चितवन । पछिल्लो समय भरतपुरमा बढेको अव्यवस्थित सहरीकरणका कारण यहाँका नहरहरु मासिँदै गएका छन् । भरतपुरको खेतीयोग्य जमिनमा सिँचाइ पु¥याउने उद्देश्यले निर्माण गरिएको नारायणी लिफ्ट सिँचाइको नहर पछिल्लो समय अतिक्रमणको चपेटामा पर्दै गएको छ ।
नारायणी लिफ्ट सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाटले नारायणी लिफ्टको शाखा तथा प्रशाखा नहरहरु अतिक्रमणमा परेका बताए । धेरै ठाउँका नहरहरु पुरेर बाटो निर्माण गरिएको भन्दै रानाभाटले नहर पुरिँदा खेतीयोग्य जमिनमा सिँचाइ नपुगेको बताए । ‘जथाभावी बजार बसेको छ, जमिन खण्डीकरण गरिएको छ, जसको कारण सिँचाइका नहरहरु मासिँदै गएका छन्’ उनले भने, ‘नहर मासिँदा सिँचाइमा समस्या हुनुका साथै बर्खाको पानी सडकमै जम्ने समस्यासमेत देखिएको छ ।’
विसं २०३४ सालमा भरतपुरको चार हजार ७०० हेक्टर जमिनमा सिँचाइ गर्ने योजनासहित नारायणी लिफ्ट सिँचाइ सञ्चालनमा आएको रानाभाटले बताए । सुरुआती चरणमा भरतपुरको वडा नम्बर ४ देखि ९, ११, १२, १४ र १५ मा सिँचाइ गर्नेगरी आयोजना सञ्चालन गरिएकोमा पछि यसको क्षमता वृद्धि गरी सात हजार हेक्टर क्षेत्रफललाई सिँचाइ गर्नसक्ने क्षमतामा रुपान्तरण गरिएको थियो । यद्यपि भरतपुरको सहरीकरणसँगै हाल वडा नम्बर ४, ५, ६, ८, ९, १४ र १५ मा मात्रै सिँचाइ भइरहेको रानाभाटले बताए ।
‘नारायणी लिफ्ट सिँचाइको मोटर पम्पहरु ४० वर्षपछि नयाँ राखिएका छन्’ उनले भने, ‘अहिले लिफ्टमा चार क्यूमेसका दुई वटा र दुई क्यूमेसका दुई वटा पम्पहरु जडान गरिएको छ ।’ नयाँ जडित पम्पहरुबाट आवश्यकताअनुसार कृषकहरुका लागि हिउँद र बर्खे बालीमा पानी उपलब्ध गराउँदै आइएको उनले बताए । ‘भरतपुरमा भएको सहरीकरण बस्ती विकास, जमिन खण्डीकरणका कारण नहर मास्ने, भत्काउने र अतिक्रमण गर्ने जस्ता कार्यले गर्दा आगामी दिनमा यस प्रणाली सञ्चालनमा चुनौती देखिएको छ’ उनले भने ।
नारायणी लिफ्ट खगेरी सिँचाइ व्यवस्थापन कार्यालय भरतपुरका प्रमुख कुलराज चालिसेले भरतपुरको मुख्य नहर बन्द गरिँदा एक हजार ४०० हेक्टर क्षेत्र जमिन प्रभावित भएको बताए । भरतपुरको तीनतिरबाट नारायणी नदी र राप्ती नदी बगेको भए पनि यहाँको खेतीका लागि मुख्य स्रोत भनेको नारायणी लिफ्ट र खगेरी सिँचाइ भएको भन्दै उनले नहरको माथिल्लो भागमा नहर अतिक्रमणमा पर्दा तल्लो भागको जमिनमा सिँचाइ समस्या भएको बताए । नारायणी लिफ्ट सञ्चालनका लागि वार्षिक चार करोड रुपैयाँसम्म खर्च हुने गरेको उल्लेख गर्दै चालिसेले यसबाट १९ करोड रुपैयाँ बराबरको धान उत्पादन हुँदै आएको बताए ।
२३औँ राष्ट्रिय धान दिवसको अवसरमा आयोजित पत्रकार सम्मेलनमा चालिसेले नारायणी लिफ्ट सरकारी र नागरिकको संयुक्तरुपमा सञ्चालन भइरहेको बताए । ‘प्राविधिक कुराहरु नहरको मर्मतसंभार र बिजुलीको बिल कार्यालयले हेर्छ भने किसानका विषयमा उपभोक्ता समितिले हेर्दै आएको छ’ कार्यालय प्रमुख चालिसेले भने, ‘अहिले नारायणी लिफ्टबाट सिँचित हुने क्षेत्रफल घटेको छ ।’ सुरुआती अवस्थामा नारायणी लिफ्टबाट लाभान्वित किसानहरु एक लाख २५ हजार रहेको उल्लेख गर्दै उनले हाल एक लाख किसान लाभान्वित भएका जानकारी दिए ।
नारायणी लिफ्टको सिँचाइ क्षेत्रफलसमेत घटेर तीन हजार ५०० हेक्टर क्षेत्रफलमा खुम्चिएको चालिसेको भनाइ छ । उनले नहरका शाखा र प्रशाखाहरु अझै बन्द हुने क्रममा रहेको बताए । हाल नारायणी लिफ्टबाट वर्षमा १६५ दिन पानी छोडिने गरेको उल्लेख गर्दै उनले बर्खे धानका लागि १०० दिन, हिउँदमा गहुँ खेतीका लागि ३५ दिन तथा आवश्यकताअनुसार अन्य समयमा लिफ्ट सञ्चालन हुने गरेको जानकारी दिए ।
कार्यक्रममा खगेरी सिँचाइ जल उपभोक्ता समूहका अध्यक्ष बेलबहादुर गुरुङले भरतपुरको मुख्य सिँचाइ नारायणी लिफ्ट भएको भन्दै विद्युत् आपूर्ति नियमित नहुँदा किसानहरु मर्कामा परेका बताए । ‘किसानहरुले धान रोपिरहेको बेलामा विद्युत् जान्छ, अनि खेतमा पानी अभावले रोपाइँ नै प्रभावित हुने गरेको छ’ गुरुङले भने, ‘सरकारले यस क्षेत्रमा विद्युत् नियमित आपूर्ति हुने अवस्थाको सिर्जना गरिदिनुपर्छ ।’ किसानहरुले अन्नबाली उब्जाउ गर्दा उत्पादन लागत बढी पर्ने गरेको भन्दै उनले यसमा सरकारले अनुदान दिनुपर्ने माग राखे ।
‘उचित मात्रामा सिँचाइ, समयमै मल र बिउ तथा आधुनिक प्रविधिहरु राज्यले व्यवस्था गरिदिनुपर्छ’ उनले भने, ‘अहिले उत्पादन लागत बढी हुँदा ग्रामिण क्षेत्रमा जमिन बाँझो हुने समस्या बढ्दै गएको छ ।’ सिँचाइ आयोजनाबाट प्रति बिघा पाँच सय रुपैयाँ शुल्क लिने गरिएको भए पनि सिँचाइ शुल्क उठाउनै समस्या परेकाले शुल्क उठाउन राज्यले सहजीकरण गरिदिनुपर्ने गुरुङको भनाइ छ । यस वर्ष सरकारले २३औँ राष्ट्रिय धान दिवसको नारा ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ राखेको छ ।





प्रतिकृया दिनुहोस्