चितवन । मानव स्वास्थ्यका लागि अत्यावश्यक खाद्य पदार्थ अण्डा पूर्णरुपमा सुरक्षित भएको सरोकारवालाहरुले बताएका छन् । विश्व अण्डा दिवसको अवसरमा चितवनको भरतपुरमा आयोजित कार्यक्रममा पोषणविद् तथा चिकित्सकहरुले अण्डा पूर्णरुपमा सुरक्षित खाद्य पदार्थ भएको बताएका हुन् ।
कार्यक्रममा वरिष्ठ पोषणविद् डा दिनेश गौतमले अण्डामा कुनै पनि प्रकारको हर्मोन तथा एन्टिवायोटिक प्रयोग नहुने बताए । ‘नेपालमा अण्डा उत्पादनमा प्रयोग हुने प्यारेन्टस्मा हर्मोन प्रयोग हुँदैन’ उनले भने, ‘त्यस्तै कुखुरालाई खुवाउने दानामा समेत एन्टिवायोटिक प्रयोग नहुने हुँदा अण्डा एवम् पोल्ट्रीजन्य उत्पादन उपभोगका लागि पूर्णरुपमा सुरक्षित छ ।’ कुखुरापालनमा एन्टिवायोटिक तथा हर्मोनको आवश्यक नपर्ने उनको भनाइ छ ।
कार्यक्रममा अण्डा र पोषणबारे कार्यपत्र प्रस्तुत गर्दै डा गौतमले नेपालमा वार्षिक प्रतिव्यक्ति अण्डाको उपभोग ६९ गोटामात्रै भएको तथ्याङ्क प्रस्तुत गरे । ‘विश्वमा वार्षिक औषतमा प्रतिव्यक्ति १८५ वटा अण्डा उपभोग हुने गरेको छ, जुन तथ्याङ्कअनुसार नेपालमा वार्षिक प्रतिव्यक्ति ११६ गोटा अण्डा कम खपत हुँदै आएको छ’ उनले भने, ‘अण्डा उपभोग गर्ने वातावरण बनाउन र सरकार र व्यवसायी दुवैको उत्तिकै भूमिका रहेको छ ।’ पोषणविद् गौतमले अन्य देशको तुलनामा नेपालमा अण्डा को खपत निकै कम रहेको बताए ।
गौतमकाअनुसार एसियामा १८७, दक्षिण एसियामा ८७ वटा अण्डा खपत हुने गरेको छ । त्यस्तै, भारतमा ११२, श्रीलङ्कामा १३२, बङ्गलादेशमा १३७, पाकिस्तानमा ४८ तथा सबैभन्दा कम अफ्रिकामा ४० गोटा अण्डा मात्रै खपत हुने गरेको उनले बताए । विश्वमा सबैभन्दा बढी अण्डा’ उत्पादन चीनमा हुन्छ भने दोस्रोमा भारत रहेको छ ।
कार्यक्रममा नेपाल लेयर्स कुखुरापालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले सरकारले सहयोग र साथ दिएमा आफूहरुले अण्डाको उत्पादन बढाउनसक्ने बताए । उनले अण्डाले लागत अनुसारको मूल्य पाउन थालेपछि किसानहरू पनि आर्कषित हुन थालेको भन्दै केही नाफा आएसँगै कृषकको संख्या पनि बढ्ने बताए । ‘भारतबाट भन्सार छलेर आउने अण्डा गत वैशाखदेखि रोकिएपछि किसानहरूले राहत महसुस गरेका छन्’ उनले भने, ‘विद्यार्थीहरुको दिवा खाजामा सबै दिन अण्डा खुवाउने व्यवस्था सरकारी तवरबाट भएमा अङ्कित मूल्यमा प्रति अण्डा ५ रुपैयाँ किसानको तर्फबाट छुट दिन हामी तयार छौँ ।’
