५२ लाख खर्च हुने अनुमान गरिएको बताउनुभयो । प्रतियोगितामा पुरस्कारवापत मात्रै रु ६ लाख ३० हजार खर्च हुने उहाँको भनाइ छ ।
प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा गैँडाकोटका नगरप्रमुख मदनभक्त अधिकारीले प्रतियोगिताको ट्रफी अनावरण गर्दै खेल तालिका (टाइसिट) सार्वजनिक गर्नुभयो । राष्ट्रिय तथा उदाउँदा क्रिकेट खेलाडीहरुलाई यस प्रतियोगिताले अझै अगाडि बढ्न सहयोग पु¥याउने नगरप्रमुख अधिकारीले बताउनुभयो । स्थानीयस्तरका प्रतीभाशाली खेलाडीहरुलाई राष्ट्रिय पहिचान दिलाउन, युवाहरुलाई खेलकुदमार्फत अनुशासन, नेतृत्व र सकारात्मक सोचतर्फ प्रेरित गर्न एवम् गैँडाकोटलाई राष्ट्रिय खेलकुदको गन्तव्यको रुपमा स्थापित गर्न प्रतियोगिताले सकारात्मक भूमिका खेल्ने अधिकारीको भनाइ छ ।
गैँडाकोट नगर खेलकुद विकास समितिका अध्यक्ष धामनाथ सापकोटाले प्रतियोगितामा राष्ट्रियस्तरका खेलाडीहरु सहभागी हुने जानकारी दिनुभयो । आयोजकको तर्फबाट मोयर्स ११ टिम तयारी भइरहेको भन्दै उनले बुधबारसम्म खेलाडी छनौट भइसक्ने बताउनुभयो । फागुन ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेल फागुन १ गते आयोजक मेयर्स ११ र कर्णाली प्रदेशबीच हुने जनाइएको छ ।





प्रतिकृया दिनुहोस्