चितवन । चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि साढे पाँच अर्ब रुपैयाँ बढीको बजेट निर्माण गरेको छ । सोमबार भएको भरतपुरको नगरसभा एवम् १९औँ अधिवेशनमा कार्यवाहक नगरप्रमुख चित्रसेन अधिकारीले आगामी आर्थिक वर्षका लागि पाँच अर्ब ५१ करोड ७० लाख २३ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन् ।
नगरसभामा प्रस्तुत गरिएको बजेटमध्ये दुई अर्ब १७ करोड ७३ लाख रुपैयाँ जुटाउने अनुमान गरिएको अधिकारीले बताए । चालु आर्थिक वर्ष २०८२/०८३ को बजेट पाँच अर्ब २२ करोड रुपैयाँको रहेको छ । नगरसभामा नीति तथा कार्यक्रम पेश गर्दै कार्यवाहक नगरप्रमुख अधिकारीले आलु आर्थिक वर्षमा पुँजीगत खर्च कम हुँदा विकास निर्माण सुस्ताएको र राजस्व संकलनको लक्ष्यमा समेत केही धक्का पुगेको बताए ।
भदौ २३ र २४ मा जेनजी आन्दोलनका क्रममा भएको क्षति, प्रतिनिधिसभा सदस्यको निर्वाचन, इरान, इजरायल युद्धले इन्धनको मूल्यवृद्धि भएका कारण विकास निर्माण र राजस्व संकलन प्रभावित भएको उनको तर्क छ ।
चालु आर्थिक वर्षमा महानगरले आन्तरिक आय तर्फ एक अर्ब ८० करोड रुपैयाँको लक्ष्य राखेकोमा जेठसम्म एक अर्ब २५ करोड ६७ लाख रुपैयाँ मात्रै संकलन भएको अधिकारीले बताए । आर्थिक वर्ष सुरु भएको ११ महिनासम्म लगभग ७० प्रतिशत लक्ष्य प्राप्त भएको छ । आर्थिक वर्षको अन्त्यसम्म डेढ अर्ब रुपैयाँ मात्रै आम्दानी गर्न सक्ने अवस्था रहेको कार्यवाहक नगरप्रमुख अधिकारीले बताए ।
बजेटमा विकास, पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा सुशासनलाई प्राथमिकतामा राखिएको छ । महानगरले आधारभूत सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै नागरिकको जीवनस्तर उकास्ने कार्यक्रम अघि सारेको छ । त्यस्तै, सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि, तालिम तथा सीप विकास कार्यक्रम सञ्चालन गर्ने र सञ्चार गृहहरूको संस्थागत विकास तथा प्रवद्र्धनमा सहयोग गर्ने नीति लिइएको छ ।
कार्यवाहक प्रमुख अधिकारीका अनुसार सक्षम, जिम्मेवार र व्यावसायिक सञ्चार क्षेत्रले सुशासन, विकास र जनउत्तरदायित्वलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ । नगरसभाबाट प्रस्तुत नीति तथा कार्यक्रमले भरतपुरलाई आधुनिक, व्यवस्थित र समृद्ध शहरका रूपमा विकास गर्ने आधार तयार गर्ने अपेक्षा गरिएको छ । आगामी वर्षको बजेटले ‘दिगो पूर्वाधार, संवृद्धिको आधार’ भन्ने नारालाई आत्मसात गरेको उनले बताए ।
भौगोलिक सूचना प्रणाली (जिआइएस)मा आधारित सूचना प्रणाली, सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा फोहर मैला प्रशोधन केन्द्र स्थापना गर्ने जस्ता कार्यक्रम बजेटले समेटेको छ । भरतपुर–१५ स्थित रामपुरमा रहेको कृषि तथा वन विश्वविद्यालयको जग्गा निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि १४ करोड रुपैयाँ छुट्याएको पनि कार्यवाहक मेयर अधिकारीले बताए ।
चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको बस्तीमा जंगली जनावरलाई छेकबार लगाउन फाउण्डेशनसहित मेसजाली बनाउने कार्यक्रमलाई निरञ्तरता दिने, वडा नम्बर १५ मा १०० शय्याको आयुर्वेद अस्पताल बनाउने, भरतपुरलाई साइकल लेन बनाउने कामलाई जारी राख्ने जस्ता विषय नीति तथा कार्यक्रममा समेटिएका छन् । साइकल प्रवद्र्धन महानगरले चासो राखेको योजना हो ।
नीति तथा कार्यक्रममा साइक्लिङलाई प्रवद्र्धन गर्न साइकल ऐन नै तयार गरेर भरतपुरलाई साइकल सिटीका रुपमा विकास गर्ने उल्लेख छ । वर्तमान जनप्रतिनिधिहरुको कार्यकालको यो अन्तिम बजेट भएको अधिकारीले बताए । गत फागुन २१ मा भएको निर्वाचनका लागि रेनु दाहालले नगरप्रमुखबाट राजीनामा दिएर उम्मेदवार भएपछि महानगरका उपप्रमुख रहेका अधिकारी कार्यवाहक नगरप्रमुख छन् ।





प्रतिकृया दिनुहोस्