नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बुलिङटारका कृषकहरु विविधीकृत खेतीतर्फ आकर्षित भएका छन् । यहाँका कृषकहरुले मुख्यबालीको रुपमा अदुवा बेसार लगाएका छन् भने सहायक बालीको रुपमा चिप्लीभिण्डी र मकैबाली लगाएर आम्दानी गर्दैछन् ।
बुलिङटार–१ ढाडबेँसीका कृषक टकबहादुर खण्डलुकले चार रोपनी क्षेत्रफलमा बेसार खेती गर्नुभएको छ । “मैले बेसार खेतीसँगै बारीमा भिण्डी र मकैखेतीसमेत गरेको छु” उहाँले भन्नुभयो, “जसले गर्दा मलाई थोरै जमिनमा पनि धेरै उत्पादन गर्न सहयोग पुगेको छ ।” उहाँले तरकारीको रुपमा भिण्डी बजारमा बिक्री हुने र मकै बुङ्गुरको लागि दाना बन्ने गरेको बताउनुभयो ।
“हामीले पहिले पहिले एक ठाउँमा एउटामात्रै खेती गर्ने गरेका थियौँ, जसबाट धेरै आम्दानी गर्न सकिँदैनथ्यो” उहाँले भन्नुभयो, “अहिले त बाली विविधीकृत खेतीका कारण एकसाथ धेरै प्रकारका खेती गरेर आम्दानी गर्न सफल भएका छौँ ।” ढाडबेँसी पहाडी क्षेत्र भएकाले यहाँ अदुवा र बेसारको राम्रो उत्पादन हुने उल्लेख गर्दै बेसार मानाको रु १०० मा बिक्री हुने गरेको बताउनुभयो । त्यस्तै, अदुवा पनि सिजनमा रु ६० मा बिक्री हुने गरेको भन्दै उहाँले बैशाखदेखि असोजसम्म अदुवाको राम्रो मूल्य पर्ने बताउनुभयो ।
यहाँका कृषकहरुले व्यक्तिगतरुपमा विविधीकृत खेतीसँगै सामूहिक रुपमासमेत खेती गर्दै आएका छन् । मङ्गलादेवी कृषक समूहकी सदस्य लक्ष्मी श्रेष्ठले सामूहिकरुपमा १० रोपनी क्षेत्रफलमा अदुवा र बेसार लगाएको बताउनुभयो । “हामी १५ जना मिलेर पाखो बारीमा सामूहिक खेती गरेका छौँ” उहाँले भन्नुभयो, “हामीले मुख्य बालीका रुपमा अदुवा र बेसार लगाएका छौँ भने सहायक बालीका रुपमा मकै र भिण्डी लगाएका छौँ ।”
समूहमा मिलेर काम गर्दा काम गर्न सहज र छिटो भएको उल्लेख गर्दै उहाँले सामूहिकताको भावनामा समेत वृद्धि भएको बताउनुभयो । “सामूहिक खेतीबाट उत्पादन मात्रै बढेको छैन, हामीमा नेतृत्व सीप समेत बढेको छ” उहाँले भन्नुभयो, “समूहमा मिलेर काम गर्न पनि सिकेका छौँ ।” कृषकहरुले लगाएको सामूहिक र विविधीकृत खेती गर्दा स्थानीय प्रजातिका बालाीहरु लगाउँदै आएको उहाँले बताउनुभयो ।
ढाडबेँसीका कृषकहरु अहिले अदुवाको बूढी (रोपेको अदुवा उम्रिएपछि जमिनमुनिबाट निकालिने पुरानो अदुवा/बिउ अदुवा) निकाल्न व्यस्त छन् । अकलादेवी कृषक समूहकी उपाध्यक्ष मैना विकले अदुवाको बूढी निकालेर बिक्री गर्दा यसबाट मनग्य आम्दानी हुने गरेको बताउनुभयो । “पहिला हामीले अदुवा लगाएर यत्तिकै छोड्ने गरेका थियौँ, बूढी माटोमा कुहिएर सकिन्थ्यो” उहाँले भन्नुभयो, “हामीले बाली विविधीकृतबारे तालिम लिएपछि बूढी अदुवा निकालेर बिक्री गर्दै आम्दानी गर्न थालेका छौँ ।”
उहाँको समूहले पनि पाँच रोपनी क्षेत्रफलमा अदुवा र बेसार खेती गरेको छ । “अहिले अदुवा र बेसार गोडमेलको बेला भएको छ” उहाँले भन्नुभयो, “गोडमेलसँगै अदुवाको बूढी पनि निकालेर भण्डारण गर्दैछौँ ।” बाली विविधीकृत खेती सुरु गरेपछि यहाँका कृषकहरुको जीवनस्तरमा सुधार आएको विकले बताउनुभयो । “पहिला खेती गर्दा हामीलाई घरमै खान मुस्किल हुने गरेको थियो” उहाँले भन्नुभयो, “अहिले त अदुवा र बेसार बारीमा मकै र भिण्डीबाट अतिरिक्त आम्दानी समेत गर्न सफल भएका छौँ ।”
बुलिङटार गाउँपालिकाकी पूर्वउपाध्यक्षसमेत रहनुभएकी विकले विविधीकृत खेतीका लागि पालिका र कारितास नेपालले सहयोग गरेको बताउनुभयो । “हामीले स्थानीय तर उन्नत जातका बिउहरु पाएका छौँ” उहाँले भन्नुभयो, “योसँगै कृषि प्राविधिकहरु बारीमै आएर खेती हेर्ने तथा हामीलाई प्राविधिक विषयमा सहजीकरण गर्दै आउनुभएको छ ।” यहाँका किसाहरुले अहिले अदुवा र बेसारसँगै जीविकोपार्जनका लागि मुसुरो, केराउ, गहत, बोडी, सिमी, काउली, भिण्डी, करेला, काँक्रा, फर्सीलगायतका खाद्यान्नहरु लगाउन थालेका विकको भनाइ छ ।





प्रतिकृया दिनुहोस्