चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार टेकप्रसाद गुरुङ पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा निष्ठा, संघर्ष र संगठनको पर्याय बनेका नाम हुन् । पञ्चायतकालीन दमनदेखि २०६२/६३ को जनआन्दोलन, संविधान निर्माणदेखि हालै देखिएको जेन्जी आन्दोलनसम्म उहाँको राजनीतिक जीवन सधैँ समयको आवाजसँग जोडिएको छ । अनुभवले परिपक्व र परिवर्तनप्रति खुला सोच भएका गुरुङ आज पनि नयाँ पुस्ताको असन्तोष, प्रश्न र अपेक्षालाई गम्भीरतापूर्वक सुन्ने नेताको रूपमा चिनिनुहुन्छ ।
पारिवारिक पृष्ठभूमि :
विसं २००४ सालमा स्याङ्जा जिल्लाको ढापुक सिमलभन्ज्याङमा जन्मिनुभएका टेकप्रसाद गुरुङ राष्ट्रसेवाको परम्पराबाट आएका परिवारका सन्तान हुनुहुन्छ । उहाँका हजुरबुवा इन्डियन आर्मीका क्याप्टेन र बुवा पनि इन्डियन आर्मीमै कार्यरत हुनुहुन्थ्यो । गुरुङ समुदायमा जन्मिनु भएका उहाँ साधारण तर अनुशासित परिवारमा हुर्कनुभयो । विसं २०१७ सालमा वैवाहिक जीवनमा बाँधिनुभएका उहाँका तीन छोरा र दुई छोरी हुनुहुन्छ ।
बाल्यकाल र प्रारम्भिक जीवन :
जन्मेको दुई वर्षमै बुवासँग भारतको ब्यारेकपुर पुग्नुभएका गुरुङले त्यहीँ कक्षा चारसम्म अध्ययन गर्नुभयो । विसं २०१२ सालमा नेपाल फर्किएपछि स्याङ्जा हुँदै बुवाको अवकासपछि विसं २०१७ सालमा हालको शारदानगर, चितवन बसाइँ सर्नुभयो । बाल्यकालदेखि नै निर्भीक, हक्की स्वभाव र खेलकुदप्रेमी उहाँको घर कांग्रेसका गतिविधिको केन्द्रजस्तै थियो, जहाँ राजनीतिक छलफल र संगठन निर्माणका काम हुने गर्थे ।
शिक्षा :
विसं २०२२ सालमा शारदानगर स्कुलबाट एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि काठमाडौं जानुभएका गुरुङले आई.एलको अध्ययन सुरु गर्नुभयो । तर बुवाको असामयिक निधनले पारिवारिक जिम्मेवारी काँधमा आइपरेपछि औपचारिक शिक्षा बीचमै रोकियो । यद्यपि व्यवहारिक ज्ञान, राजनीतिक चेतना र संगठनात्मक क्षमतामा उहाँ कहिल्यै पछि पर्नुभएन ।
राजनीतिक यात्राको सुरुआत :
कांग्रेस पृष्ठभूमिमा हुर्कनुभएका गुरुङलाई विसं २०१५ सालकै निर्वाचनको स्मृति आज पनि ताजा छ, जब उहाँ बालक उमेरमै झण्डा बोकेर ‘रुखमा भोट हालौँ’ भन्दै गीत गाउँदै हिँड्नुहुन्थ्यो । २०१८ सालको सैन्य दमन, धरपकड र निर्दोष नागरिकको हत्या उहाँले नजिकबाट देख्नुभयो । ती घटनाले उहाँ डराउनु भएन, बरु प्रजातन्त्रप्रतिको प्रतिबद्धता अझ दृढ बनायो ।
पञ्चायत विरुद्धको संघर्ष र नेतृत्व :
विद्यालयमा अध्यापन गरिसकेपछि उहाँ वडा अध्यक्ष हुँदै २०२९ सालमा गाउँ पञ्चायत अध्यक्ष निर्विरोध निर्वाचित हुनुभयो। २०३५ सालमा शिवनगर, पार्वतीपुर र शारदानगरको एउटा वार्ड गाभिएपछि प्रधानपञ्च र त्यसै वर्ष जिल्ला विकास समिति सभापति बन्नुभयो । २०३६ सालको जनमतसंग्रहमा कांग्रेस पक्षमा खुलेर वकालत गरेकै कारण २०३७ सालमा पञ्चायत सरकारले उहाँलाई पदबाट निलम्बन गर्यो । सत्ता गयो, तर विचार र साहस कहिल्यै डगमगाएन ।
