चितवन । विद्युतीय गाडी (ईभी)मा हुने आगलागीको घटना अन्य गाडीहरुको तुलनामा थोरै हुने गरेको सरोकारवालाहरुले बताएका छन् । चितवन अटोमोबाइल डिलर्स एशोसिएसन (काडा)ले शनिबार नारायणघाटमा आयोजना गरेको कार्यक्रमका सहभागीहरुले समुदायमा हल्ला भएको जस्तो ईभीमा आगलागीको घटना धेरै नहुने गरेको बताएका हुन् ।
विद्युतीय सवारीसाधन सचेतना तथा जनचेतनामूलक कार्यक्रममा बोल्दै काडाका अध्यक्ष इन्द्रप्रसाद रेग्मीले समुदायमा विद्युतीय सवारीसाधनमा बढी आगलागी हुन्छ भनेर भ्रम छरिएको बताए । ‘विश्वभर गरिएको अध्ययनअनुसार सबैभन्दा बढी विद्युतीय सवारीसाधन सुरक्षित हुने गरेको भेटिएको छ’ उनले भने, ‘तर बजारमा ईभी गाडी धेरै दुर्घटनामा पर्छ, आगलगी हुन्छ भनेर फरक खालको भाष्य तयार पारिएको छ ।’ सडकमा ईभी धेरै कुद्ने भएकाले तुलनात्मक रुपमा ईभीको दुर्घटना बढी हुने गरेको भए पनि बाहिर हल्ला गरिएको जस्तो नभएको उनले बताए ।
‘अन्तर्राष्ट्रियस्तरमा भएको एकअध्ययनअनुसार एक लाख विद्युतीय गाडी उत्पादन हुँदा २५ वटामा मात्र आगलागीको घटना भएको छ’ रेग्मीले भने, ‘एक लाख वटा आईस गाडी पेट्रोलियम इन्जिन भएको गाडी उत्पादन हुँदा एक हजार ५०० र हाइब्रिड गाडीमा यो संख्या तीन हजार ५०० रहेको छ ।’ विद्युतीय सवारीसाधनको बजार बढ्दै गएको अवस्थामा दुर्घटना पनि बढ्नु सामान्य जस्तै भए पनि ईभी धेरै दुर्घटनामा पर्छ भन्नु गलत भएको रेग्मीको भनाइ छ । दुर्घटनाको पछाडि सवारीसाधनको मात्र भूमिका नहुने भन्दै रेग्मीले चालकको लापरबाही प्रमुख स्थानमा हुने दाबी गरे ।
कार्यक्रममा विद्युतीय सवारीसाधनका विज्ञ प्राविधिक रवीन पौडेलले ईभीमा सुरक्षाका फिचरहरु धेरै हुने उल्लेख गर्दै गाडी आफै दुर्घटनामा नपर्ने दाबी गरे । ‘ईभीमा सेफ्टी टुल्सहरु हुन्छन्, अगाडिबाट नजिकै गाडी आएमा ईभीहरु अफै रोकिने गरी तयार पारिएका छन्’ पौडेलले भने, ‘तर अर्को गाडीले आएर ठोक्किएपछि हुने दुर्घटनालाई पनि ईभी दुर्घटनामा प¥यो भन्दै हल्ला फैलिने गरेको छ ।’ ईभी बढी दुर्घटनामा प¥यो भनेर हल्ला फैलिनुको पछाडि सामाजिक सञ्जालको एल्गोरिदम पनि प्रमुख भएको उनले बताए ।
विद्युतीय सवारीसाधनमा गियर नहुने उल्लेख गर्दै पौडेलले एक्सिलेटर जतिधेरै दबायो गाडी उती धेरै कुद्ने बताए । ‘कहिलेकाहीँ चालकले ब्रेक लगाएँ भनेर एक्सिलेटर दबाउँदा पनि दुर्घटना हुने गरेको छ’ उनले भने, ‘गाडी चलाउँदा चलाउँदै चालक निदाउँदा गाडी अनियन्त्रित भएर हुने दुर्घटनामा ईभीलाई दोष दिने गरिएको छ ।’ गाडी दुर्घटनामा परेको बेला गाडीमा हाइ भोल्टेज विद्युत् प्रवाह हुनसक्ने जोखिम भए पनि दुर्घटनामा पर्ने वित्तिकै विद्युत् सञ्चार रोकिने गरेको उनको भनाइ छ ।
गाडी चार्ज गर्दा, चलाउँदा एकपटक ब्याट्रीको अवस्था हेरेर गाडी चलाउने हो भने सम्भावित दुर्घटनाबाट जोगिन सकिने पौडेलले बताए । विद्युतीय सवारीसाधनहरु पेट्रोलियम इन्जिन भएको सवारीसाधनभन्दा धेरै गुणा सुरक्षित हुने गरेको उनको भनाइ छ ।
कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले दुर्घटना अपवाद भएको भन्दै चालकको बानी, चार्जिङको अवस्था र सवारीसाधनको अवस्थाले दुर्घटना हुने गरेको बताए । संसार विद्युतीय गाडीलाई सुरक्षित र धेरै दृष्टिकोणबाट किफायती भनिरहँदा नेपालमा गतल प्रचार भइरहेको अर्यालले बताए । एउटा खराब हुँदैमा सबै खराब नहुने भन्दै प्रजिअ अर्यालले ईभी आफैमा खराब नभएकाले खराबीको कारण खोज्नुपर्ने सुझाव दिए ।
विद्युतीय गाडीसम्बन्धि सचेतना कार्यक्रममा चितवन उद्योग वाणिज्य सङ्घका अध्यक्ष चिरञ्जिजी सुवेदीले समुदायलाई सही सूचना दिनु सञ्चारमाध्यमको भूमिका भएको बताउँदै दुर्घटनाबारे सत्यतथ्य समाचार दिनुपर्ने बताए । प्रहरीले दुर्घटनाको कारण जानकारी दिनुअगाडि नै सञ्चारमाध्यममा फरक खालको सूचना ‘भाइरल’ हुने गरेको भन्दै सत्यतथ्य बुझेर नागरिकलाई सही सूचना दिन सुवेदीले आग्रह गरे ।





प्रतिकृया दिनुहोस्