नवलपुर । देशकै कान्छो जिल्लाको रुपमा रहेको नवलपुरको नमूना जिल्ला सदरमुकाम निर्माणको कामले तीव्रता पाएको छ । नेपालको संविधान २०७२ अनुसार सिङ्गो नवलपरासी जिल्ला टुक्रिएर बनेको पूर्वतर्फको भाग नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा सङ्घीय र प्रदेश सरकारका सबै कार्यालय एकै ठाउँमा रहनेगरी नमूना सदरमुकाम निर्माणको काम अगाडि बढाइएको हो ।
नमूना सदरमुकाम निर्माण आयोजनाको शिलान्यास वि.सं. २०७६ वैशाख ७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको भए पनि लामो समयसम्म काम अगाडि बढ्न सकेको थिएन । कावासोती नगरपालिका–३ मा रहेको करिब १८४ बिघा क्षेत्रफलमा निर्माण भइरहेको नमूना सदरमुकामको काम विसं २०८१ पछि मात्रै औपचारिक रुपमा सुरु भएको हो । हाल यहाँ दुई वटा ठेक्का लगाएर नमूना सदरमुकाम निर्माणको पहिलो चरण अन्तर्गत विभिन्न १४ वटा भवन निर्माणको काम भइरहेको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी इन्जिनियर द्रोणमानदेव कटुवालकाअनुसार पहिलो ठेक्का विसं २०८१ असार २१ मा लगाइएको थियो । विसं २०८३ पुस २७ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी चौधरी कन्स्ट्रक्सन रौतहटले २७ करोड रुपैयाँमा सम्झौता गरेको थियो । सम्झौताअनुसार चौधरी कन्स्ट्रक्सनले जिल्ला प्रशासन कार्यालय र दुई वटा एकीकृत भवन निर्माणको काम गरिरहेको कटुवालको भनाइ छ ।
‘यो ठेक्काअन्तर्गत हालसम्म ४५ प्रतिशत वित्तीय तथा ५० प्रतिशत भौतिक प्रगति हासिल भएको छ’ सूचना अधिकारी कटुवालले भने, ‘सङ्घीय सरकार र प्रदेश सरकार अन्तर्गतका साना कार्यालयहरुका लागि एकीकृत भवन तयार पारिएको हो ।’ एकीकृत भवनमा हुलाक कार्यालय, आन्तरिक राजस्व कार्यालय, कोष तथा लेखा नियन्त्रकको कार्यालय, जिल्ला निर्वाचन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइ लगायतका कार्यालयहरु एकीकृत भवनमा सञ्चालन हुन सक्ने उनले बताए ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, जिल्ला समन्वय समिति, सशस्त्र प्रहरी बलसहितका कार्यालयका लागि छुट्टै भवन निर्माण हुने कटुवालले जानकारी दिए । ‘नमूना सदरमुकाममा निर्माण हुने प्रत्येक एकीकृत भवन ८०० वर्ग मिटर क्षेत्रफलमा फैलिनेछ’ उनले भने, ‘तीन तलाको हुने हरेक भवनमा अपाङ्गमैत्री संरचना हुनेछन् ।’ नमूना सदरमुकामको हरेक भवनमा लिफ्ट तथा ¥याम निर्माण हुने कटुवालको भनाइ छ ।
त्यस्तै नमूना सदरमुकाम निर्माणका लागि दोस्रो ठेक्काअन्तर्गत सिटी हलसहित विभिन्न ११ वटा भवन निर्माणको काम भइरहेको छ । समानान्तर–बुद्ध हिमाली जेभीले विसं २०८२ वैशाख २२ गते तीन अर्ब ५० करोड रुपैयाँमा सम्झौता गरी निर्माणको काम अगाडि बढाइरहेको छ । यस ठेक्काको म्याद विसं २०८२ कात्तिक २१ गतेसम्म रहेको भन्दै सूचना अधिकारी कटुवालले यस ठेक्कामा भवनसँगै केरुङ्गे खोला तटबन्ध, खानेपानीको पाइप विस्तार, बिजुली, सडक निर्माण तथा पर्खाल निर्माणको काम हुने जानकारी दिए ।
