नवलपुर । थुप्रै चर्चित गीतहरुमा संगीत भरिसक्नुभएका गैँडाकोटका संगीतकार विशाल ढकालले बालगीत ‘जुनको कचौरा…’ सार्वजनिक गर्नुभएको छ ।
संगीतकार ढकालले युट्युब च्यानल ‘बालगीत स्टुडियो एचडी’ मार्फत सन्तकवि गोविन्दराज विनोदीको शब्दमा रहेको बालगीत जुनको कचौरा सार्वजनिक गर्नुभएको हो । ढकालको संगीत तथा यश्वन्ती आचार्य र अरुणा रेग्मीको स्वरमा सजिएको बालगीतको सम्पादन भूमिलाल पौडेलले गर्नुभएको छ ।
संगीतकार ढकालले बालगीतहरु सार्वजनिक गर्नेगरी सञ्चालन गर्नुभएको यस युट्युब च्यानलमार्फत हरेक १० दिनमा नयाँ गीत सार्वजनिक गर्ने जानकारी दिनुभयो । पहिलो गीत जुनको कचौरा असोज ४ गते सार्वजनिक गरेको भन्दै ढकालले यस शृंखलामा २४ वटा गीतहरु समावेश हुने बताउनुभयो । १० वटा गीत सार्वजनिक गरिएपछि वृहत कार्यक्रम गरी युट्युब च्यानको औपचारिक उद्घाटन गर्ने उहाँले बताउनुभयो ।
नर्सरीदेखिका बालबालिकालाई लक्षित गरी रचना गरिएका गीतहरु च्यानलमार्फत सार्वजनिक गरिने उल्लेख गर्दै ढकालले गीतमार्फत ज्ञान, शिक्षा, संस्कार, संस्कृति एवम् समाजबारे जानकारी दिइने बताउनुभयो । यस च्यानलमार्फत सार्वजनिक गरिने सबै बाल गीतमा विशाल ढकालको एकल संगीत रहने ढकालले लोक सूचनालाई बताउनुभयो । उहाँकाअनुसार आइतबार सार्वजनिक गरिएको गीतका सम्पूर्ण दृश्यहरु कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गरेर तयार पारिएको छ ।
च्यानलमार्फत सार्वजनिक गरिने गीतबाट बालबालिकाहरुलाई शैक्षिक गतिविधि सिक्न र सिकाउन मद्दत पुग्ने ढकालको भनाइ छ । ‘बालगीत स्टुडियो एचडी’ युट्युब च्यानलमार्फत सार्वजनिक हुने गीतको शृंखलामा चर्चित गीतकारहरु प्रकाश सायमी, डा नवराज लम्साल, डा गीता त्रिपाठी, भूपिन खड्का, अमर न्यौपाने, शीतल कादाम्बिनी, एस पी कोइराला, रमण घिमिरे, डा कृष्णहरि बराल, नगेन्द्र थापा, बुँद राना, डा घनश्याम परिश्रमी, डा मनु मञ्जिल, सरला जोशी, निर्दोष जीवन, मनोज भण्डारी, गोपि सापकोटा, धर्म सापकोटा राजु शब्द तथा स्थानीयदेखि राष्ट्रिय कलाकारसम्मको आवाज रहने ढकालले बताउनुभयो ।
दुई दशकदेखि संगीतमा साधनारत संगीतकार ढकालको संगीतमा चर्चित राष्ट्रिय कलाकारहरुले गीत गाइसकेका छन् । ढकालले गैँडाकोटको नगर गान, बर रुँदा पिपललगायतका थुप्रै गीतहरुमा संगीत भरिसक्नुभएको छ ।





प्रतिकृया दिनुहोस्