चितवन । तनहुँको देवघाटस्थित महेश संन्यास आश्रमका पिठाधीस श्री १००८ स्वामी रमणानन्द गिरी महाराजले भरतपुर–१ वागीश्वरीमा जारी कोटिहोम महायज्ञको दर्शन गर्नुभएको छ । उहाँले सोमबार महायज्ञको दर्शन गर्नुका साथै महायज्ञमा ५२ हजार ६०० रुपैयाँ दान गर्नुभयो ।
उहाँले महायज्ञलाई नगद ५१ हजार १०० रुपैयाँ प्रदान गर्दै महायज्ञ आयोजकले दिएको दक्षिणासमेत महायज्ञमा नै दान गर्नुभएको थियो । वागीश्वरी आध्यात्मिक परिषद्, योगी नरहरिनाथ आश्रममा गत वैशाख १७ गतेदेखि श्रीशिवगोरक्ष–योगीनरहरिनाथ–साङ्ग–कोटिहोम महायज्ञ भइरहेको छ । विदेशमा बस्ने सनातन धर्मावलम्बीहरुले क्युआरमार्फत पनि महायज्ञलाई दान गर्न थालेका छन् ।
काठमाडौँ घर भई हाल जर्मन बस्दै आउनुभएका विशाल महर्जन (काश्यप)ले मंगबलार महायज्ञलाई २६ हजार ६३० रुपैयाँ सहयोग गर्नुभयो । उक्त रकम उहाँले महायज्ञको बैंक खातामा सोझै पठाउनुभएको हो । त्यस्तै, भरतपुर–२ आँपटारीस्थित आधुनिक दिदीबहिनी आमा समूहले महायज्ञलाई ११ हजार ७५० रुपैयाँ र भरतपुर–८ गौरीगञ्ज बस्ने शोभा ढकालले ११ हजार ११५ रुपैयाँ दान गर्नुभयो ।
राष्ट्रगुरु योगी नरहरिनाथको संकल्पमा भएको महायज्ञ आगामी असार १३ गतेसम्म सञ्चालन हुनेछ । महायज्ञमा प्रमुख वाचक ज्योतिष पण्डित परशुराम पाण्डेयले दैनिक भागवत कथा वाचन गरिरहनुभएको छ । महायज्ञमा नियमित हवन, गायत्री मन्त्रद्वारा लक्ष हवन, अति रुद्री, सहस्र चण्डी, वेदपाठ र भागवत पाठ परायण भइरहेको छ । वागीश्वरी आध्यात्मिक परिषद्, योगी नरहरिनाथ आश्रम र सनातन सांस्कृतिक सम्पदा संरक्षण संघको संयुक्त आयोजनामा महायज्ञ सञ्चालन भएको हो ।
महायज्ञमा नौ वर्षमुनिका एक हजार आठ बालिकाहरुको सामूहिक पूजा गरिने छ । पुरुषोत्तम महात्म्य प्रवचन, हिमवत् खण्ड, शिखरिणी यात्रा लगायतका धार्मिक ग्रन्थहरुको पाठपरायण, गौकथा प्रवचन हुनेछ भने पाँचसरे सवा करोड दीप प्रज्ज्वलन गरिने छ ।





प्रतिकृया दिनुहोस्