उनका अनुसार हाल नेपालमा दैनिक ३८ लाख हाराहारी अण्डा उत्पादन हुने गरेको छ । देशभरका लेयर्स कुखुरा पाल्न किसानहरूलाई संगठित गरेर कोभिड–१९को महामारी पूर्वको अवस्था जस्तो दैनिक ६५ देखि ७० लाख अण्डा उत्पादन गर्ने नीति अनुरूप काम भइरहेको उनले बताए । चार वर्ष अघिसम्म १२० को हाराहारीमा रहेका लेयर्स कुखुरापालक ठूला किसानको संख्या अहिले बढेर १८० पुगेको भन्दै पोख्रेलले अण्डाको बजारमा मूल्य प्रति क्यारेट (३० वटा) करिब ६०० रुपैयाँ पुगेको बताए ।
कार्यक्रममा कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डा.रामानन्द तिवारीले अण्डाको उत्पादन मात्रै बढाएर नपुग्ने जनाउँदै खपत बढाउनुपर्नेमा जोड दिए । ‘सरकारी तवरबाट समेत अण्डाको प्रयोग बढाउन प्रचारात्मक काम गरिएको छ’ उनले भने, ‘कृषकहरुलाई प्रोत्साहन गर्ने गरी कृषि ऐन जारी गर्न लागिएको छ । यसले किसानका सन्तानलाई छात्रवृत्ति, कृषि ढुवानीका साधनलाई छुट्टै नम्बर, कृषक र परिवारलाई यातायातमा छुट जस्तो विषय समावेश गरिएको छ र कृषि पेशालाई गर्व गर्न योग्य बनाइने छ ।’
अन्तरक्रियाको क्रममा भएको प्यानल डिस्कसनमा चितवनका वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीले अण्डा प्रोटिनको स्रोत सँगै शरीरको वृद्धि, विकास र समग्र स्वास्थ्यका लागि आवश्यक विभिन्न पोषक तत्वको महत्वपूर्ण स्रोत भएको बताए । उनले अण्डा शरीरलाई आवश्यक पर्ने उच्च गुणस्तरको प्रोटिनको सहज तथा तुलनात्मक रूपमा सुलभ स्रोत भएकाले यसको महत्वबारे सही जानकारी आम नागरिकसम्म पु¥याउन आवश्यक रहेको बताए । ‘एउटा अण्डामा करिब ६ ग्राम प्रोटिनसँगै भिटामिन ए, बी, डी, ई, फोलेट, फस्फोरस, सेलेनियम, जिंक लगायतका विभिन्न पोषक तत्व पाइन्छन्’ उनले भने ।
एउटा अण्डाको पहेँलो भाग समेत खान हुने जनाउँदै उनले दुई वर्ष पुगेपछि बच्चालाई अण्डा खुवाउन मिल्ने बताए । ‘छ महिना पुगेपछि बच्चालाई ठोस खानेकुरा दिइन्छ । तर, त्यही बेला अण्डा खुवाउँदा बच्चाको आन्द्रामा असर पर्न सक्छ’ उनले भने, ‘दुई वर्ष पुगेपछि बच्चालाई अण्डाको एलर्जी नभएमा पहेँलो र पाँच वर्षको भएपछि सिङ्गो अण्डा खुवाउन सकिन्छ ।’ मोटोपनमा पनि बच्चालाई अण्डा खुवाउन सकिने भन्दै डा अधिकारीले आँखा र मस्तिष्कको विकासका लागि अण्डा आवश्यक भएको बताए ।
अण्डा राख्ने तरिका र सेवन गर्ने तरिका नमिलेको अवस्थामा अण्डा चाँडै बिग्रने र मानव स्वास्थ्यमा असर पर्नसक्ने भन्दै उनले सचेत हुनुपर्नेमा जोड दिए । ‘अण्डालाई फ्रिजभित्र राखेपछि बाहिर झिक्दै फेरि फ्रिजमा राख्दै गर्नु हुँदैन’ उनले भने, ‘अण्डा उमालेर खाँदा पाँच मिनेट उमाल्ने, पाँच मिनेर सामान्य तापक्रमको पानीमा राख्ने र पाँच मिनेट चिसो पानीमा राख्ने गरेर खाँदा लाभदायक हुन्छ ।’ अण्डालाई उमालेर खाँदा पूर्ण सुरक्षित र फाइदा हुनेमा अधिकारीले जोड दिए ।





प्रतिकृया दिनुहोस्