चितवन । बुद्ध पूर्णिमाको अवसर पारेर चितवनको भरतपुरमा ‘चितवन म्युजिक क्यारनिभल च्यारीटी फर क्होइबो’ हुने भएको छ । तमु प्ये ल्हु संघको ‘क्होइबो’ (कुल पुज्ने घर) निर्माण सहयोगार्थ बैशाख १८ गते सांस्कृतिक साँझ गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
सांस्कृतिक साँझमा ख्यातिप्राप्त ब्याण्ड तथा स्थानीय कलाकारबाट सांगीतिक प्रस्तुति रहने जनाइएको छ । पत्रकार सम्मेलनमा संघका अध्यक्ष विक्रम चम्रु तमुले गुरुङ जातिको भाषा, धर्म र संस्कृति संरक्षणका विसं २०६० मा संघको स्थापना गरिएको बताए । संघले लंकूमा किनेको जग्गामा कुल पुज्ने घर निर्माण गर्ने तयारी गरेको भन्दै अध्यक्ष तमुले थप एक कठ्ठा जग्गा खरिद घर निर्माणका लागि आर्थिक संकलन गर्ने उद्देश्यले सांगीतिक कार्यक्रम गर्न लागिएको जानकारी दिए ।
वैशाख १८ गते नारायणघाटको क्याम्पाचौरमा आयोजना गरिएको सांस्कृतिक साँझमा चर्चित एक्सिस ब्याण्ड, र्यापर लिल झोला, कताब, युगन ब्याण्ड तथा यमुना गुरुङ र पविन गुरुङको प्रस्तुति रहने जनाइएको छ । र्यापर लिल झोलाले चितवनमा नै पहिलोपटक प्रस्तुति दिन लागेको कार्यक्रमको व्यवस्थापन संस्था नेपाल डायरिजका व्यवस्थापक विनेश थापाले जानकारी दिए । कार्यक्रममा सहभागीहरुका लागि रु ५००, रु १०००, रु २००० तथा रु ५००० भन्दा माथिको टिकट राखिएको थापाको भनाइ छ ।
रु ५००० माथिको टिकटलाई डाइमण्ड टिकटको रुपमा बिक्री गरिने भन्दै उनले उक्त टिकट काटेर सांगीतिक प्रस्तुति हेर्ने दर्शकले भोलिपल्ट कलाकारहरुसँगै बसेर खाजा खाने व्यवस्था मिलाइएको थापाले जानकारी दिए । कार्यक्रमको तयारी तीव्र पारिएको उनको भनाइ छ । कार्यक्रमका लागि टिकटअनुसार दर्शकहरुका लागि बस्ने व्यवस्था गरिने भन्दै थापाले सांगीतिक कार्यक्रम साँझ ४ बजेदेखि १० बजेसम्म गरिने बताए ।
सांगीतिक कार्यक्रमका संयोजक जगत गुरुङकाअनुसार कार्यक्रम सफल बनाउन विभिन्न १३ वटा उपसमिति निर्माण गरिएको छ । टिकट बिक्री तथा विभिन्न सौजन्यबाट एक करोड ५० लाख रुपैयाँ आम्दानी हुने तथा कार्यक्रममा ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको गुरुङको भनाइ छ । सांगीतिक कार्यक्रममा करिब आठ हजार टिकट बिक्री गर्ने लक्ष्यसहित सोहीअनुसार कार्यक्रम स्थल व्यवस्थापन भइरहेको उनले बताए ।
यसैबीच, संघका अध्यक्ष विक्रम चम्रु तमुले गुरुङले गुरुङहरुको आज परेको सांस्कृतिक पर्व टोटेको अवसरमा सम्पूर्ण समुदायलाई शुभकामना दिँदै धर्म र संस्कृति संरक्षणमा नवपुस्ता जुट्नुपर्नेमा जोड दिए ।





प्रतिकृया दिनुहोस्