नवलपुर । नवलपुरको दुवै निर्वाचन क्षेत्रका ११४ वटा मतदानस्थलमा रहेका ३११ वटै मतदान केन्द्रबाट मतदान सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालय नवलपुरकाअनुसार सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि नै शान्तिपूर्णरुपमा मतदान सुरु भएको हो ।
मतदानका लागि बिहानैदेखि मतदाताहरु लामबद्ध भएर मतदानस्थलमा बसेका छन् । आज भइरहेको मतदानलाई शान्तिपूर्णरुपमा सम्पन्न गर्नका लागि सबै जना जिम्मेवार ढङ्गबाट प्रस्तुत हुन जिल्ला प्रशासन कार्यालय नवलपुरले आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले मतदानका क्रममा कुनै अप्रीय घटना हुन नदिनका लागि जिल्लामा उच्च सतर्कता अपनाइएको बताउनुभयो ।
“शान्तिपूर्णरुपमा निर्वाचनलाई सम्पन्न गर्नका लागि चारवटै सुरक्षा निकाय ‘हाइ अलर्ट’मा छ” उहाँले भन्नुभयो, “मतदानस्थलमा पर्याप्त सुरक्षा व्यवस्था गरिएको छ, थप मद्दत आवश्यक परेमा १० मिनेटभित्र पुग्नेगरी तयारी गरिएको छ ।” मतदान शान्तिपूर्णरुपमा भइरहेको भन्दै उहाँले धेरै मतदाताहरु बिहानैदेखि मतदानका लागि तयारी अवस्थामा रहेका बताउनुभयो । “मतदानस्थलमा सकेसम्म मतदाताले दुःख नपाउन् भनेर हामीले तयारी गरेका छौँ” उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, अशक्त तथा अपाङ्ग मतदाताले लाइनमा बस्नु पर्दैन ।”
जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालले जिल्लामा मतदानका लागि एक हजार ८६९ जना कर्मचारी परिचालन गरिएको बताउनुभयो । कर्मचारी र सुरक्षाकर्मीसहित जिल्लामा निर्वाचनका लागि पाँच हजार भन्दा बढी जनशक्ति परिचालन गरिएको उहाँको भनाइ छ । निर्वाचनलाई शान्तिपूर्ण र सहजरुपमा सम्पन्न गराउनका लागि हरेक मतदान केन्द्रमा एक जना मतदान अधिकृतसहित आठ जना कर्मचारी खटाइएको उहाँले बताउनुभयो ।
दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको नवलपुरमा कुल दुई लाख ६८ हजार ५२६ मतदाता रहेका छन् । यहाँको निर्वाचन क्षेत्र नं १ मा एक लाख ३७ हजार ८१ मतदाता एवम् क्षेत्र नं २ मा एक लाख ३१ हजार ४४५ मतदाता छन् । जिल्लामा एउटा अस्थायी मतदान स्थलसहित जम्मा ११४ मतदानस्थलमा ३११ मतदानकेन्द्र कायम गरिएको छ ।
कावासोती नगरपालिका–२ स्थित शिव मावि मतदानस्थलमा अस्थायी मतदान केन्द्र कायम गरिएको छ । यहाँ मतदानमा खटिने कर्मचारी, सुरक्षाकर्मीलगायत तीन हजार ४४२ जनाले मतदान गर्नेछन् । सरकार, प्रदेश सरकार, स्थानीय तह, सरकारको स्वामित्वमा रहेका संस्थामा कार्यरत कर्मचारी, सेना, प्रहरी, कारागारका थुनुवा र कैदी, निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मी संवैधानिक निकायका प्रमुख तथा पदाधिकारको नाम अस्थायी मतदाता नामावलीमा समावेश हुने गर्दछ ।





प्रतिकृया दिनुहोस्