‘यस दोस्रो ठेक्काको वित्तीय प्रगति ४० प्रतिशत तथा भौतिक प्रगति ४२ प्रतिशत देखिएको छ’ कटुवालले भने, ‘नमूना सदरमुकामभित्र जम्मा आठ किलोमिटर सडक रहने भए पनि हाल चार किलोमिटर सडक मात्रै कालोपत्र हुँदैछ ।’ विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) अनुसार नमूना सदरमुकामको काम सम्पन्न हुँदा यहाँ २३ मिटरसम्म फराकिला सडकसँगै फुटपाथ, साइकल लेन, सडक बत्ती, पार्कसहितका संरचना निर्माण हुनेछन् । पहिलो चरणको काम सकिँदा यहाँ ५०० जना क्षमताको सिटी हल, जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, सशस्त्र प्रहरी बलको कार्यालय लगायतका सङ्घीय सरकार मातहतका कार्यालयहरु तयार हुने कटुवालले जानकारी दिए ।
‘नमूना सदरमुकाम निर्माणस्थलमा एक हजार ५७० वर्ग मिटर क्षेत्रफलमा अदालतको भवन निर्माण भइरहेको छ, यो भवन चार तलाको हुनेछ’ उनले भने, ‘जिल्ला प्रशासन कार्यालय ७५० वर्गमिटर क्षेत्रफलमा निर्माण भइरहेको छ, यहाँ निर्माण हुने अदालत बाहेकका सबै भवन तीन तले रहनेछन् ।’ नमूना सदरमुकाम तयार हुँदा यहाँ गण्डकी प्रदेशका ११ वटा जिल्लालाई प्रतिनिधित्व गर्नेगरी ११ वटा पार्कसमेत निर्माण हुनेगरी डिपीआर बनेको कटुवालले जानकारी दिए ।
जिल्लाका सम्पूर्ण सङ्घीय सरकारी कार्यालयलाई एउटै प्रशासनिक परिसरमा एकीकृत गर्नेगरी आधुनिक, सुरक्षित, वातावरणमैत्री र नागरिकमैत्री सदरमुकाम निर्माण गर्नका लागि गुरुयोजना निर्माण गरेर काम अगाडि बढाइएको हो । आगामी ५० वर्षसम्मको प्रशासनिक आवश्यकतालाई ध्यानमा राखेर डिपीआर तयार गरी नमूना सदरमुकाम निर्माण भइरहेको छ । गुरुयोजनामा नमूना सदरमुकाम परिसरलाई प्रशासनिक क्षेत्र, सुरक्षा क्षेत्र, न्यायिक क्षेत्र, सार्वजनिक सेवा क्षेत्र, खुला तथा हरियाली क्षेत्र, पार्किङ क्षेत्र, आन्तरिक सडक सञ्जाल सहित विभिन्न क्षेत्रमा विभाजन गरिएको छ ।
नमूना सदरमुकाम तयार हुँदा जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, सरकारी वकिल कार्यालय, जिल्ला समन्वय समिति, निर्वाचन कार्यालय, ट्राफिक तथा सुरक्षा इकाइ, बहुउद्देश्यीय सभाहल, अभिलेख तथा सेवा केन्द्र सहितका कार्यालय निर्माण हुनेछन् । मुख्य प्रवेशद्वारसँगै करिब आठ किलोमिटरको आन्तरिक रिङ रोड, एकतर्फी तथा दुईतर्फी सवारी व्यवस्थापन, भिआईपी प्रवेश, सेवाग्राही प्रवेश, आपत्कालीन सवारी मार्ग, पैदलमार्ग, अपाङ्गमैत्री ¥याम्प निर्माण हुनेछ । नमूना सदरमुकाम निर्माण गुरुयोजना अनुसार यहाँ सङ्घ र प्रदेश मातहतका सबै कार्यालय, प्रमुख जिल्ला अधिकारी, जिल्ला न्यायाधीश लगायतका कर्मचारीका लागि आवास गृह, अतिथि गृह, सभा हल, पुस्तकालय, खाजा घर, पार्किङ, बाटिका, फुटबल स्टेडियम, क्रिकेट स्टेडियमलगायतका संरचना निर्माण हुने कटुवालले जानकारी दिनुभयो ।
प्रतिवेदन अनुसार नमूना सदरमुकाममा कुल ४५ वटा सरकारी भवन बनाउने योजना छ । आयोजना स्थलमा कुल ६० प्रतिशत भू–भाग कङ्क्रिटविहीन राख्ने र २१.५९ प्रतिशत क्षेत्र खुला राख्ने योजना रहेको कटुवालले बताए । नमूना सदरमुकामको पार्किङ स्थलमा एकसाथ ९५० वटा कार र १०० वटा बस पार्किङ गरेर राख्न सकिने छ ।





प्रतिकृया दिनुहोस्