नवलपुर । नवलपुरमा रातिको समयमा दुर्घटना बढेपछि सवारीसाधन सञ्चालनमा कडाइ गरिएको छ । दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले रातीको समयमा सञ्चालन हुने सवारीसाधन सञ्चालनमा कडाइ गरेको हो ।
कार्यालय प्रमुख प्रहरी निरीक्षक कुशल बर्तौलाले नवलपुर प्रवेश गर्ने र बाहिरिने नाकामा सवारीसाधनको चेकजाँचलाई कडाइ गरिएको बताउनुभयो । उहाँकाअनुसार नवलपुर भित्रिने र बाहिरिने गैँडाकोटको नाकामा रात्रिकालिन मादक पदार्थ सेवन (मापसे) परीक्षणमा कडाइ गरिएको छ । गैँडाकोटस्थित नारायणी पुलनजिकै नवलपुर भित्रिने र नवलपुरबाट पूर्वतर्फ जाने मोटरसाइकल एवम् साना तथा ठूला सवारीसाधन चालकको मापसे परीक्षण गर्ने गरिएको छ ।
परीक्षणका क्रममा चालकले मापसे गरेको पाइएमा त्यस्ता चालकलाई कारबाही गरी यात्रुलाई उचित गन्तव्यसम्म पुग्न सहजीकरण गर्ने गरेको उहाँको भनाइ छ । पूर्वपश्चिम राजमार्गको नवलपुर खण्डमा रातिको समयमा दुर्घटनाका घटनाहरु बढेकाले त्यसको न्यूनीकरणका लागि राति करिब १० बजेसम्म मापसे परीक्षण हुँदै आएको उहाँले बताउनुभयो ।





प्रतिकृया दिनुहोस्