नवलपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनमा दुई वटा क्षेत्र रहेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा १२ जना उम्मेदवारलेमात्रै घोषणापत्र बुझाएका छन् । दुईवटा क्षेत्रमा गरी जम्मा ३४ जना उम्मेदवार रहेकामा १२ जना उम्मेदवारले मात्रै आफ्नो घोषणापत्र बुझाएका हुन् ।
नवलपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रेम प्रसाद पौडेलले निर्वाचन क्षेत्र नम्बर १ मा ६ जना उम्मेदवारले मात्रै आफ्नो घोषणापत्र बुझाएका जानकारी दिनुभयो । निर्वाचन आयोगले फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन गरेको आह्वानअनुसार यहाँ नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टीलगायतका उम्मेदवारले घोषणापत्र बुझाएका पौडेलको भनाइ छ । फागुन २१ मा हुने निर्वाचनका लागि यस क्षेत्रबाट राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी १६ जना चुनावी मैदानमा रहेका उहाँले बताउनुभयो ।
त्यस्तै निर्वाचन अधिकृतको कार्यालय नवलपुर–२ का सूचना अधिकारी युवराज पन्थीकाअनुसार यहाँ एक जना स्वतन्त्र उम्मेदवारसहित ६ जना उम्मेदवारले आफ्नो घोषणापत्र बुझाएका छन् । पन्थीकाअनुसार नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी, आम जनता पार्टी र एक जना स्वतन्त्र उम्मेदवारले मात्रै घोषणापत्र निर्वाचन अधिकृतको कार्यालयमा बुझाएका छन् । यस क्षेत्र राजनीतिक पार्टी र स्वतन्त्र गरी १८ जना उम्मेदवार चुनावी मैदानमा छन् ।





प्रतिकृया दिनुहोस्