चितवन । चितवनको भरतपुरमा रहेको अङ्कुरम् एकेडेमीको आयोजनामा भोलि शनिबारदेखि विद्यालयमा नमुना संयुक्त राष्ट्र सङ्घीय (एमयुएन) इभेन्ट तेस्रो संस्करण हुने भएको छ । असोज ५ गतेसम्म सञ्चालन हुने कार्यक्रममा विद्यार्थीहरुले संयुक्त राष्ट्र सङ्घको महासभामा हुने कार्यक्रमको अभ्यास गर्ने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
एमयुएन इभेन्टका सल्लाहकार एवम् अङ्कुरम् एकेडेमीका प्रिन्सिपल सुमन पौडेलले नमुना राष्ट्र सङ्घीय कार्यक्रममा विद्यार्थीहरुले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्अन्तर्गत ‘उदीयमान रणनीतिक क्षेत्रहरूमा महत्वपूर्ण पूर्वाधारको सुरक्षाः अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामाथिका खतराहरूको सम्बोधन’, मानवअधिकार परिषद्अन्तर्गत ‘अफगानिस्तानमा विद्यमान प्रणालीगत हिंसा र मानव अधिकार उल्लङ्घनको सम्बोधन’, संयुक्त राष्ट्रसङ्घको पर्यावरण कार्यक्रमअन्तर्गत एलनिनो र ला निनोसँग सम्बन्धित चरम मौसमी घटनाहरूविरुद्ध विश्वव्यापी जलवायु लचिलोपनको सुदृढीकरण’, संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठनअन्तर्गत ‘उदीयमान प्रविधिहरूमार्फत द्वन्द्व र सङ्कटको अवस्थामा शिक्षाको अधिकारको संरक्षण’, विश्व स्वास्थ्य संगठनअन्तर्गत ‘चिकित्सा क्षेत्रका नवीन आविष्कारहरूमा असमान पहुँचका कारण सिर्जित विश्वव्यापी स्वास्थ्य असमानताको रोकथाम’ संयुक्त राष्ट्र सङ्घीय बालकोषअन्तर्गत ‘आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमत्ता)को युगमा अनलाइन शोषणविरुद्ध बालबालिकाको सुरक्षा संयन्त्रको सुदृढीकरण’ विषयमा अभ्यास गर्ने बताउनुभयो ।
छ वटै कमिटीका सभापति, उपसभापति र प्रतिनिधिहरूले विभिन्न स्रोतहरुबाट अध्ययन, अनुसन्धान र छलफल गरी निकालेको निष्कर्ष पारित गर्ने कार्यक्रम रहेको पौडेलको भनाइ छ । नमुना संयुक्त राष्ट्र सङ्घीय अभ्यास एक शैक्षिक कार्यक्रम भएको भन्दै पौडेलले यसबाट विद्यार्थी तथा युवाहरूलाई संयुक्त राष्ट्रसङ्घको कार्यशैली, कूटनीति तथा अन्तर्राष्ट्रिय सम्बन्धबारे विस्तृतरूपमा जानकारी लिन मद्दत पुग्ने पौडेलले बताउनुभयो ।
छ वटा कमिटीमध्ये प्रत्येक कमिटिमा कम्तिमा ३० देखि ३५ सदस्य रहने भन्दै नमुना संयुक्त राष्ट्र सङ्घीय कार्यक्रमका महासचिव प्रमोद थपलियाले कार्यक्रममा चितवन र नवलपुरका १२ वटा विद्यालयबाट करिब २०० विद्यार्थीको सहभागिता रहने जानकारी दिनुभयो । कार्यक्रममा सहभागी प्रतिनिधिहरुले फरक फरक देशको प्रतिनिधित्व गर्दै आफ्ना धारणा राख्ने थपलियाको भनाइ छ । नमुना संयुक्त राष्ट्र सङ्घीय कार्यक्रमको एजेन्डा र कमिटीबारे सहभागी विद्यार्थीहरुलाई इमेल गरिसकिएको भन्दै उहाँले ती विषयमा विद्यार्थीहरुले विभिन्न स्रोतबाट खोजी तथा अध्ययन गरेर तयारी गर्ने बताउनुभयो ।
कार्यक्रममा सहभागिताका लागि प्रति विद्यार्थी आवासीय रु आठ हजार तथा गैरआवासीय रु चार हजार शुल्क तोकिएको भए पनि विद्यालयको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भरतपुर–७ मा रहेका सामुदायिक विद्यालयहरु प्रमेबस्ती मावि र राष्ट्रिय माविका दुई–दुई जना विद्यार्थीको शुल्क विद्यालयले व्यहोर्ने जानकारी दिनुभयो । संयुक्त राष्ट्र सङ्घीय कार्यक्रमको राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्करणमा सहभागी भइसकेका विद्यार्थीहरु यस कार्यक्रमको सभापति र उपसभापति रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
यसप्रकारका कार्यक्रमबाट विद्यार्थीहरुको अनुसन्धान क्षमता बढ्ने, कूटनीति सिक्ने, बहस गर्ने क्षमताको विकास हुने तथा सञ्जाल विस्तारमा सहयोग पुग्ने कार्यक्रमका सल्लाहकार पौडेलले बताउनुभयो ।
कार्यक्रमको उद्घाटनसत्रमा प्रतिनिधिसभा सदस्य राजन गौतम प्रमुख अतिथि रहने जनाइएको छ । त्यस्तै कार्यक्रममा आदर्श गृह चितवनकी संस्थापक अध्यक्ष तथा नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष मीना खरेल, चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ प्रा.डा. अनिल आचार्य, डेजी स्कुलका प्रिन्सिपल प्रेम रिमाल, रिटायर्ड मेजर शैलजा श्रेष्ठ केसी, बेटर चितवनका संस्थापक अध्यक्ष सागर कार्की, पत्रकार विवेक पोख्रेललगायतका व्यक्तिहरु सहभागी हुने बताइएको छ ।





प्रतिकृया दिनुहोस्