आनन्द पोखरेल
नवलपुर । नवलपरासीमा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गतका चार वटै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार निर्वाचित हुनुभएको छ । यो क्षेत्र नेकपा (एमाले) र नेपाली काँग्रेस तथा क्षेत्रीय दल जनता समाजवादी पार्टी नेपालको पकड क्षेत्रको रुपमा मानिदै आएको थियो ।
नेपाली काँग्रेसको किल्लाको रुपमा लिने गरिएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार राजन गौतमले गण्डकी प्रदेशकै सबैभन्दा बढी मत ल्याएर निर्वाचित हुनुभयो । गण्डकी प्रदेशभरी गौतमबाहेक कुनै पनि निर्वाचित उम्मेदवार ५० हजार मत कटाउन सक्नुभएको छैन । गौतम यहाँबाट ५० हजार ९४५ मतसहित निर्वाचित हुनुभयो ।
विसं २०४७ सालको निर्वाचनपछाडि यस क्षेत्रबाट काँग्रेसका उम्मेदवार निर्वाचित हुँदै आएका थिए । विसं २०६४ पछिका हरेक निर्वाचनमा यहाँबाट नेपाली काँग्रेसका नेता प्राडा शशांक कोइराला निर्वाचित हुँदै आउनुभएको मा अहिले काँग्रेसका उम्मेदवार बालकृष्ण घिमिरेले १६ हजार २९३ मतमात्रै प्राप्त गर्नुभयो । यहाँ नेकपा एमालेका उम्मेदवार भागिरथ सापकोटाले नौ हजार १३१, श्रम संस्कृति पार्टीका भीमचन्द्र गुरुङले एक हजार ७०२ तथा नेपाली कम्युनिष्ट पार्टीका लोकप्रसाद भुर्तेलले एक हजार २४५ मत प्राप्त गर्नुभयो ।
नेकपा (एमाले)को ‘गढ’ मानिएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपाका २६ उम्मेदवार मनीष खनाल निर्वाचित हुनुभयो । कानुनमा स्नातक गर्नुभएका खनाल प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ बाट सबैभन्दा कान्छो उमेरका सांसदको रुपमा यहाँबाट निर्वाचित हुनुभएको छ । ४१ हजार ३४७ मतसहित खनाल निर्वाचित हुँदा एमाले उम्मेदवार तिलक महतले १५ हजार ७५५, काँग्रेस उम्मेदवार ओमबहादुर घर्तीले १४ हजार ७१३ तथा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार गणेशमान महतोले एक हजार ५३८ मत प्राप्त गर्नुभयो ।
विसं २०४७ पछिको हरेक निर्वाचनमा यस क्षेत्रमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित हुँदै आएका थिए । २०४७ सालको निर्वाचनमा तत्कालीन लुम्बिनी अञ्चलबाट निर्वाचित एकमात्रै एमाले उम्मेदवार मोजिलाल थनेत थारु यसै क्षेत्रबाट सांसद बन्नुभएको थियो । लुम्बिनी अञ्चलबाट निर्वाचित एमालेका एक्लो सांसद थारुलाई ‘लुम्बिनी टाइगर’को उपमा समेत दिइएको थियो ।
सिङ्गो नवलपरासीलाई नेपालको संविधान २०७२ जारी भएपछि दुई भागमा विभाजन गरिएको थियो । नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विक्रम खनाल निर्वाचित हुनुभएको छ । नेपाली काँग्रेसको पकड क्षेत्रको रुपमा रहेको यस क्षेत्रबाट खनालले उद्योगपति एवम् नेपाली काँग्रेसका उम्मेदवार विनोद कुमार चौधरीलाई ३५ हजार ७३९ मतान्तरले पराजित गर्दै निर्वाचित हुनुभएको हो ।
रास्वपाका खनाल ४५ हजार २४१ मतसहित निर्वाचित हुँदा नेपाली काँग्रेसका उम्मेदवार चौधरीले नौ हजार ५०२, नेकपा (एमाले)का उम्मेदवार रामप्रसाद पाण्डेयले सात हजार ९५६ तथा जनता समाजवादी पार्टी नेपालका हृदयेश त्रिपाठीले सात हजार ८३२ मत प्राप्त गर्नुभयो ।
त्यसैगरी, क्षेत्रीय दल जनता समाजवादी पार्टी नेपालको पकड क्षेत्रको रुपमा रहेको नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नरेन्द्र कुमार गुप्ता प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको छ । गुप्ताले नेपाली काँग्रेसका उम्मेदवार भीम बहादुर थापा क्षेत्रलाई २८ हजार १९३ मतान्तरले पराजित गर्दै निर्वाचित हुनुभएको हो । यहाँबाट ४४ हजार १३८ मत प्राप्त गर्दै गुप्ता निर्वाचित हुँदा काँग्रेस उम्मेदवार क्षेत्रीले १५ हजार ९४५, जनता समाजवादी पार्टी नेपालका उम्मेदवार देवेन्द्र यादवले सात हजार २१२ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ध्रुवबहादुर प्रधानले चार हजार ६९१ मत प्राप्त गर्नुभयो ।





प्रतिकृया दिनुहोस्