कांग्रेस संगठन निर्माणमा भूमिका :
विसं २०३९ र २०४३ सालमा जिल्ला सभापति निर्वाचित हुँदै उहाँ पाँच पटकसम्म चितवन कांग्रेसको नेतृत्वमा रहनुभयो । कांग्रेसको आठौं देखि १४औं महाधिवेशनसम्म निरन्तर महासमिति सदस्य र १४औं महाधिवेशनबाट केन्द्रीय सदस्यसम्म पुग्दा पनि उहाँको पहिचान सधैँ संगठन निर्माणमा खटिने नेताकै रूपमा रह्यो ।
शीर्ष नेतृत्वसंग निकटता :
बीपी कोइरालालाई विसं २०१६ सालमै देख्नुभएको र २०३२ सालमा प्रत्यक्ष भेट गर्नुभएको गुरुङ जमानसिंह गुरुङमार्फत बीपी, किसुनजी र गिरिजाप्रसाद कोइरालासँग नजिक रहेर काम गर्नुभयो । यही संगतले उहाँलाई सैद्धान्तिक रूपमा दृढ र व्यवहारिक रूपमा सन्तुलित नेता बनायो ।
पदभन्दा पार्टी र सिद्धान्त :
विसं २०६२/६३ को जनआन्दोलनमा काठमाडौँको गोंगबु क्षेत्रमा नेतृत्व गर्दै प्रहरीको कुटपिटबाट घाइते हुनु, ४९ दिन जेल जीवन बिताउनु र फेरि आन्दोलनमै फर्किनु उहाँका लागि राजनीतिक जिम्मेवारीका स्वाभाविक अध्याय थिए । विसं २०७० सालमा संविधानसभा चुनावमा उम्मेदवारीको प्रस्ताव आए पनि पार्टी हितका लागि पछि हट्नु र मन्त्री बन्ने प्रस्ताव अस्वीकार गर्नुले उहाँको राजनीतिक नैतिकता स्पष्ट देखाउँछ ।
गगन थापासहित नयाँ पुस्ताको भरोसा :
हालैको जेन्जी आन्दोलनलाई गुरुङ असन्तोषको अभिव्यक्ति मात्र होइन, प्रणाली सुधारको चेतावनीका रूपमा हेर्नुहुन्छ । कांग्रेस अब इतिहासको गौरवमा होइन, युवाको भरोसामा टिक्नुपर्छ भन्ने उहाँको धारणा छ । पार्टीमा कम्तीमा ५० प्रतिशत जेनेरेशन–नेक्स्टको सहभागिता हुनुपर्ने अडानकै कारण उहाँ गगन थापालगायत नयाँ पुस्ताका नेताबीच विश्वासको पात्र बन्नुभएको छ ।
चितवन–३ का प्रमुख मुद्दा र विकास पहल :
माडीलाई ‘प्राकृतिक जेल’बाट मुक्त गर्न राप्ती पुल निर्माणमा निर्णायक पहल, गर्दी–ठोरी सडक स्तरोन्नति र चेपाङ समुदायलाई नागरिक अधिकार तथा निःशुल्क शिक्षाको व्यवस्था गर्नु उहाँका महत्वपूर्ण योगदान हुन् । यी कामले उहाँलाई विकासलाई व्यवहारमा उतार्ने नेता बनाएको छ ।
राजनीतिक जीवनका चुनौती र विश्वास :
पाँच दशकको यात्रामा हार, अपमान र उपेक्षा धेरै आए । तर उहाँ कहिल्यै थाक्नुभएन। “कांग्रेसको एक मत पनि खेर गएन भने म जित्छु” भन्ने आत्मविश्वास लोभ–लाभबाट टाढा बसेको जीवनशैली र निष्ठाबाट आएको हो ।
पारिवारिक साथ र व्यक्तिगत पीडा :
राजनीतिक यात्रामा श्रीमतीको निरन्तर सहयोग उहाँको शक्ति थियो । श्रीमतीको निधन उहाँको जीवनको सबैभन्दा ठूलो पीडा बने पनि पार्टी र जनताले देखाएको विश्वास उहाँका लागि सबैभन्दा ठूलो सन्तोष हो ।
निष्कर्ष :
टेकप्रसाद गुरुङ पदका लागि होइन, पुस्ताबीच सेतु बन्न उम्मेदवार हुनुहुन्छ । अनुभव, इमान्दारिता र परिवर्तनप्रतिको खुला सोचका कारण उहाँ आज चितवन–३ का लागि भूत, वर्तमान र भविष्यलाई जोड्ने भरोसायोग्य नेतृत्वका रूपमा उभिनु भएको छ ।





प्रतिकृया दिनुहोस्