नवलपुर । नवलपुरको दुवै निर्वाचन क्षेत्रको मतगणना कावासोतीको कुमारवर्ती बहुमुखी क्याम्पसमा गरिने भएको छ ।
मतगणनाका लागि क्याम्पसका चार वटा कोठामा मतगणनास्थल तयार पारिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रेमप्रसाद पौडेलले जानकारी दिए । ‘मतगणनालाई सुरक्षित बनाउनका लागि तारजालीको घेरा र सिसी टिभी क्यामेराको निगरानी हुनेछ’ उनले भने, ‘चार वटै कोठामा तारजाली लगाउने काम र सिसी टिभी क्यामेरा जोड्ने काम सकिएको छ ।’
जिल्लाको दुवै क्षेत्रको मतगणना दुई दुई वटा कोठामा गर्ने गरी तयारी भएको पौडेलले जानकारी दिए । मतदान सकिएपछि मतपेटिका आउन सुरु हुने भन्दै उनले नजिकैको केन्द्रबाट साँझ ५ः३० बजेबाट मतपेटिका आउने अनुमानसहित तयारी थालिएको बताए । ‘नजिकैको केन्द्रबाट साँढे ५ बजेबाट मतपेटिका आउन सुरु हुन्छ’ उनले भने, ‘टाढाको केन्द्रबाटसमेत राति १२ बजेभित्र मतपेटिका आइसक्ने हाम्रो अपेक्षा गरेको छ ।’
जिल्लाका ११४ मतदानस्थलका ३११ वटै मतदान केन्द्रबाट मतपेटिका आएपछि सर्वदलीय बैठक बसेर मतगणनाको काम अगाडि बढाउने उनले बताए । ‘मतगणना सुरु भएको दुई दिनभित्र अन्तिम मतपरिणाम घोषणा गर्ने हाम्रो तयारी छ’ उनले भने, ‘मतगणना कसरी गर्ने भन्ने विषयमा एकखालको तयारी सकिएको छ ।’





प्रतिकृया दिनुहोस्