चितवन । चितवनको भरतपुर-१ वागीश्वरीको योगी नरहरिनाथ आश्रममा जारी कोटिहोम महायज्ञमा बिहीबार कविता वाचन प्रतियोगिता भएको छ ।
प्रतियोगितामा तनहुँका अंकित पाण्डे पहिलो हुँदै १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा दोस्रो भएका रत्ननगरका कबीर काफ्लेले आठ हजार रुपैयाँ तथा तेस्रो भएकी झापाकी नवीना भट्टराईले छ हजार रुपैयाँ प्राप्त गरे । कविता वाचन प्रतियोगितामा सान्त्वना भएका सोलुखुम्बुका सुरक्षा भट्टराई र तनहुँका देवेन्द्र सापकोटाले चार÷चार हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा २५ जना सहभागी भएका थिए ।
वागीश्वरीमा जारी महायज्ञ नितान्त सात्विक यज्ञका रुपमा सञ्चालन भइरहेको छ । आयोजकका तर्फबाट पत्र पठाएर वा रकम तोकेर आर्थिक सहयोग माग्न निषेध गरिएको यो महायज्ञमा भक्तजनले स्वःस्फुर्त रुपमा दान गर्ने गरेका छन् । बिहीबार नेपाली सेनाको नयाँ सबुज दल गण भरतपुरले महायज्ञलाई चरुलगायतका हवन सामग्री सहयोग गरेको छ ।
हवन सामग्री हस्तान्तरण गर्न गणका गणपति सुदीप तामाङ स्वयम् महायज्ञस्थल पुगेका थिए । महायज्ञमा अहिले बिजमन्त्रद्वारा नियमित हवन गर्नुका साथै अतिरुद्री महायज्ञ, गायत्री लक्ष हवन र सहस्र चण्डी पनि भइरहेको छ । गत वैशाख १७ गतेदेखि सुरु भएको श्रीशिवगोरक्ष–योगीनरहरिनाथ–साङ्ग–कोटिहोम महायज्ञ आगामी असार १३ गते सम्पन्न हुनेछ ।
महायज्ञ अन्तर्गत भजन प्रतियोगिता पनि भइरहेको छ । भजन प्रतियोगिताको फाइनल यहि जेठ ३० गते हुनेछ । महायज्ञमा आगामी असार ६ गते नौ वर्षमुनिका एक हजार आठ बालिकाको सामूहिक पूजन गरिँदै छ । सामूहिक पुजनका लागि नौ वर्षमुनिका बालिका र अभिभावकको नाम टिपाउन आयोजकले आग्रह गरेको छ ।
असार ८ गते पाँचसरे सवा करोड दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको महायज्ञ संयोजक एवम् मुख्यकर्ता प्रेमनिधि भारद्वाजले जानकारी दिए । महायज्ञमा प्रमुख वाचक ज्योतिष पण्डित परशुराम पाण्डेयले दैनिक भागवत कथावाचन गरिरहेका छन् ।





प्रतिकृया दिनुहोस्