नवलपुर । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण बेपत्ता भएका नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का व्यक्तिको परिवारलाई राहत सामग्री प्रदान गरिएको छ । जिल्लाको नवलपुर उद्योग वाणिज्य सङ्घ कावासोतीले मध्यविन्दु उद्योग वाणिज्य सङ्घ तथा स्थानीय पालिकासँगको समन्वयमा वेपत्ता व्यक्तिका घरमा गई उनीहरुलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको हो ।
नवलपुर उद्योग वाणिज्य सङ्घ कावासोतीको संयोजनमा बेपत्ता व्यक्तिका परिवारलाई प्रति परिवार १५० किलो चामल, चार किलो दाल, चार किलो नुन, दुई लिटर खाने तेल, पाँच किलो गहुँको आटा तथा लत्ताकपडा प्रदान गरिएको नवलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धिसागर पोखरेल सागरले जानकारी दिनुभयो । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवास्थित तेन्जिन शेर्पा हाइड्रोपावरमा कार्यरत नवलपुरको मध्यविन्दु नगरपालिकाका दुई वटा वडाका १२ जना नागरिक बेपत्ता भएका छन् । बेपत्ता भएकामध्ये दुई वटा घरबाट दुई दुई जना परेका अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।

बाढीका कारण मध्यविन्दु–१ सेतापानीका दुई घर तथा मध्यविन्दु–५ बाघखोरका आठ घर परिवारका गरी १२ जना बेपत्ता भएका थिए । बाढीमा बेपत्ता हुनेहरुमा हेमबहादुर चौधरी, जीवन विक, गंगाराम मुखिया, विशाल मुखिया, सीताराम महतो, युद्ध महतो, एकदेव महतो, नुमनारायण महतो, केशव महतो, तेजबहादुर थारू, हुसनबहादुर थापा र कालिराम महतो रहेका छन् ।
यसअघि नवलपुर उघोग वाणिज्य सङ्घले विभिन्न सङ्घ संस्थासँग सहकार्य गरी चार गाडी खाद्यान्न सामग्री रसुवा पु¥याएको भन्दै अध्यक्ष पोखरेलले रसुवा घटनामा परी सम्पर्कविहीन भएका जिल्लाको देवचुली–१ का बलिराम महतोको परिवारलाई समेत राहात हस्तान्तरण गरेको जानकारी दिनुभयो । कमाएर खुवाउने घरमुली नै रसुवाको प्राकृतिक विपद्मा बेपत्ता हुँदा पीडित परिवारहरुको चुल्होमा आगो निभ्न नदिन दुःखमा उद्योगी व्यवसायीहरु पनि साथमै छौँ भन्ने अनुभूति दिलाउन राहत वितरण गरिएको पोखरेलको भनाइ छ ।
शुक्रबार भएको राहात हस्तान्तरण कार्यक्रममा नवलपुर उघोग वाणिज्य सङ्घ, नवलपुरका अध्यक्ष बुद्धिसागर पोखरेल सागरसहित मध्यविन्दु उद्योग वाणिज्य सङ्घका अध्यक्ष किरणकुमार श्रेष्ठ, नवलपुर उघोग वाणिज्य सङ्घका पूर्व अध्यक्षहरु ओम पौडेल, डासुराज पोखरेल, मध्यविन्दु उद्योग वाणिज्य सङ्कका संस्थापक अध्यक्ष केदार पराजुली, नवलपुर उघोग वाणिज्य सङ्घका पदाधिकारी एवम् कार्य समिति सदस्यहरु तथा मध्यविन्दु नगरपालिका वडा न ५ का वडाध्यक्ष गणेश प्रसाद पाठकको उपस्थिति रहेको थियो ।





प्रतिकृया दिनुहोस्