आत्महत्या भनेको समाज, परिवार र राज्य सबैका लागि गम्भीर सामाजिक समस्या बनेको छ । कुनै व्यक्तिले आफ्नो जीवन अन्त्य गर्ने निर्णयमा पुग्नु असह्य मानसिक, सामाजिक वा भावनात्मक पीडाबाट मुक्त हुने अन्तिम प्रयास हो । आत्महत्यालाई व्यक्तिगत कमजोरी, धार्मिक विश्वास वा नैतिक विचलनको विषयका रूपमा बुझेर समाधान खोज्न सकिँदैन । यो सार्वजनिक स्वास्थ्य, सामाजिक न्याय र राष्ट्रिय विकाससँग प्रत्यक्ष सम्बन्धित विषय हो । विश्व स्वास्थ्य संगठनका तथ्यांकले प्रत्येक वर्ष सात लाखभन्दा बढी मानिस आत्महत्याका कारण ज्यान गुमाउने देखाउँछ । त्यो भन्दा ठूलो संख्या मानसिक संकटसँग संघर्ष गरिरहेका मानिसको छ । नेपाल पनि यस समस्याबाट अछुतो छैन । तीव्र सहरीकरण, बेरोजगारी, वैदेशिक रोजगारीका कारण बढेको पारिवारिक दूरी, परीक्षा र प्रतिस्पर्धाको चर्को दबाब, सामाजिक सञ्जालले सिर्जना गरेको कृत्रिम तुलना तथा कमजोर सामाजिक समर्थन प्रणालीले मानसिक स्वास्थ्यको चुनौतीलाई झन् जटिल बनाइरहेको छ ।
अझै पनि धेरै परिवारमा मानसिक पीडाबारे खुलेर कुरा गर्न सकिँदैन । चिन्ता वा भावनात्मक समस्यालाई सामान्य कमजोरी ठान्ने प्रवृत्ति विद्यमान छ । जसकारण सहयोग खोज्नुपर्ने व्यक्ति झन् एक्लो बन्छ । समस्या लुकाउने संस्कृतिले उपचारको ढोका बन्द गरिदिन्छ । विश्वका विभिन्न देशका अनुभवले देखाएका छन् कि आत्महत्या रोकथाम असम्भव काम होइन । विभिन्न देशमा देखिएको अनुभवले समयमै गरिएको सही निर्णयले हजारौं जीवन जोगाउन सकिने स्पष्ट सन्देश दिन्छन् । नेपालमा पनि अब मानसिक स्वास्थ्यलाई विकासको केन्द्रीय एजेन्डाका रूपमा स्वीकार गर्ने बेला आएको छ । सडक, पुल, जलविद्युत् र भौतिक पूर्वाधार आवश्यक छन् तर मानसिक रूपमा निराश, असुरक्षित र थकित नागरिक भएको समाज केवल भौतिक संरचनाले समृद्ध बन्न सक्दैन । स्वस्थ अर्थतन्त्रको आधार स्वस्थ नागरिक नै हुन् । त्यसैले मानसिक स्वास्थ्यमा गरिएको लगानीलाई मानव पुँजीमा गरिएको दीर्घकालीन लगानीका रूपमा बुझ्नुपर्दछ ।
विद्यालय र विश्वविद्यालयहरूमा जीवन उपयोगी सीप, भावनात्मक साक्षरता, तनाव व्यवस्थापन, सहानुभूति र सहयोग माग्ने संस्कृतिलाई पाठ्यक्रमसँग जोड्न आवश्यक छ । विद्यार्थीलाई केवल प्रतिस्पर्धा गर्न होइन, असफलतालाई पनि जीवनको स्वभाविक हिस्सा मान्न सिकाउनुपर्छ । प्रत्येक विद्यालयमा मनोसामाजिक परामर्श सेवाको पहुँच विस्तार गर्नु अहिलेको आवश्यकता हो । कार्यस्थलमा पनि मानसिक स्वास्थ्यलाई प्राथमिकता दिनुपर्छ । अत्यधिक कार्यदबाब, असुरक्षित रोजगारी, अपमानजनक व्यवहार र दीर्घकालीन तनावले व्यक्तिको मानसिक अवस्थामाथि गम्भीर असर पार्न सक्छ । सम्मानजनक कार्यसंस्कृति, गोप्य मनोपरामर्श सेवा र कर्मचारी सहयोग कार्यक्रमले स्वस्थ कार्य वातावरण निर्माण गर्न सहयोग पु¥याउँछ । यससँगै सञ्चारमाध्यमको जिम्मेवारी पनि उत्तिकै महत्वपूर्ण छ । आत्महत्याका समाचार सनसनीपूर्ण ढंगले प्रस्तुत गर्नुको सट्टा संवेदनशील, जिम्मेवार र रोकथाममुखी ढंगले सम्प्रेषण गरिनुपर्छ । समाचारले आशा र सहयोगका सम्भावना देखाउनुपर्छ ।





प्रतिकृया दिनुहोस्