चितवन । चितवनको भरतपुरमा आगामी चैत २७ गतेदेखि १०औँ अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०८२ हुने भएको छ । प्रदर्शनीमा नेपालका सात वटै प्रदेशको प्रतिनिधित्व हुने गरी स्टलहरू राखिने तयारी भइरहेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
चैत २९ गतेसम्म हुने यस प्रदर्शनीमा राष्ट्रिय आविष्कार केन्द्रको प्रविधि तथा मेशिनरी स्टल र ‘मेड इन नेपाल स्वदेशी अभियान’मा आबद्ध उद्योगहरूको सहभागिता विशेष आकर्षणका रूपमा रहने जनाइएको छ । चितवन उद्योग संघको आयोजनामा हुन लागेको प्रदर्शनीमा कृषि, स्वास्थ्य, सूचना प्रविधि तथा उत्पादन क्षेत्रका आधुनिक मेशिनरीहरूको प्रदर्शन गरिने अध्यक्ष मदन घिमिरेले जानकारी दिए । यस प्रदर्शनीले प्रदर्शक र अवलोकनकर्तालाई प्राविधिक ज्ञान प्राप्त गर्न, लघु तथा घरेलु उद्योगहरूले नवीन प्रविधि अवलम्बन गरी उत्पादकत्व र प्रतिस्पर्धात्मकता बढाउन, उत्पादनको ब्राण्डिङ र बजार पहुँच विस्तार गर्न, ग्राहकसँग प्रत्यक्ष सम्पर्क कायम गर्न, युवालाई उद्यमशीलतामा प्रेरित गर्दै नयाँ उद्यमी सिर्जना गर्न साथै सुस्त अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्ने उनको भनाइ छ ।
प्रदर्शनीले प्रदर्शकका नवीन आइडियालाई मञ्च प्रदान गर्ने, उत्पादन सुधार, प्याकेजिङ र अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्ने अवसर दिने अपेक्षा गरिएको घिमिरेले बताए । अध्यक्ष घिमिरेले प्रदर्शनीले स्वदेशी उद्योग र प्रविधिको प्रवद्र्धन, नवीनतम प्रविधिको अवलम्बन र अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको पहुँच विस्तारमा महत्वपूर्ण योगदान पु¥याउने बताए । यसले नेपालको औद्योगिक भविष्यलाई नयाँ दिशा प्रदान गर्दै समृद्ध र आत्मनिर्भर राष्ट्र निर्माणको आधार तयार गर्ने विश्वास गरिएको उनको भनाइ छ ।
तीन दिनसम्म सञ्चालन हुने प्रदर्शनमा स्वीस मेड भ्याक्सिन तथा नेपालमा नै डिलर रहेका विदेशी प्रविधि र उपकरणको समेत प्रदर्शनी हुने जनाइएको छ । ‘पश्चिम एसियामा देखिएको तनावका कारण विदेशी कम्पनीहरुले यसपटकको प्रदर्शनीमा सहभागिता जनाउने छैनन्’ अध्यक्ष घिमिरेले भने, ‘प्रदर्शनीमा उत्पादन तथा सेवामूलक उद्योगको लागि आवश्यक हुने मेशिन तथा प्रविधिको प्रदर्शनी गरिनेछ ।’ प्रदर्शनीमा हस्तकला, गार्मेन्ट, निर्माणजन्य सामग्रीहरु, प्लाष्टिक, प्रिन्टिङ, प्याकेजिङ, कृषि, उर्जालगायतका स्वदेशी उत्पादनहरु राखिने जनाइएको छ ।
चितवन उद्योग संघका उपाध्यक्ष एवम् प्रदर्शनी विभाग संयोजक गजेन्द्र अधिकारीले प्रदर्शनीले स्वदेशी उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारको पहुँचको लागि वातावरण तयार गर्ने तथा विभिन्न नीतिगत बहस र समूहगत छलफल मार्फत स्वदेशी उद्यमशीलताको विकासको मार्गचित्र कोर्ने विश्वास गरिएको बताए । प्रदर्शनीकै क्रममा निजी क्षेत्रको विशेष कार्यपत्र प्रस्तुतीसहित ‘नेपालको वर्तमान औद्योगिक अवस्था र भावी गन्तव्य’ शीर्षकमा विषयविज्ञसहितको सहभागितामा छलफल हुने अधिकारीको भनाइ छ । प्रदर्शनीले स्थानीय उत्पादनलाई राष्ट्रिय बजारमा पहुँच सुनिश्चित गर्ने, स्वदेशी वस्तुको प्रवद्र्धनमार्फत आयात प्रतिस्थापन गर्ने, निर्यात वृद्धिमा प्रोत्साहन गर्ने कार्यका लागि समन्वय भइरहेको अधिकारीले बताए ।
प्रदर्शनीबाट कृषि, स्वास्थ्य, सूचना प्रविधि र उत्पादन क्षेत्रका आधुनिक मेशिनरीको प्रदर्शनीमार्फत प्रदर्शक र अवलोकनकर्तालाई प्राविधिक ज्ञान, लघु, घरेलु र साना उद्योगहरुलाई नवीन प्रविधि अवलम्बन गरी उत्पादन बढाउन प्रोत्साहन गरिने अधिकारीको भनाइ छ । प्रदर्शनीका क्रममा प्रदर्शकहरुले आफ्ना उत्पादकको ब्राण्डिङ, बजार पहुँच र ग्राहकसँग प्रत्यक्ष सम्पर्कको अवसर प्राप्त गर्ने, युवाहरुलाई उद्यमशीलतामा प्रेरित गर्दै नयाँ उद्यमी सिर्जना, नवप्रवर्तनलाई मञ्च प्रदान गर्ने लगायतका कार्य हुने बताइएको छ । स्वेदशी तथा विदेशी गरी करिब १०० वटा स्टलहरु रहने प्रदर्शनीमा उद्योगी, व्यवसायी र अवलोकनकर्ता गरी २५ हजार जनाको सहभागिता रहने अपेक्षा गरिएको छ । प्रदर्शनी निःशुल्क प्रवेशको व्यवस्था गरिएको जनाइएको छ ।





प्रतिकृया दिनुहोस्