नवलपुर । नवलपुरमा ६१ प्रतिशत मतदान भएको छ । प्रतिनिधिसभा सदस्यको दुई वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल एक लाख ६४ हजार ७८८ मत खसेको हो ।
नवलपुरका जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालले जिल्लामा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको जानकारी दिनुभयो । उहाँअनुसार दुई लाख ६८ हजार ५२६ मतदाता रहेको जिल्लामा एक लाख ६८ हजार ५२६ मत खसेको हो । जिल्लाको दुवै निर्वाचन क्षेत्रका ११४ वटा मतदानस्थलमा रहेका ३११ वटा मतदान केन्द्रबाट मतदान भएको थियो ।
भुसालकाअनुसार जिल्लामा ९३ हजार ७०६ महिला, ७१ हजार ८० पुरुष तथा दुई जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मानिसले मतदान गरेका छन् । निर्वाचन क्षेत्र नम्बर १ मा ४७ हजार ५७८ महिला, ३७ हजार ४०७ तथा एक जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक गरी ८४ हजार ९८६ जनाले मतदान गरेका छन् । त्यस्तै क्षेत्र नम्बर २ मा ४६ हजार १२८ महिला, ३३ हजार ६७३ पुरुष एवम् एक जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक गरी ७९ हजार ८०२ जनाले मतदान गरेका भुसालको भनाइ छ ।
तारजालीको घेराभित्र मतगणना
नवलपुरको दुवै निर्वाचन क्षेत्रको मतगणना कावासोती–३ को कुमारवर्ती बहुमुखी क्याम्पसमा गरिँदैछ । मतगणनाका लागि क्याम्पसका चार वटा कोठामा मतगणनास्थल तयार पारिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रेमप्रसाद पौडेलले जानकारी दिनुभयो । “मतगणनालाई सुरक्षित बनाउनका लागि तारजालीको घेरा र सिसी टिभी क्यामेराको निगरानी हुनेछ” उहाँले भन्नुभयो, “चार वटै कोठामा तारजाली लगाउँदै सिसी टिभी क्यामेरा जडान गरिएको छ ।”
जिल्लाको दुवै क्षेत्रको मतगणना दुई दुई वटा कोठामा गर्ने गरी तयारी भएको पौडेलले जानकारी दिनुभयो । मतदान सकिएपछि मतपेटिका आउने क्रम सुरु भइसकेको भन्दै उहाँले रातिको १२ बजेभित्र जिल्लाको सबै मतदानस्थलबाट मतपेटिका आइसक्ने बताउनुभयो । “जिल्लाको पहाडी क्षेत्रको मतदान केन्द्रबाटसमेत राति १२ बजेभित्र मतपेटिका आइसक्ने हाम्रो अपेक्षा रहेको छ” उहाँले भन्नुभयो ।
जिल्लाका ११४ मतदानस्थलका ३११ वटै मतदान केन्द्रबाट मतपेटिका आएपछि सर्वदलीय बैठक बसेर मतगणनाको काम अगाडि बढाउने उहाँले बताउनुभयो । “मतगणना सुरु भएको दुई दिनभित्र अन्तिम मतपरिणाम घोषणा गर्ने हाम्रो तयारी छ” उहाँले भन्नुभयो, “मतगणना कसरी गर्ने भन्ने विषयमा एकखालको तयारी सकिएको छ ।”





प्रतिकृया दिनुहोस्