आनन्द पोखरेल
नवलपुर । नवलपुरको बुलिङटार गाउँपालिकाका कृषकहरु विषादीरहित तरकारी उत्पादनमा जुटेका छन् । तरकारी तथा अन्नबालीमा विषादीबाट हुने क्षतिका बारेमा जानकारी पाएपश्चात उनीहरुले खेतबारीमा रासाययिनक विषादीलाई निरुत्साहित गर्दै प्राङ्गारिक खेतीतर्फ अग्रसर भएका हुन् ।
बुलिङटार गाउँपालिका–१ की कृषक पहलसिं सारु मगरले स्थानीय सामग्रीबाट झोलमल तयार पारेर अन्नबालीमा प्रयोग गर्न थालेको बताए । ‘हामीले झोल मल १, झोल मल २ र झोल मल ३ तयार पारेका छौँ’ उनले भने, ‘तीन वटै झोल मलको प्रयोग फरक फरक काममा लागि हुने गरेको छ ।’ झोल मल १ ले माटो सुधारका लागि, झोल मल २ कीराहरुको प्रकोपबाट जोगिन तथा झोल मल ३ कीराहरु भगाउनका लागि प्रयोग गर्ने गरिएको मगरले बताए ।
झोल मल बनाउँदा स्थानीय स्तरमा उत्पादन हुने असुरो, खुर्सानी, लसुन, अदुवा, निमपत्ता, गाईको पिसाबलगायतका सामग्रीहरु प्रयोग हुने उनको भनाइ छ । यहाँका कृषकहरुलाई प्राङ्गारिक खेती गर्न प्रेरित गर्ने उद्देश्यले गाउँपालिकाले विभिन्न सङ्घसंस्थाहरुको सहयोगमा अभिमुखीकरण तालिम सञ्चालन गरेको थियो । बुलिङटार गाउँपालिकाको कृषि शाखाका प्राविधिक सहायक विष्णु ढकालले पालिकाभित्रका कृषकहरु पछिल्लो समय प्राङ्गारिक खेतीतर्फ अग्रसर भएका बताए ।
‘यस ठाउँका कृषकहरुले पहिला अत्यधिक विषादी र रासायनिक मल प्रयोग गरेर अन्नबाली उब्जनी गर्ने गर्नुहुन्थ्यो’ उनले भने, ‘हिजोआज कृषकहरुमा सचेतना बढेको छ, विषादीले पु¥याउने हानीबारे जानकारी पाएपछि उहाँहरु प्राङ्गारिक खेतीतर्फ आकर्षित हुनुभएको हो ।’ पालिकाले समेत कृषकहरुलाई प्राङ्गारिक खेतीतर्फ आकर्षित गर्न विभिन्न समयमा तालिम दिने तथा विभिन्न स्थानीय प्रजातिका तरकारी बालीका बिउहरु उपलब्ध गराउन विभिन्न संस्थाहरुसँग सहकार्य गरिदिने काम गरेको ढकालले बताए ।
यहाँका किसानहरुले उत्पादन गर्ने गरेको तरकारीहरु स्थानीय बजारसँगै कावासोती, गैँडाकोट र नारायणघाटसम्म पुग्ने गरेको छ । स्थानीय खुमसरा आले मगरले आफूहरुले काँक्रो, टमाटर, भिण्डी, करेला, बोडी, फर्सी, काउली, बन्दालगायतका तरकारी उत्पादन गरेर बिक्रीविरतण गर्दै आएको बताइन् । ‘विषादी प्रयोग नगरी उत्पादन गरिएको तरकारीको माग धेरै छ’ उनले भनिन्, ‘हामीले उत्पादन गरेको तरकारी बेच्नका लागि बजारको समस्या हुने गरेको छैन ।’
बुलिङटारका कृषकहरुले उत्पादन गरेको तरकारी घरबाटै बिक्री हुँदै आएको मगरले बताइन् । ‘हामीले थोरै थोरै उत्पादन गरेमा यहाँका होटलमा लैजान्छन्, उत्पादन धेरै भयो भने कावासोती तथा नारायणघाटबाट व्यापारीहरु गाडी लिएर आउँछन्’ उनले भनिन्, ‘तरकारीले उचित बजार भाउ पाउँदा हामीलाई राम्रो फाइदा हुने गरेको छ ।’ तरकारी बिक्रीबाट हुने आम्दानीले दैनिक घरखर्ची चलाउनुका साथै केटाकेटीको शिक्षामा खर्च गर्दै केही रकम सहकारीमा बचत गर्न पुग्ने गरेको उनको भनाइ छ ।
आफूले नमूना प्लट निर्माण गरेर तरकारी खेती गर्दै आएको मगरले बताइन् । ‘हामीले भक्तपुरे काँक्रो लगाएका छौँ, घरबाटै प्रति किलोको रु ५० मा बिक्री हुने गरेको छ’ उनले भनिन् । प्राङ्गारिक खेती गर्न थालेपछि आफूहरुलाई रासायनिक मलको अभावमा पनि समस्या नहुने भन्दै उनले विषादीबाट हुने स्वास्थ्य सम्बन्धी समस्याको चिन्ता पनि हराएको बताइन् ।
विषादीरहित तरकारी खेती सुरु गरेपछि सुरक्षित पर्यावरणसँगै आफूहरुको स्वास्थ्य समेत राम्रो भएको भन्दै स्थानीय कृषकहरु खुसी देखिन्छन् । स्थानीय कृषक टकबहादुर खण्डलुकले पहिला आफूहरुले हाइब्रिड खेती गर्ने गरेको भए पनि अहिले स्थानीय प्रजातिका तरकारी तथा अन्नबालीहरुको खेती सुरु गरेको बताए । ‘अहिले हामी पर्यावरणीय कृषि गरिरहेका छौँ, यसबाट पनि हुँदो रहेछ भन्ने कुरा प्रमाणित हुँदै गएको छ’ उनले भने, ‘हामी आफैले विषादीरहित तरकारी उत्पादन गर्न थालेपछि बजारबाट ल्याएको तरकारीहरु हाम्रो भान्छामा पाक्न छोडेको छ ।’
स्थानीय कृषकहरुले विषादीरहित तरकारी उत्पादन सुरु गरेपछि बजारबाट ल्याइने विषादीयुक्त तरकारी आफूहरुले प्रयोग गर्न नपरेको भन्दै उनले भने, ‘हामीले पर्यावरणीय हिसाबले लगाएको तरकारी बाली नै हामीले खाएका छौँ, त्यसकारणले अहिले हामी स्वस्थ पनि छौँ, धेरै खुसी पनि छौँ ।’ केही वर्ष अगाडिसम्म नवलपुरको विकट पहाडी क्षेत्रको रुपमा रहेको बुलिङटार गाउँपालिकालाई कालीगण्डकी करिडोरले छोएपछि अहिले यहाँ उत्पादन भएका कृषिजन्य सामग्रीहरु सहजै बजार केन्द्रसम्म पुग्ने गरेका छन् । यहाँबाट सङ्कलन गरिएका कृषि उपजहरु एकघण्टाभित्रमा नारायणघाटसहितका बजार केन्द्रहरुमा पु¥याइने गरेको कृषकहरु बताउँछन् ।





प्रतिकृया दिनुहोस्