चितवन । हनुमान जयन्तीको अवसरमा मारवाडी सेवा केन्द्र नारायणगढले बिहीबार निशान शोभायात्रा कार्यक्रम सम्पन्न गरेको छ। धार्मिक आस्था र सांस्कृतिक उत्साहका साथ आयोजना गरिएको उक्त शोभायात्रामा मारवाडी समाज नारायणगढका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
शोभायात्रा नारायणगढस्थित हरिहर मन्दिरबाट सुरु भई नारायणगढ बजार परिक्रमा गर्दै मारवाडी सेवा केन्द्रको भवनभित्र रहेको मन्दिरमा पुगेर समापन गरिएको थियो। सहभागीहरूले धार्मिक ध्वजासहित जयकारा लगाउँदै नगर परिक्रमा गरेका थिए।

मारवाडी सेवा केन्द्र नारायणगढका अध्यक्ष पंकज अग्रवालले मनमा संकल्प र इच्छा राखी निशान यात्रा सम्पन्न गर्दा मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले धार्मिक आस्था मात्र नभई सामुदायिक एकता सुदृढ गर्नसमेत मद्दत पुग्ने उल्लेख गर्नुभयो।
त्यस्तै, केन्द्रका कोषाध्यक्ष राकेश हरलालकाका अनुसार गत वर्षदेखि सुरु गरिएको निशान यात्रा आगामी वर्षहरूमा अझ भव्य रूपमा आयोजना गरिने तयारी गरिएको छ।
नारायणगढ क्षेत्रमा पछिल्ला वर्षहरूमा यस्ता धार्मिक तथा सांस्कृतिक गतिविधिहरू बढ्दै गएको स्थानीयले बताएका छन्।





प्रतिकृया दिनुहोस्